मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
देवघाटधामको वेणी सङ्गममा माघे सङ्क्रान्तिका दिन बिहीबार स्नान गर्दै तीर्थालु । तस्बिर : टेकराज पोखरेल, रासस
दमौली रासस
२०७७ माघ २ शुक्रबार ०६:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माघे सङ्क्रान्तिको अवसरमा देवघाटमा तीन लाख भक्तजनले स्नान गरे    

Read Time : > 1 मिनेट
दमौली रासस
२०७७ माघ २ शुक्रबार ०६:३६:००

माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको संगम वेणीमा स्नान गरेका छन् । स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए ।  

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले यस वर्ष तीन लाखभन्दा बढी भक्तजनले संगममा स्नान गरेको जानकारी दिए । कोभिडको जोखिमका कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । यद्यपि भक्तजनहरू स्वतस्फुर्त देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताए ।

देवघाट क्षेत्र विकास समितिले औपचारिक रूपमा मेलाको आयोजना नगरे पनि व्यवस्थित रूपमा स्नान गर्ने व्यवस्था भने मिलाइएको थियो । उनका अनुसार विभिन्न उपसमितिहरू गठन गरी मेलालाई व्यवस्थित बनाइएको थियो ।    

त्रिशूली नदीमा २५ वटा ठूला डुंगाको व्यवस्था

तनहुँको देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी र कालिगण्डकी नदीको संगम वेणीमा बुधबार बिहान बाँसको लिंलाे गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । नदीमा स्नान गर्न र मेला भर्न आउनेहरूलाई वारपार गर्न त्रिशूली नदीमा २५ वटा ठूला डुंगाको व्यवस्था मिलाइएको थियो ।    

नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो । सशस्त्र प्रहरी र बोटेहरूले डुंगामार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरूको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालीन उद्धारको तयारी गरेका थिए ।    

देवघाटधामको वेणी संगममा स्नान गर्न जानका लागि जलयात्रा गर्दै तीर्थालु । नवलपरासी, चितवन र तनहुँको सिमानामा पर्ने देवघाटधाममा माघे सङ्क्रान्ति मेला भर्न स्वदेश तथा विदेशदेखि भक्तजन आउने गर्दछन् । तस्बिर : टेकराज पोखरेल, रासस   

 हजारौँ सवारीसाधनको ओहोरदोहोर हुने भएको हुँदा देवघाट जाने सवारीसाधनलाई चितवनको रामनगर, ठिमुरा र दासढुंगाबाट जाने र फर्कँदा आँपटारी हुँदै आउने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक घिमिरेले बताए । मुग्लिङ–नारायणगढ सडकखण्डको दासढुंगामा पक्की पुल निर्माण भइसकेको हुँदा अधिकांश भक्तजनहरू दासढुंगा हुँदै देवघाट गएका थिए ।  

माघे सङ्क्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । विगत वर्षहरुमा माघे सङ्क्रान्तिको दिनमात्रै पाँच लाखभन्दा बढी भक्तजनले मेलाको अवलोकन गर्ने र वेणी संगममा स्नान गर्थे । गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालिगण्डकीको संगम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । यसैले माघे सङ्क्रान्तिमा स्नान गर्न भारत तथा नेपालका विभिन्न जिल्लाबाट लाखौँ भक्तजन देवघाट आउने गर्दछन् ।