मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ ३ शनिबार ०९:२५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

निलम्बन र कोरोना महामारी  बिर्सेर लय समात्ने प्रयासमा क्यान

Read Time : > 2 मिनेट
२०७७ माघ ३ शनिबार ०९:२५:००

शुक्रबारबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगिता सुरु भएकोे छ । पाँच वर्षअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिकल्पना गरेको यो प्रतियोगिता चौथो संस्करणमा पुग्दा घरेलु क्रिकेटको आधिकारिक निकाय क्यानले भने पहिलोपटक आयोजना गरेको हो । त्यसो त क्यानले पिएम कपअन्तर्गत महिलातर्फको प्रतियोगिता अघिल्लो साता नै दाङको लमहीमा सम्पन्न गरिसकेको छ । 

चार वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बनमा परेको क्यानले लामो समय आफ्नो गतिविधि सञ्चालन गर्न पाएको थिएन । त्यसैले पिएम कप सुरु हुँदा सुरुवाती तीन संस्करण क्यानले आयोजना गर्न पाएन । पहिलो संस्करण काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) तथा दोस्रो र तेस्रो संस्करण नेपालयले आयोजना गरेको थियो । क्यानले यो अवधिमा प्रतियोगिता आयोजना मात्रै होइन, आइसिसीको सदस्यको हैसियतले कुनै पनि गतिविधि गर्न पाएन । 

तत्कालीन नेतृत्वले स्वतन्त्र निर्वाचन गर्न नसकेको तथा सरकारी हस्तक्षेप भएको दुई कारण देखाउँदै आइसिसीले क्यानमाथि निलम्बनको निर्णय गरेको थियो । आफ्नो निर्देशन र सहभागितामा विधान संशोधनदेखि नयाँ निर्वाचनमार्फत गत वर्ष नयाँ कार्यसमिति आएपछि आइसिसीले क्यानमाथिको निलम्बन फुकुवा गरेको छ । त्यससँगै क्यानको गतिविधि पनि बढेको हो । 

गत वर्ष कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएपछि क्यानले आफ्नो गतिविधि अघि बढाउन सकेन । भाइरस प्रभाव कम भएसँगै क्यानले आफ्नो गतिविधि अघि बढाएको हो । यो अवधिमा नीतिगत निर्णय र प्रशासनिक काममै व्यस्त रहेको क्यान अहिले भने प्रतियोगिता आयोजना गर्न व्यस्त देखिएको छ । गत फेब्रुअरीमा आइसिसी क्रिकेट विश्वकप लिग दुई शृंखलाअन्तर्गत ओमान र अमेरिका सहभागी भएको नेपालको पहिलो शृंखला आयोजना गरेको क्यानले निलम्बन फुकुवा भएपछि घरेलु प्रतियोगिता आयोजना गरेको यो पहिलो अवसर हो । 

क्यान आफ्नो पूर्ण हैसियतमा फर्कनु नेपाली क्रिकेटका लागि खुसीको खबर हो । घरेलु क्रिकेटको प्रमुख निकाय क्यान निलम्बनमा रहँदा नेपाली क्रिकेटको विकासको गति रोकिएको थियो । यो अवधिमा निजी क्षेत्रबाट आयोजना भएका केही सीमितभन्दा बाहेकको प्रतियोगिता भएनन् । भौतिक पूर्वाधारको पक्षमा त निकै थोरै काम भए । अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि समेत आइसिसीकै निर्णय कुर्नुपर्ने अवस्था आएको थियो । 

यो अवधिमा क्यानमा नयाँ कर्मचारी पनि नियुक्त भइसकेका छन् । क्यानले जनरल म्यानेजर, क्रिकेट म्यानेजर र चिफ फाइनान्स अफिसर नियुक्त गरेको छ । यसपटक प्रतियोगिता आयोजना गर्न क्यान आफ्नो कर्मचारीमै निर्भर देखिएको छ । यो पनि फरक दृश्य हो । यसअघि संघका पदाधिकारी नै मैदानमा खटिएका देखिन्थे । यसपटक त्यो जिम्मेवारी बढी हदसम्म कर्मचारीले लिएका छन् । 

घरेलु आधिकारिक एक दिवशीयमा विनोदको पहिलो शतक

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्‍यो । आर्मीको यो जितमा कप्तान विनोद भण्डारीले अविजित एक सय ११ रनको शतकीय योगदान दिए । ५० ओभरको आधिकारिक घरेलु प्रतियोगितामा उनको यो पहिलो शतक हो । ५० ओभरको राष्ट्रियस्तरको प्रतियोगितामा समग्रमा भने उनको यो दोस्रो शतक हो । उनले यसअघि ५० ओभरकै एमएम (मनमोहन मेमोरियल) क्रिकेट प्रतियोगितामा पनि शतक प्रहार गरेका थिए । 

उनले पहिलो संस्करणको एमएमकपको कर्णाली प्रदेशविरुद्ध ६५ बलमै एक सय तीन रन प्रहार गरेका थिए । यद्यपि, यसलाई क्यानको आधिकारिक प्रतियोगिता मानिँदैन । यसपटक उनले ७६ बल खेले । उनकै शतकीय योगदानमा त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभर पूरै खेल्दै ६ विकेटको क्षतिमा दुई सय ८७ रनको योगफल तय गरेको थियो । आर्मीका लागि प्रारम्भिक ब्याट्सम्यान राजु रिजालले ४५, लोकेस बमले ४२ र राजेश पुलामीले ३८ रनको योगदान दिए । 

राजुले अर्का प्रारम्भिक खेलाडी हरिकृष्ण झा (१४)सँग ६३ रनको साझेदारी गरेका थिए । भीम सार्की १५ र रोहित पौडेल १० रनमा आउट भए । जवाफी ब्याटिङमा आएको गण्डकीले बलियो टोली आर्मीविरुद्ध प्रशंसनीय प्रदर्शन गर्‍यो । यद्यपि टोलीले जित भने भेट्टाउन सकेन । गण्डकी ४८ ओभरमा एक सय ८९ रनमै रोकिएको थियो । गण्डकीका लागि समीर गडेँलले ५० रनको अर्धशतकीय योगदान दिए । 

कप्तान बिपिन खत्री ३७ रनमा अविजित रहँदा प्रारम्भिक खेलाडी अर्जुन कुमालले ३६ र दीपक डुम्रेले २६ रनको योगदान दिए । अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन् । गण्डकीलाई सस्तो योगफलमा रोक्न आर्मीका राजेशले सशक्त बलिङ प्रदर्शन गरे । उनी एक्लैले पाँच विकेट लिए । यस्तै, भीम सार्कीले तीन विकेट लिए ।