Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २९ बुधबार २२:००:००
Read Time : > 6 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुधबार दिनभरका मुख्य खबर

Read Time : > 6 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २९ बुधबार २२:००:००

प्रतिनिधिसभा विघटनविरुद्धका रिट : अर्को सुनुवाइ शुक्रबार

प्रतिनिधिसभा विघटनमाथि सुनुवाइ : वरिष्ठ अधिवक्ता भन्छन्- श्रीमान ! आदेशले बाँध्यो

प्रतिनिधिसभा विघटनविरुद्धका रिटकाे अर्को सुनुवाइ शुक्रबार हुने भएको छ । आजको सुनुवाइका क्रममा निवेदकले प्रतिनिधिसभा विघटनको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुनुपर्ने माग गरेका छन्। सरकारी पक्षले भने यसमा असहमति जनाएकाे छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पक्षबाट बहस गरेका महान्यायाधिवक्ता अग्नि खरेलले भने संवैधानिक इजलासबाट नै मुद्दाको टुंगो लगाउनुपर्ने तर्क गरे । 

ओली गुट गलत बाटोमा छ, सडकको धुलोमा मिसिन्छ : नेपाल (भिडियोसहित)

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ओली गुट गलत बाटोमा गएको आरोप लगाएका छन् । यो समूहले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्दै अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

केपी ओलीको ‘नौटंकी’का पछाडि कोही लाग्नेवाला छैन : प्रचण्ड  (भिडियोसहित)

ओलीलाई प्रचण्डको चुनौती- पार्टीले सरकारका काममा अवरोध गरेको एउटा उदाहरण देखाउनुस् (भिडियोसहित)

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको ‘नौटंकी’का पछाडि कोही नलाग्ने दाबी गरेका छन् । बुधबार नेकपा काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओली नौटंकी र राजनीतिक जोक्करमा परिणत भएको बताए ।  

बाबुराम भट्टराईको दाबी– हिटलरले जे गऱ्याे, केपी ओली त्यही गर्दै छन्

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली हिटलरको पथमा अगाडि बढिरहेको बताएका छन् । केपी ओली प्रवृत्ति फासिस्ट र हिटलरी प्रवृत्ति रहेको उनले उल्लेख गरे । सरकारको संसद् विघटन गर्ने कदमविरुद्ध पोखरामा आयोजित विरोध सभालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हिटलरले पनि उखानटुक्काहरू हालेर मान्छे जुरुक्कजुरुक्क उचाल्थ्यो । अझै पनि तपाईं युट्युबहरूमा हेर्न सक्नुहुन्छ । सबै निर्वाचित संस्थाहरू भत्काइदिने हिटलरले जे ग¥यो केपी ओलीले त्यही गरेको छ । जसरी हिटलरले जर्मनी सिध्यायो, त्यसैगरी केपी ओलीले सिध्याउँछन् । केपी ओलीलाई नसच्याउने हो भने अब संघीयता पनि खारेज गर्छन् । न्यायालय, शिक्षा, विश्वविद्यालय सबै कब्जा गरेर हिटलरले तानाशाही फासीवाद लाद्यो । केपी ओलीले त्यसै गर्छन्,’ उनले भने । 

पार्टी एकताअघि नै प्रचण्ड कांग्रेस र साना दलसँग मिलेर प्रधानमन्त्री हुन खोजेका थिए : पोखरेल

नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताअघि नै कांग्रेस र साना दलसँग मिलेर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाएका छन् । तत्कालीन समयमा वाम गठबन्धनलाई धोका दिएर पाँचवर्षे प्रधानमन्त्री बन्न खोजेको आरोप लगाएका हुन् । झापाको बिर्तामोडमा ओली समूहको नेकपाले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले प्रचण्ड सधैँ पदका लागि मात्र अघि बढ्न खोजेका बताए । ‘वाम गठबन्धन गरेर एउटै चुनाव चिह्नमा साझा उम्मेदवार बनाएर एउटै घोषणापत्रमा चुनाव लड्ने सहमति भयो । त्यसको २४ घन्टा पनि बित्न नपाउँदै प्रचण्डजीले चुनाव चिह्न त हुँदैन भन्नुभयो । त्यसवेला पहिलोपटक हामीलाई दाँतमा ढुंगा लाग्यो,’ उनले भने, ‘चुनावमा केपी ओलीलाई प्रधानमन्त्री बनाउने भनेर चर्चा गरेर प्रधानमन्त्री बनाउने वेलामा त प्रचण्ड आउनुहुन्न । उहाँ त साना दल र कांग्रेसँग मिलेर पाँचवर्षे प्रधानमन्त्री हुनतिर लाग्नुभएछ ।’

