मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ पौष २७ सोमबार १७:२७:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

नेकपा मकवानपुरको कार्यालयमा ताला लगाउने होडबाजी

Read Time : > 1 मिनेट
२०७७ पौष २७ सोमबार १७:२७:००

नेकपा मकवानपुरको पार्टी कार्यालयमा ताला लगाउने होडबाजी चलेको छ । आन्तरिक रूपमा पार्टी फुटसँगै सिर्जना भएको विवादका कारण अलगअलग भेला गर्दै आएका प्रचण्ड–नेपाल र ओली समूह जिल्ला नेता–कार्यकर्ताबीच कार्यालयमा ताला लगाउने होडबाजी चलेको हो ।

सोमबारबाट हेटौँडा– ४ स्थित सानोपोखराको पार्टी कार्यालय (मदन भण्डारी स्मृति भवन)मा दुईवटा ताल्चा लगाइएको छ । पूर्वएमालेको पार्टी कार्यालय मदन भण्डारी स्मृति भवनमा दुई पक्षले छुट्टाछुट्टै ताला लगाए पनि हेटौँडा– ५ स्थित पूर्वमाओवादीको कार्यालय गर्दोईमा भने ताला लगाइएको छैन ।

२५ पुसमा ओली समूहको हेटौँडामा भेलाले एकलाल श्रेष्ठलाई पार्टी अध्यक्ष घोषणा गरेर जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई कारबाही गरेपछि प्रचण्ड–माधव समूहले पार्टी कार्यालयमा आइतबार ताला लगाएका थिए ।

प्रचण्ड–माधव समूहले ताला लगाए पनि आफूहरूले पनि पार्टी कार्यालयको सुरक्षा गर्दै ताला लगाएको नेकपा ओली समूहका मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले बताए । ‘म पार्टीको जिल्ला अध्यक्ष चुनिएपछि प्रचण्ड–माधव समूहले पार्टी कार्यालयमा ताला लगाए,’ उनले भने, ‘यो पार्टी कार्यालय हाम्रो सम्पत्ति हो, त्यसैले सोमबार हामीले पनि ताला लगायौँ ।’

उनले पार्टी कार्यालय स्थापना गर्दा धेरै मिहिनेत गरेको भन्दै प्रचण्ड–माधव समूहले मात्रै दाबी गरिरहनु उचित नभएको दाबी गरे । पार्टी कार्यालयमा ताला लगाइएको विषयमा प्रचण्ड–नेपाल समूह मुनु सिग्देलले आफूले कुराकानी गर्दा केही दिन यत्तिकै होस् पछि खोल्ने भनेपछि आफूहरू ताला लगाउन बाध्य भएको श्रेष्ठको भनाइ छ ।

सोमबार ओली समूहका केन्द्रीय सदस्यहरू रामेश्वर राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेशकुमार बर्तौला र जिल्ला नेताहरूको उपस्थितिमा ताला लगाइएको होे । केन्द्रीय सदस्य रानाले केपी शर्मा ओली नेतृत्वको नेकपा नै आधिकारिक रहेको दाबी गर्दै प्रचण्ड–माधव समूहलाई हेटौँडा–५ गर्दोईमा रहेको तत्कालीन माओवादीको कार्यालय प्रयोग गर्न आग्रह गरे ।