कुनै पनि रोगको जोखिम व्यक्तिको प्रतिरोधी क्षमतामा निर्भर रहन्छ । प्रतिरोधी क्षमता भने व्यक्तिको खानपान र जीवनशैलीमा निर्भर रहन्छ । यही कारण स्वस्थ खानपिन र जीवनशैली अपनाउने व्यक्तिलाई रोग नलाग्ने र लागे उसलाई तुलनात्मक रूपमा छिटो निको हुने हुन्छ ।
यही कारण कोभिड संक्रमणले पनि सबै व्यक्तिमा एकै तवरले असर नगरेको हो । संक्रमणको जोखिम व्यक्तिको स्वास्थ्य अवस्थाअनुसार फरक–फरक हुने गर्छ । मार्च महिनाको सुरुमा बेलायतले विभिन्न अस्पतालका भर्ना भएका व्यक्तिमा भिटामिन डीले शरीरमा पार्ने प्रभाव र कोभिडसँगको सम्बन्धबारे अनुसन्धान गरेको थियो । सो अध्ययनअनुसार शरीरमा भिटामिन डी पर्याप्त भएका, छालाको तल्लो भाग जसले सूर्यको किरणबाट भिटामिन डी अवशोषित गरेका व्यक्तिको प्रतिरक्षा र पाचन प्रणाली राम्रो भएको र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम कम देखिएको छ ।
यो अध्ययन प्रकाशित भएसँगै भिटामिन डीको भूमिकाबारे विश्वभर नै बहस भयो । खासगरी चिकित्सक तथा इन्डोक्रोनोलोजिस्टहरूले शरीरमा भिटामिन डीको स्तर पर्याप्त हुनुले कोरोना भाइरसको मृत्युदरमा सकारात्मक असर पार्छ भन्ने विषयमा टिप्पणी गर्न थाले । कतिपयले यसलाई पोषणको माध्यमबाट राम्रो उपलब्धिको रूपमा मान्न सकिने बताए पनि अधिकांशले यसलाई समयको बर्बादी भनेर टिप्पणी गरे । मार्च र अप्रिलमा भिटामिन डी डिफिसियन्सी र कोभिड संक्रमणबारे ब्रिटिस मेडिकल जर्नल र पब्लिक हेल्थ इंग्ल्यान्डमा थुप्रै चिकित्सकले आर्टिकल प्रकाशित गरेका थिए । बिस्तारै अस्पतालहरूमा भिटामिन सी, भिटामिन डी र जिंकको प्रयोगमा अन्य अनुसन्धानहरूसमेत भए । अनुसन्धानपछि भिटामिन डी सप्लिमेन्टको प्रयोग बढेको पाइन्छ । अस्पतालहरूमा पोषणको सल्लाहसँगै सप्लिमेन्टको समेत अत्यधिक प्रयोग हुन थालेको थियो ।
अप्रिलमा ब्रिटिस एसोसिएसन अफ फिजिसियनले गरेको एक अध्ययनमा भिटामिन डी ३ को कमीले गर्दा संक्रमणले बढी असर गर्ने बताइएको थियो । सामान्यतया कालो छाला भएका व्यक्तिमा युभी किरण छालाको तेस्रो तहसम्म सजिलै पुग्न सक्दैन । फलस्वरूप छालामा भिटामिन डी ३ उत्पादन नहँुदा कोरोना भाइरस संक्रमणको जोखिम बढी रहन्छ । सुरुवातीमा गरिएका केही अध्ययनहरूले काला जातिमा कोभिडको जोखिम बढी हुनुको मुख्य कारण भिटामिन डी डिफिसियन्सी रहेको बताएका थिए । अर्थात् शरीरमा भिटामिन डीको कमी हँुदा प्रतिरोधी क्षमतामा प्रत्यक्ष असर पर्ने हँुदा भिटामिन डीको आवश्यकता पूरा हुन आवश्यक मानिएको छ । खासगरी लामो लकडाउनमा घरभित्रै समय बितेको र चिसो मौसममा पनि घामको किरण कम हुने हँुदा भिटामिन डीको अन्य स्रोतबारे पनि ध्यान दिन विज्ञहरूले सुझाब दिएका छन् ।
–एजेन्सीको सहयोगमा