१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डा. हितेशकुमार भट्टराई
२०७७ पौष २३ बिहीबार ०९:५१:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नयाँ स्वरूपको कोरोना भाइरस

बहस

Read Time : > 5 मिनेट
डा. हितेशकुमार भट्टराई
२०७७ पौष २३ बिहीबार ०९:५१:००

नयाँ स्वरूपको भाइरस बढी संक्रामक हुन सक्छ भन्ने प्रमाणहरू त छन्, तर बढी घातक हुन्छ भन्ने प्रमाणचाहिँ अहिलेसम्म भेटिएको छैन

प्रसंग सन् १९१८ को स्पेनिस फ्लु महामारीको हो । नाम स्पेनको आए पनि कैयौँ विज्ञका अनुसार यो महामारी अमेरिकाको क्यानससबाट सुरु भएको थियो । पहिलो विश्वयुद्ध अन्तिम चरणमा थियो । अमेरिकाका थुप्रै युवा सैनिक क्याम्पमा थिए । महामारी सबभन्दा पहिले क्यानसासको क्याम्प डेभन्समा फैलिएको अनुमान छ । त्यसपछि यो अमेरिकाभरि नै फैलियो । सैनिक युद्धका लागि अमेरिकाबाट युरोप परिचालन हुँदा युरोपमा पनि फैलियो । यसरी सुरुवात भयो, पहिलो लहर । जुन १९१८ को सुरुवातमा अमेरिकाबाट विश्वभरि फैलियो । 

यो पहिलो लहर साधारण फ्लुभन्दा खासै घातक थिएन । केही समयपछि युरोपमा पुगेको यो भाइरसमा उत्परिवर्तन भयो र भाइरस बढी घातक हुन पुग्यो । यो नयाँ स्वरूपको फ्लु युरोपबाट फर्किएका सैनिकसँग फेरि अमेरिका पुग्यो । युरोपबाट भारत, चीनलगायत संसारभरि फैलियो । पहिलो लहरको भाइरसभन्दा यो दोस्रो लहरको भाइरसमा निकै फरक थियो । साधारणतया फ्लु केटाकेटी र बूढाबूढीमा बढी घातक हुने गर्छ । तर, यो फ्लु प्रतिरोधात्मक क्षमता बलियो भएका युवामा विशेष रूपमा घातक ढंगले फैलियो । उत्परिवर्तन भएको भाइरसका कारण विश्वव्यापी रूपमा बढीमा १० करोडसम्मको ज्यान गएको अनुमान छ । 

भाइरसको अध्ययन गर्दा थाहा हुन्छ, संसारमा जति पनि भाइरस छन्, सबैले कुनै न कुनै समयमा मानिसमा संक्रामक र घातक हुन उत्परिवर्तनको सहारा लिएका हुन्छन् । त्यसैले होला, भाइरसमा उत्परिवर्तन भयो भन्दा खतराका घन्टीहरू बज्न थाल्छन् । तर, जीव विज्ञानमा उत्परिवर्तन भनेको सामान्य, सर्वव्यापी घटना हो । भाइरस, मानवलगायतका जीवमा उत्परिवर्तनको प्रक्रिया सधैँ चलि नै रहन्छ । एक वर्षदेखि विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसमा पनि उत्परिवर्तनका घटना हुनु कुनै असामान्य विषय होइन । नेपालमा पनि कोरोना भाइरस उत्परिवर्तन भइरहेको छ, तर त्यसलाई निगरानी राख्ने संयन्त्र नहुँदा हामीलाई केही पनि थाहा हुन सकेको छैन ।

विज्ञका अनुसार यो नयाँ स्वरूपको भाइरसविरुद्ध अहिलेसम्म बनेका खोपहरूले काम गर्ने सम्भावना छँदैछ । भाइरसमा अझ धेरै परिवर्तन आएको खण्डमा भने खोपले काम नगर्न सक्छ । त्यसैले भाइरसको उत्परिवर्तन नियमित रूपमा अनुगमन गर्नु जरुरी हुन आउँछ । भाइरसको स्वरूपमा निकै परिवर्तन भए पनि नयाँ खोप भने बनाउनु पर्दैन । बनेको खोपमा सानोतिनो परिवर्तन गरेपछि नयाँ उपयोगी खोप बन्छ ।
 

