१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १० शनिबार
  • Monday, 30 June, 2025
२o७७ माघ १० शनिबार o८:२१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नदीका आधारमा अपरेसनल कमान्ड बनाउने जंगी अड्डाको प्रस्ताव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १० शनिबार o८:२१:oo

कोसी, गण्डकी र कर्णाली नदीका आधारमा पूर्वी, मध्य र पश्चिम कमान्ड बनाइने, काठमाडौं उपत्यका हेर्ने बेग्लै अपरेसनल कमान्ड

जंगी अड्डाले आठवटा पृतनाको समन्वयका लागि ‘थ्री प्लस वान’ अपरेसनल कमान्ड संरचनाको प्रस्ताव तयार गरेको छ । शुक्रबार नगरकोटस्थित हायर कमान्डमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक अधिकारीहरूलाई यसबारे जानकारी दिएका छन् । 

राष्ट्रिय सुरक्षा नीतिअनुसार, आन्तरिक र बाह्य सुरक्षा चुनौती विश्लेषण गर्दै सेनाले ‘थ्री प्लस वान’ अपरेसनल कमान्डको अवधारणा अघि सारेको हो । कोसी, गण्डकी र कर्णाली नदीका आधारमा सेनाले तयार गरेको रणनीतिक नक्साका आधारमा कमान्डस्तरीय संरचना बन्न लागेको हो । यसका लागि जंगी अड्डाका कतिपय अधिकारसमेत कमान्डस्तरीय संरचनामा जाने गरी प्रस्ताव तयार भएको जंगी अड्डा स्रोतले जनाएको छ । नयाँ अवधारणाअनुसार, अब पूर्वी, मध्य र पश्चिम कमान्ड तथा काठमाडौं उपत्यकाका लागि बेग्लै कमान्डको संरचना प्रस्ताव गरिएको छ । 

जंगी अड्डाले तयार गरेको प्रस्ताव रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी रहेको जनाएको छ । प्रधानसेनापति थापाले ‘थ्री प्लस वान’ आधार संगठनको पुर्नसंरचना गर्नुपर्नेमा जोड दिएको सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए । ‘प्रधानसेनापतिज्यूले नेपाली सेनाले अघि सारेको थ्री प्लस वान अपरेसनल कमान्ड अवधारणाको आवश्यकता, उपादेयता र नेपालको सन्दर्भका यसको महत्वबारे प्रशिक्षार्थीलाई जानकारी दिनुभएको हो । यसबारे थप निर्णय भने हुन बाँकी छ,’ प्रवक्ता पौडेलले भने । 

०६२/६३ को परिवर्तनपछि जंगी अड्डाअन्तर्गतका विभाग, महानिर्देशनालय र निर्देशनालयहरूको ढाँचा तथा संरचनामा परिवर्तन गरिएको थियो । पृतनाको संख्या ६ बाट थपेर आठ पुगेको थियो । अहिले पूर्वी, मध्यपूर्वी, मध्य–पश्चिम, उत्तर–पश्चिम, मध्यपश्चिम, सुदूरपश्चिम र उपत्यका गरी आठवटा पृतना छन् । नदीका आधारमा बनाएको प्रस्तावित संरचनाअनुसार पूर्वी र मध्यपूर्व पृतनालाई पूर्वी कमान्डअन्तर्गत राखिनेछ । त्यस्तै, मध्य र पश्चिम पृतनालाई मध्य कमान्डअन्तर्गत राखिनेछ भने पश्चिम, उत्तर–पश्चिम, मध्य–पश्चिम तथा सुदूरपश्चिम पृतनालाई पश्चिम कमान्डअन्तर्गत राखिनेछ । 

सेनाको विद्यमान संख्या र सरकारको व्ययभार नथपिने गरी सेनाले कमान्ड संरचनाको अभ्यासमा जोड दिएको जनाएको छ । हाल सेनाको संख्या करिब ९८ हजार छ । अपरेसनल कमान्डका आधारमा आन्तरिक दरबन्दी मिलान गर्ने सेनाको योजना छ । 

