मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु कोभिडविरुद्धको खोप लिँदै ।
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष २७ सोमबार ०९:४१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भ्याक्सिन पाउन इजरायलले ५० प्रतिशत बढी मूल्य तिर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष २७ सोमबार ०९:४१:००

 कोरोना भाइरसविरुद्धको भ्याक्सिन सहज रूपमा आफ्ना नागरिकलाई उपलब्ध गराउन इजरायल सरकारले वास्तविक मूल्यभन्दा ५० प्रतिशत बढी तिरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । इजरायलको विपक्षी दलले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो लोकप्रियता जनतासामु देखाउनकै लागि भ्याक्सिनको वास्तविक मूल्यभन्दा ५० प्रतिशत बढी तिर्न लागेको आरोप लगाएको छ । 

‘इजरायलमा प्रधानमन्त्री बेन्जामिन अहिले जनतासामु त्यति लोकप्रिय छैनन्, जनतासँग सद्भाव राख्न र कोरोना भाइरसको भ्याक्सिन सबैलाई उपलब्ध गराउन भन्दै सरकारले ५० प्रतिशत बढी मूल्य तिर्न लागेको हो,’ विपक्षी दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै प्रधानमन्त्रीले राजनीति अवस्था बलियो पार्न पनि यस्तो कदम चालेका हुन् ।’ फाइजर कम्पनीले बेलायतमा प्रतिडोज ३० युरोमा बिक्री गरेको छ । त्यही खोपलाई इजरायलले प्रतिडोज ४५ युरो तिर्दै आएको छ । फाइजर कम्पनीले भने इजरायलसँगको सम्झौताअनुसार नै भ्याक्सिन वितरण गरेको जनाएको छ । 

इजरायल सरकारले २० दिनमा १८ लाख नागरिकलाई भ्याक्सिन वितरण गरिसकेको छ । बेलायतको तुलनामा इजरायलले आफ्ना नागरिकलाई अधिकतम भ्याक्सिन दिएको बिबिसीले उल्लेख गरेको छ । इजरायलका प्रधानमन्त्री नेतान्याहुले फाइजर कम्पनीका सिइओ अल्बर्ट बोर्लासँग केही दिनअघि १७ पटक टेलिफोन वार्ताको प्रयास गरेका थिए । एजेन्सीहरूका अनुसार बेन्जामिनले थप भ्याक्सिन भित्र्याउन फाइजर कम्पनीका सिइओसँग वार्ता प्रयास गरेका हुन् । यद्यपि उनीहरूबीच कुराकानी हुन सकेन । 

बेन्जामिनले लिए दोस्रो खोप
इजरायलका प्रधानमन्त्री बेन्जामिनले आइतबार कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो डोज लिएका छन् । स्वास्थ्यमन्त्री युली एडेलस्टिनसँगै बेन्जामिनले फाइजर कम्पनीको दोस्रो खोप लिएको जनाइएको छ । बेन्जामिनले सामाजिक सञ्जालमार्फत दोस्रो खोप लिएको जानकारी दिएका छन्, ‘मैले दोस्रोपटक खोप लिएको छु र पुरानै अवस्थामा फर्कने प्रयास गरिरहेको छु ।’

उनले मार्च महिनासम्म सबै नागरिकले भ्याक्सिनको खोप पाउने प्रतिबद्धता जनाएका छन् । गत २० डिसेम्बरमा उनले पहिलोपटक भ्याक्सिन लिएका थिए । इजरायलमा भ्याक्सिन लिने उनी पहिलो व्यक्ति हुन् । इजरायलमा कोरोनाका कारण अहिलेसम्म तीन हजार चार सय ४५ जनाको निधन भएको छ । 

अस्पताल भर्ना नहुँदा जापानमा जरिवाना
जापानको नयाँ भाइरस देखापरेसँगै त्यहाँका नागरिक आत्तिएका छन् । जापान सरकारले कोरोनाको दोस्रो लहर तथा नयाँ भाइरसबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न लकडाउन घोषणा गरेको छ । भाइरसका कारण बिरामी तथा संक्रमित भएका व्यक्ति अस्पताल जाने नगरेको क्युडो समाचार संस्थाले जनाएको छ ।

अस्पताल जान आनाकानी गर्ने व्यक्तिलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ । संक्रमित व्यक्ति अस्पताल नगएमा सरकारले आपराधिक नियमअनुसार दण्ड गर्ने भएको छ । सरकारी अधिकारीका अनुसार यससँग सम्बन्धित कानुन छिट्टै जारी गरिन लागेको छ । संसद्ले पनि यसको अनुमति दिने भएको छ । नाजुक अवस्थामा रहेका संक्रमित व्यक्ति अस्पताल नजाने धेरै केस आएपछि मात्र आपराधिक नियमअनुसार कारबाही हुने क्युडो समाचार एजेन्सीले जनाएको छ ।

बेलायतका राजपरिवारले लिए भ्याक्सिन
बेलायतकी महारानी एलिजावेथ तथा उनका श्रीमान् प्रिन्स फिलिपले आइतबार कोरोना भाइरसविरुद्धको खोप लिएका छन् । एलिजावेथ तथा फिलिपले बकिंघम प्यालेसमै खोप लिएको बिबिसीले उल्लेख गरेको छ । यद्यपि उनीहरूलाई कुन कम्पनीको भ्याक्सिनको खोप दिइएको भन्ने खुलाइएको छैन । बेलायतमा ८० वर्षमाथिका वृद्धवृद्धालाई पहिलो प्राथमिकतामा राखी खोप लगाउन थालिएको छ । बेलायतमा अहिलेसम्म ३० लाख २६ हजार ३१३ व्यक्ति संक्रमित भएका छन् । 

 एजेन्सीहरूको सहयोगमा