बेलायतमा भने समयसँगै हुने उत्परिवर्तन पत्ता लगाउने एकदम सबल संयन्त्र छ । त्यहाँ ५ देखि १० प्रतिशत कोरोना भाइरसको सिक्वेन्सिङ गरिन्छ । यही संयन्त्रको सहाराले हालसालै चर्चामा आएको नयाँ स्वरूपको कोरोना भाइरस पत्ता लागेको हो । यो नयाँ स्वरूपमा भाइरसका २३ भागमा परिवर्तन आएको छ । त्यस्तै, मानवीय कोषलाई चिन्न चाहिने एस प्रोटिनमा नौ ठाउँमा परिवर्तन भएका छन् । यी नौमध्ये एक ठाउँको परिवर्तन महत्वपूर्ण छ, किनभने त्यस परिवर्तनले भाइरसलाई बढी संक्रामक बनाउने प्रबल सम्भावना छ । कम्प्युटर मोडेलले पनि त्यसै भन्छन् । यो नयाँ स्वरूपको भाइरस पहिलोपटक चार महिनाअगाडि देखा परेको थियो । दक्षिण–पूर्वी बेलायत र विश्वव्यापी रूपमा यो नयाँ स्वरूपको भाइरस बढ्ने क्रम जारी छ । सन् २०२० को डिसेम्बरमा यो भाइरसको संख्या दक्षिण–पूर्वी बेलायतमा बढेर १० हजारमा चार सय पुगिसकेको थियो । 

प्रश्न आउँछ, कति बढी संक्रामक छ त यो नयाँ स्वरूपको कोरोना ? रोगको संक्रमण नाप्न आर अंकको प्रयोग गर्ने गरिन्छ । आर अंक १ भएको खण्डमा एउटा व्यक्तिले अर्को एउटा व्यक्तिलाई रोग सार्छ र रोग लाग्नेको संख्या उही रहिरहन्छ । अंक १ भन्दा कम भएमा रोग लाग्नेको संख्या घटेर जान्छ । १ भन्दा बढी भएको खण्डमा ज्यामितीय अनुपातमा रोगीको संख्या बढ्छ । निर्बाध रूपमा कोरोना फैलिन दियो भने आर अंक ३ हुन पुग्छ । यो नयाँ स्वरूपको कोरोना भाइरसले आर अंक ०.४ ले बढाउने अनुमान गरिएको छ । बेलायती प्रधानमन्त्रीका अनुसार यो भाइरस साधारण भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक छ । 

नयाँ स्वरूपको भाइरस बढी संक्रामक हुन सक्छ भन्ने प्रमाणहरू त छन् । तर, बढी घातक हुन्छ भन्ने प्रमाणचाहिँ अहिलेसम्म भेटिएको छैन । यो अनुसन्धान विभिन्न प्रयोगशालामा भइरहेको छ । वुहानको कोरोना भाइरसबाट यो स्वरूपको कोरोना भाइरस कसरी बन्यो त ? २३ वटा फरक एकपछि अर्को गर्दै आए कि एकैपटक ? बेलायतमा क्रमिक विकास भएको नभई एकैपटक देखा परेकाले भाइरसका धेरैजसो अन्तर एउटै व्यक्तिमा बनेको अनुमान लगाउन सकिन्छ । सायद सो व्यक्तिको प्रतिरोधात्मक क्षमता कमजोर भएकाले भाइरसले लामो समयसम्म उत्परिवर्तन गर्न पायो । अर्को विकल्प भनेको नयाँ स्वरूपको भाइरस उत्परिवर्तन पत्ता लगाउने संयन्त्र नभएको देशबाट बेलायतसम्म पुगेको हुन सक्छ ।

