यस बुटवल पावर कम्पनी लिमिटेडको २८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा सम्पन्न भएको साधारणसभाले १५ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा भएको सभामा नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर नगद लाभांश यथाशक्य छिटो वितरण गर्ने कम्पनीले जनाएको छ । बोनस सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड १३ लाख ६० हजार ५ सय रुपैयाँ कायम हुने जनाइएको छ ।
कम्पनीले आव ०७६/७७ मा १२ मेगावाटको झिमरुक विद्युत्गृह र ९.४ मेगावाटको आँधी खोला विद्युत्गृह सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले स्याङ्जा, पाल्पा, प्युठान र अर्घाखाँची जिल्लाका करिब ५९ हजार उपभोक्तालाई नियमित रूपमा विद्युत् वितरण गर्दै आएको जनाएको छ ।
कम्पनीले हाल व्यापारिक रूपमा सञ्चालनमा रहेका पाँच कम्पनी, नाफा वितरण नगर्ने उद्देश्य रहेको एक कम्पनी र आयोजनाहरू विकास निर्माणका लागि दर्ता गरिएका, तर आयोजना व्यापारिक रूपमा सञ्चालनमा नआइसकेका सात कम्पनीमा लगानी रहेको जनाएको छ ।