प्रतिनिधिसभा पुनर्स्थापनाविना चुनाव गर्न खोजे रक्तपात : सुजाता कोइराला

कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रतिनिधिसभा पुनर्स्थापनाविना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको बताइन् । उनले देउवाको पछिल्लो गतिविधिमाथि केन्द्रीय समिति बैठकमा कुरा उठ्नेसमेत बताइन् । ‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ, आश्चर्य लागेको छ,’ पूर्वउपप्रधानमन्त्री कोइरालाले भनिन्, ‘रक्तपात हुन सक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैँले ल्याएको संविधान र संसद्को विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो ।’ उनले संसद पुनर्स्थापना नगरी चुनावमा जान खोजेमा रक्तपात हुने खतरा औँल्याइन् । देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेकोमा आपत्ति जनाइन् । उनले भनिन्, ‘चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस् ।’ 

पछिल्लो २४ घन्टामा ४१४ संक्रमित निकाे हुँदा ४४५ थपिए, पाँचको निधन 

पछिल्लो २४ घन्टामा थप चार सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६६ हजार एक सय ४३ पुगेको छ । यस्तै, पछिल्लो २४ घन्टामा चार सय १४ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ५९ हजार सात सय २२ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने चार हजार चार सय ३४ छ । मन्त्रालयका अनुसार  कोरोना संक्रमणबाट २४ घन्टामा थप पाँचजनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९ सय ३७ पुगेको छ ।

एमबिबिएसमा पहिलोपटक एकीकृत प्रवेश परीक्षाको तयारी

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले पहिलोपटक एमबिबिएसलगायत स्नातक तहका चिकित्सा शिक्षाका कार्यक्रममा एकीकृत प्रवेश परीक्षाको तयारी गरेको छ । तर, चिकित्सा शिक्षा ऐनमा सार्वजनिक शैक्षिक संस्थामा स्नातक तहमा कम्तीमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था भए पनि त्यसको भने टुंगो लागेको छैन । एमबिबिएसको सिट निर्धारण गर्दा नै सार्वजनिक वा निजी शैक्षिक संस्था छुट्याउनुपर्छ । ऐनअनुसार, सार्वजनिक संस्था धेरै भए पनि सरकारको प्रत्यक्ष लगानी रहेका संस्थामा मात्रै गत वर्षदेखि छात्रवृत्ति कार्यान्वयनमा ल्याएको छ । तर, ऐनले गरेको सार्वजनिक शैक्षिक संस्थाको परिभाषाअन्तर्गत पर्ने नेपाली सेनाको मेडिकल कलेज, काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पताललगायत संस्थाले ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्छ । यसको भने अहिलेसम्म पनि टुंगो लगाउन सकेको छैन । 

नेपाल प्रहरीका ११ एसपीको एसएसपी बढुवामा सिफारिस 

नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस भएको छ । बुधबार बसेको गृहसचिव अध्यक्षताको बढुवा सिफारिस समितिले सिनियर एसपीहरूको बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरूमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसूदन लुइँटेल र मोहनप्रसाद पोख्रेल छन् । बढुवा सिफारिस समितिले सिफारिसउपर एक साताभित्र उजुरी दिन सूचना प्रकाशन गरेको छ ।

सदरमुकाममै अन्धविश्वास, झारफुकको नाममा डामेर वृद्धको मृत्यु, दुईजना घाइते

गुल्मीको इस्मा गाउँपालिका– ३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको बुधबार धामीले डामेर मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । मुखियालाई मालिका गाउँपालिका– ६ अर्जे स्थायी घर भई रेसुंगा नगरपालिका– १ उदिनढुंगामा बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र ३६ वर्षीया श्रीमती शान्तिला श्रेष्ठले चार दिनदेखि विभिन्न धातु तताएर डाम्दै आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । मृतकको शरीर सबै डढेर निलो भएको छ भने घाइते दुईजनाको पनि शरीरका विभिन्न भागमा डढेका नीला डामहरू रहेको पाण्डेयले बताए । घाइते हुनेहरूमा रेसुंगा नगरपालिका– ५ की ४० वर्षीया टोपला दलाई र मृतकका छोरा ३४ वर्षीय हुमबहादुर मुखिया छन् । मृतक रामबहादुरलाई ढाड दुख्ने समस्या थियो । 

कालिकोटमा बाबुले घरमा आगो लगाउँदा दुई छोराकाे मृत्यु

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराकाे जलेर मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका– ७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोरोको जलेर मृत्यु भएको हो। घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाएको र आगो लगाउँदा उनका १२ वर्षीय गणेश र सात वर्षीय छोरा मनबहादुर बटालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए। 