प्रश्न आउँछ, अहिलेसम्म नयाँ स्वरूपको भाइरसले विश्वभरि कस्तो असर गरेको छ त ? अहिलेसम्म भाइरस बेलायतबाट दुई दर्जनभन्दा बढी देशमा फैलिइसकेको छ । धेरैजसो युवा र बालबालिकामा फैलिएको यो भाइरसका कारण बेलायतमा विशेष सतर्कता अपनाइएको छ । लकडाउन कडा पारिएको छ । कति अरू देशहरूले जोखिमको मूल्यांकन गरी बेलायत आवतजावतमा रोक लगाएका छन् ।

यस नयाँ स्वरूपको भाइरसका विषयमा अरू पनि प्रश्न आउन सक्छन् । के अहिले गर्ने गरेको आरटी पिसिआरले यो भाइरस पत्ता लगाउन सक्छ ? के अहिले विकास गरिएका खोपहरूले यो नयाँ भाइरसविरुद्ध काम गर्छन् ? अधिकांश विश्वभरि गरिने आरटी पिसिआरले भाइरसका दुईवटा जिन पत्ता लगाउँछन् । जिनको मध्यभागमा केही अन्तर भए केही फरक पर्दैन । एउटा जिन नभेटिने सम्भावना एकदम न्यून हुन्छ, दुइटै नभेटिने सम्भावना त हुँदैहुँदैन । त्यसैले कुनै पनि आरटी पिसिआरले काम नगर्ने सम्भावना एकदमै न्यून हुन्छ । अहिले विश्वबजारमा आएका खोपहरू, चाहे फाइजरको होस् या अक्सफोर्डको होस्, सबैमा एस जिनबाट प्रोटिन मानव शरीरमा उत्पादन गर्नुपर्ने हुन्छ । जुन प्रोटिनको खाकाको आधारमा प्रतिरोधात्मक तत्वहरू उत्पादन गर्‍यो, ती तत्वले नयाँ स्वरूपको भाइरस चिन्न सकेनन् भने खोपले काम नगर्ने अवस्था आउँछ । तर, यस्तो सम्भावना अहिले नै आएको छैन। 

 

भाइरसले घातक हुन उत्परिवर्तनको सहारा लिएका हुन्छन् । त्यसैले होला भाइरसमा उत्परिवर्तन भयो भन्दा खतराका घन्टीहरू बज्न थाल्छन् । बेलायतमा भने समयसँगै हुने उत्परिवर्तन पत्ता लगाउने एकदम सबल संयन्त्र छ । त्यहाँ ५ देखि १० प्रतिशत कोरोना भाइरसको सिक्वेन्सिङ गरिन्छ । यही संयन्त्रको सहाराले हालसालै चर्चामा आएको नयाँ स्वरूपको कोरोना भाइरस पत्ता लागेको हो । यो नयाँ स्वरूपमा भाइरसका २३ भागमा परिवर्तन आएको छ । 
 

प्रतिरोधात्मक तत्वहरूले एस प्रोटिनको एउटा भाग मात्र नभएर विभिन्न भाग चिन्ने हुनाले एक–दुई ठाउँमा फरक परे पनि खोपले काम नगर्ने हुँदैन । विज्ञका अनुसार यो नयाँ स्वरूपको भाइरसविरुद्ध अहिलेसम्म बनेका खोपहरूले काम गर्ने सम्भावना एकदमै छँदैछ । भाइरसमा अझ धेरै परिवर्तन आएको खण्डमा भने खोपले काम नगर्न सक्छ । त्यसैले भाइरसको उत्परिवर्तन नियमित रूपमा अनुगमन गर्नु जरुरी हुन आउँछ । भाइरसको स्वरूपमा निकै परिवर्तन भए पनि नयाँ खोप बनाउनु पर्दैन । बनेको खोपमा सानोतिनो परिवर्तन गरेपछि नयाँ उपयोगी खोप बन्छ । हरेक वर्ष निकै नै उत्परिवर्तन हुने फ्लुविरुद्धको खोप पनि यसरी नै पुरानो खोपलाई थोरै परिवर्तन गरेर बनाइन्छ ।