सेनाको २–४ कात्तिकमा सम्पन्न पृतनापति समन्वय बैठकमा पनि पुनर्संरचनाबारे विस्तृत छलफल भएको एक सैनिक अधिकारीले बताए । त्यसपछि जंगी अड्डाको युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयले यसबारे विस्तृत अध्ययन गरेको हो । अपरेसनल कमान्डका आधारमा संगठनको आधुनिकीकरण गर्नुपर्ने आवश्यकताका विषयमा रक्षा मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री केपी ओलीलाई सेनाले ब्रिफिङ गरिसकेको छ । प्रधानमन्त्री ओलीको निर्देशनका आधारमा जंगी अड्डाले अपरेसनल कमान्डको प्रस्ताव तयार गरेको जनाएको छ । 

प्रजातन्त्र आएपछि २००७ मा संख्या घटाएर सेनाको पुनर्संरचना गरिएको थियो । त्यसयता सेनाको संख्या क्रमशः बढ्दै आएको छ । ०४८ मा सेनामा ४५ हजार चार सय ३९ दरबन्दी थियो । तत्कालीन प्रधानसेनापति धर्मपालवरसिंह थापाले ५० हजार पुर्‍याउने योजना सरकारले कार्यान्वयन गरेको थिएन । त्यसको पाँच वर्षपछि ०५३ मा सेनाको कुल दरबन्दी ४६ हजार पाँच सय ५९ पुगेको थियो भने ०५५ मा ४७ हजार पाँच सय ५९ थियो । 

त्यसपछि सेनाको संख्या निरन्तर बढेसँगै पुनर्संरचना पनि हुँदै आएको छ । ०५८ मा सेनाको दरबन्दी ५० हजार आठ सय २३ रहेकोमा ०६२ मा ८५ हजार आठ सय ७९ पुगेको थियो । ०६३ मा विस्तृत शान्ति सम्झौता भएको पाँच वर्षपछि करिब १४ सय माओवादीका पूर्वलडाकुको समायोजन भएसँगै सेनाको संख्या करिब ९८ हजार पुगेको छ । 

बाहिनीपतिलाई काठमाडौं डाकियो
सेनाले १६ माघमा देशभरिका बाहिनीपतिलाई काठमाडौं डाकेको छ । बाहिनीपति भएर जाने तथा कार्यरत सहायकरथीहरूलाई तालिमका लागि बोलाइएको जनाएको छ । उनीहरूको तालिम एक सातासम्म उपत्यका पृतना हेडक्वार्टर नारायणहिटीमा सञ्चालन हुनेछ । सैनिक प्रवक्ता पौडेलले बाहिनीपतिहरूलाई अभिमुखीकरण तालिम दिन लागिएको बताए । 

सुरक्षा चुनौतीबारे अनुगमन र तयारी गर्नू : प्रधानसेनापति

प्रधान सेनापति थापाले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न सेना सदैव तयार रहनुपर्ने बताएका छन् । शुक्रबार हायर कमान्ड नगरकोटले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान परिस्थितिबाट विकसित हुन सक्ने सुरक्षा चुनौतीबारे सूक्ष्म अनुगमन र मूल्यांकन गर्दै संविधानप्रदत्त जिम्मेवारी वहन गर्नका लागि आवश्यक समन्वय र तयारी गर्न निर्देशन दिएका छन् । 

हालै जारी भएको राष्ट्रिय सुरक्षा नीति तथा यसबाट विकसित हुने राष्ट्रिय प्रतिरक्षा नीति र राष्ट्रिय सैनिक रणनीति नेपाली सेनाका लागि महत्वपूर्ण मार्गदर्शनका रूपमा स्थापित हुने उनको भनाइ थियो । उनले सेनालाई पद्धति र प्रणालीमा आधारित संस्थाका रूपमा विकसित गर्दै लगिने जनाएका छन् ।