१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ ९ शुक्रबार १८:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भीम रावलको व्यंग्य– तस्करलाई वनमन्त्री बनाउँदा रूखहरू डराएका छन्

Read Time : > 1 मिनेट
२०७७ माघ ९ शुक्रबार १८:२३:००

नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले पार्टी फुटाउन प्रधानमन्त्री केपी ओलीले सुदूरपश्चिममा मन्त्री पद बाँडेको आरोप लगाएका छन् । कैलाली क्षेत्र नम्बर ५ का कार्यकर्ता भेलालाई धनगढीमा सम्बोधन गर्दै रावलले सुदूरपश्चिमलाई माया गरेर नभई पार्टी फुटाउन सुदूरपश्चिमबाट चार–चारजनालाई मन्त्री बनाएको बताए । ‘जुन वेला डडेल्धुरा र टीकापुरका दुई सिटबाहेक सारा जितेर पठायौँ, त्यसवेला उहाँलाई सुदूरपश्चिमको सम्झना भएन,’ प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्जसमेत रहेका रावलले भने, ‘अहिले पार्टी फुटाउन मन्त्री पदलाई दुरुपयोग गरेर हतियार बनाइएको हो । मन्त्री दिने भए त सुरुमै दिनुपथ्र्यो ।’

सुदूरपश्चिमका १६ मध्ये १४ वटा निर्वाचन क्षेत्रबाट जितेर पठाउँदा पनि निर्वाचनपछि सरकार गठन गर्दा सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै रावलले त्यसवेला असन्तुष्टि जनाएका थिए । प्रतिनिधिसभा विघटनपछि पुनर्गठन गरिएको मन्त्रिमण्डलमा भने सुदूरपश्चिमबाट तीनजना मन्त्री परेका छन् । 

प्रतिनिधिसभा विघटनलगत्तै प्रधानमन्त्री ओलीले सुदूरपश्चिमबाट वन तथा वातावरणमन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई नियुक्त गरेका थिए । ओली समूहमा लागेका लेखराज भट्ट यसअघि नै मन्त्री थिए । 

नेता रावलले प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा कुनै पनि ठूला योजना नल्याउनुले पनि सुदूरपश्चिम प्रदेशप्रति उनको दृष्टिकोण प्रस्ट हुने धारणा राखे । 

रावलले वनमन्त्री आले काठतस्कर भएको आरोप पनि लगाए । तस्कर नै मन्त्री भएपछि रूखहरू डराएका भन्दै रावलले व्यंग्य गरे । ‘अहिले शुक्लाफाँटादेखि लालझाडीसम्मका सबै रूख डरले थर्कमान छन् । किनभने वनतस्कर नै वनमन्त्री छन्,’ उनले भने । 

काठतस्करको मुद्दा लागेर धरौटीमा छुटेकालाई वनमन्त्री बनाउनु लाजमर्दो भएको उनको भनाइ थियो । ‘केपी ओलीले यहाँ भाषण गर्नुभो– मैले वनमन्त्री बनाएपछि तस्करहरू डरले थुरथुर भएका छन् भनेर,’ रावलले व्यंग्य गर्दै भने, ‘तस्करहरू होइन, वनस्पति, रूख र जनावरहरू थुरथुर छन् ।’ 

ओलीले विधि, विधान, पद्धति नमान्दा नेकपा फुटेको रावलले बताए । बहुमत केन्द्रीय सदस्य आफ्नो समूहमा रहेकाले पार्टीको आधिकारिकता र सूर्य चिह्न आफूहरूले नै पाउने उनले दाबी गरे ।