अन्त्यमा, नेपालमा यो नयाँ स्वरूपको भाइरसले के कस्तो असर गर्ला त ? हामीले पूर्वतयारीमा के गर्न सक्छौँ ? के गर्नुपर्छ ? दुई दर्जनभन्दा बढी देशमा भित्रिसकेको यो भाइरस नेपाल भित्रिने सम्भावना प्रबल छ । केही समयअघि मात्र पाँचजना कोरोना संक्रमित बेलायतबाट नेपाल भित्रिए । उनीहरूमा नयाँ प्रजातिको कोरोना संक्रमण भए÷नभएको परीक्षण गर्दागर्दै बेलायतबाट आउने यात्रुहरूको विशेष परीक्षण र निगरानी जरुरी भएको छ । यस घटनाले नेपालमा खोप सकेसम्म चाँडो ल्याउनुपर्ने आवश्यकतालाई उजागर गरेको छ । अहिले नै आत्तिनुपर्ने अवस्था भने नहुन सक्छ । 

यसै वर्ष कोरोना भाइरसमा कैयौँपटक उत्परिवर्तन भएर नयाँ स्वरूपका भाइरस आइसके । वुहानबाट आएको भाइरसका उत्परिवर्तन भएर नयाँ जातिको बनिसकेपछि युरोप र अमेरिकाभरि फैलियो । त्यस्तै, स्वतन्त्र रूपमा दक्षिण अफ्रिकामा नयाँ बेलायती प्रजातिसँग मिल्ने एस प्रोटिनमा उही फरक भएको नयाँ स्वरूपको भाइरस जन्मिएको छ । यी दुई घटनाका कारण खतराको घन्टी बजेको छैन । महामारीको अवस्थामा एउटा स्वरूपको भाइरसको संख्या बढ्नु, अर्को स्वरूपको भाइरसको संख्या घट्नु कुनै नौलो विषय होइन । प्रयोगशाला तथा समाजमा बेलायती नयाँ स्वरूपको भाइरसमा अनुसन्धान भएर नतिजा नआउन्जेल आत्तिनुपर्ने अवस्था छैन । 

बरु हामीले नेपालमा पनि सकेको खण्डमा बेलायतमा जस्तै उत्परिवर्तन भेट्टाउन सक्ने प्रणालीको विकास गर्नु श्रेयष्कर रहला । यसका लागि फैलिएका कोरोना भाइरसमध्ये केही सानो प्रतिशत भाइरसलाई सिक्वेन्सिङ जाँच गर्नुपर्ने हुन्छ । हामीकहाँ नयाँ भाइरस अथवा नयाँ जातिको परजीवी भेटिएको खण्डमा त्यसलाई सिक्वेन्सिङ गरेर जाँच गर्ने प्रणालीको पनि विकास गर्नु जरुरी छ । यसपालिको महामारी चीनको वुहानबाट सुरु भयो, सन् १९१८ को महामारी अमेरिकाबाट सुरु भयो । भन्न सकिन्न, अब नयाँ आउने महामारी नेपालबाट सुरु हुन सक्छ । त्यसैले महामारीविरुद्धको युद्धमा नेपाल पनि तयार रहन जरुरी छ । महामारीविरुद्धको तयारीमा थुप्रै कुरा पर्न आउँछन् । 

पहिलो त महामारीको कारक तत्व पत्ता लगाउन सक्नुपर्छ । दोस्रो, मास्क तथा सेनिटाइजरको सञ्चय गर्नुपर्छ । तेस्रो, जनमानस कसैलाई रोग लागेको ठम्याउन सस्तो टेस्टको विकास गर्नुपर्छ । चौथो तथा सबैभन्दा गाह्रो काम महामारीविरुद्ध खोप तथा औषधिको आविष्कार गर्नुपर्छ । यी सबै काम गर्न नसके पनि यो नयाँ स्वरूपको भाइरस ठम्याउने आरटी पिसिआर प्रविधि, जसको विकास भइसकेको छ, हामी भविष्यमा नेपाल भित्र्याउन सक्छौँ । 

(लेखक काठमाडौं विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उप–प्राध्यापक हुन्)