चीनमा मंगलबार थप एक सय १५ जना कोभिड संक्रमित भेटिए

चीनमा कोरोना भाइरस (कोभिड–१९) का थप नयाँ संक्रमित भेटिएका छन् । मंगलबार मात्रै पनि चीनभित्रै थप एक सय १५ वटा नयाँ घटना बाहिर आएको जानकारी दिइएको छ । चीनको नेसनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार मंगलबार एक सय १५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये एक सय सातजना चीनभित्रैका छन् । यहाँका स्थानीयबाटै एक सय सातजनामा संक्रमण भएको समाचारमा जनाइएको छ ।  
चीनले कोरोनाबाट निको भएका नागरिकहरूको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो कदम सुरु गरेको हो ।

सोसियल मिडियाको विकल्प खोज्दै ट्रम्प 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसियल मिडियाको विकल्प खोज्न थालेका छन् । गत साता क्यापिटल हिलमा भएको हिंसात्मक गतिविधिपछि सोसियल मिडिया फेसबुक, ट्विटर, इन्स्टाग्रामले ट्रम्पका सबै खाता सधैँका लागि बन्द गरेपछि उनी यस्ता मिडियाको विकल्पको खोजीमा लागेका हुन् । ट्रम्पले सोसियल मिडियामा दिएको अभिव्यक्तिका कारण उनका समर्थकले क्यापिटल हिलमा हिंसात्मक गतिविधि मच्याएको आरोप छ । ती सबै सोसियल मिडियाले सुरुमा २४ घन्टाका लागि ट्रम्पको खाता बन्द गरेका थिए । ६ जनवरीमा क्यापिटल हिलस्थित अमेरिकी संसद् भवनमा भएको हिंसात्मक गतिविधिपछि सोसियल मिडियाहरूले ट्रम्पकै टिप्पणीले घटना भएको आरोप लगाएका छन् ।

युट्युबले पनि ट्रम्पको च्यानल खारेज गऱ्याे, च्यानलमा भएका सबै भिडियो हटायो

भिडियो सेयरिङ प्लेटफर्म युट्युबले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ट्रम्पस च्यानल’ खारेज गरेको छ । साथै ट्रम्पले च्यानलमा अपलोड गरेका भिडियो युट्युबको नीतिविपरीत रहेको ठहर गर्दै हटाएको छ । यसकारण कम्तीमा सात दिनका लागि उनको च्यानल बन्द गरिएको युट्युबले जनाएको छ । यसअघि सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर र इन्स्टाग्रामले राष्ट्रपति ट्रम्पले सञ्चालन गर्दै आएको खाता बन्द गरेका थिए । ६ जनवरीमा अमेरिकाको क्यापिटल हिलस्थित संसद् भवनमा ट्रम्पसमर्थकले आक्रमण गरेको भिडियो ट्रम्पले सामाजिक सञ्जालमा अपलोड गरेका थिए । यस दिन राष्ट्रपति निर्वाचित जो बाइडेनलाई औपाचारिक रूपमा विजयी घोषणा गर्ने तयारी भइरहेको थियो । समर्थकलाई हिंसा गर्न उक्साएको आरोपमा सामाजिक सञ्जाल सञ्चालकहरूले ट्रम्पको खाता नै बन्द गरेका हुन् । 

अमेरिकामा ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइयो

संयुक्त राज्य अमेरिकामा करिब सात दशकपछि पहिलोपटक एक महिलालाई अमेरिकी संघीय कानुनबमोजिम मृत्युदण्ड दिइएको छ । गर्भवती महिलालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सुई लगाएर बुधबार मृत्युदण्ड दिएको अमेरिकी न्याय विभागले जनाएको छ । ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागारमा राखिएको थियो । मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीया एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन् । 

ब्राजिलमा सिनोभाक भ्याक्सिन ५०.४ प्रतिशत मात्रै प्रभावकारी

कोरोना भाइरस (कोभिड– १९) महामारीविरुद्ध चीनको सिनोभाक कम्पनीले निर्माण गरेको भ्याक्सिन ब्राजिलमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको छ । सिनोभाक भ्याक्सिनको ब्राजिलमा गरिएको क्लिनिकल परीक्षणको नतिजाअनुसार जम्मा ५०.४ प्रतिशत मात्रै प्रभावकारी रहेको अनुसन्धानकर्ताले बताएका हुन् । यो नतिजाले कम्पनीलाई केही निराश बनाएको छ । यो नतिजाले भ्याक्सिन पहिले भनिएको भन्दा कम प्रभावकारी देखिएको छ । भ्याक्सिन ब्राजिलमा परीक्षण भइरहेको दुई चिनियाँ भ्याक्सिनमध्येको एक हो । ब्राजिल विश्वमै कोरोना भाइरसले सबैभन्दा बढी प्रभावितमध्येको देश हो ।