मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विद्या शर्मा
२०७७ पौष १९ आइतबार १४:१८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सिंगापुर रेडक्रस’को नाममा २३ वर्षीया युवतीको ठगी धन्दा, दैलेखबाट उठाइन् दुई करोडभन्दा बढी रकम 

Read Time : > 1 मिनेट
२०७७ पौष १९ आइतबार १४:१८:००

दैलेखमा एक युवतीले 'सिंगापुर रेडक्रस' को नाम बेचेर दुई करोडभन्दा बढी रकम ठगी गरेकी छिन् । गत असारमा कोरोना संक्रमणकाे उच्च जाेखिम र त्रासबीच  दैलेख आएकी ती युवतीले समाजसेवाका नाममा जिल्लाका व्यापारी तथा उच्चघरानाबाट लाखौँ रकम उठाएकाे जिल्ला प्रहरी कार्यलय, दैलेखले जनाएकाे छ ।

समाजसेवी र आफुलाई अभियान्ता बताउने युवती इटहरीकी २३ वर्षीया विद्या शर्मा रहेकाे दैलेखका प्रहरी सहायक निरीक्षक इन्तजित सुनारले बताए । उनले विद्या सरकार भनेर दैलेखमा परिचय दिँदै आएकी थिइन् । 

प्रहरीका अनुसार उनले सिंगापुरबाट रकम आउँछ भन्ने प्रलाेभनमा पारेर लाखौँ रकम उठाउँदै २० प्रतिशत राहत सामग्री खरिद गरी गाउँमा बाँड्ने र ८० प्रतिशत रकम आफैँले खाने गरेकाे खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा ६० लाख रकम ठगी गरेको उजुरीका आधारमा खोजी गर्दै जाँदा काठमाडौंमा रहेकी उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको दैलेख प्रहरी सहायक निरीक्षक इन्तजित सुनारले बताए । 

 काठमाडौंमा पनि धेरैलाई ठगी गरेको निवेदन परेकाले काठमाडाैंको मुद्दा टुंगो लाग्नेबित्तिकै दैलेख झिकाउने तयारी भइरहेकाे प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

प्रहरीका अनुसार फेसबुकमा साथी बनेर मायाप्रेमको कुरा गरेर उनले धेरै युवाहरूलाई फसाउँदै आएकी छिन् । दैलेखमा पनि उनी फेसबुकमा प्रेम भएको बहानामा प्रवेश गरेकी थिइन् ।

केही समय समाजसेवाका लागि उनले जिल्लाका केही व्यापारीहरूबाट उधारोमा सामान लिँदै गाउँमा वितरण गरेकी थिइन् । असारदेखि कात्तिकसम्म दैलेख बसेकी उनले अन्तिम समयमा धेरै युवायुवतीलाई सिंगापुर रेडक्रसमा काम दिलाइदिने र अमेरिकासम्म पुऱ्याइदिने भन्दै प्रतिव्यक्ति तीन लाखसम्म असुलेको प्रहरीले जानकारी दियो।
 
अहिलेसम्म निवेदन परेअनुसार दैलेखबाट ५ महिनाको अवधिमा दुई करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनलाई दैलेख ल्याएपछि अझै निवेदन आउने सम्भावना रहेको बतायो ।

जिल्ला प्रशासन कार्यालयबाटै राहत वितरण सुरु 

जिल्ला आउनेबित्तिकै उनले जिल्ला प्रशासन कार्यालय दैलेख र नारायण नगरपालिकामा सिंगापुर रेडक्रसले राहत सामग्री पठाएको र वितरण गरेको बताएकी थिइन् । केही थान मास्क र केही थान स्यानिटाइजर निःशुल्क बाँडेर दैलेखलाई अड्डा बनाएकी उनको बारेमा किन कसैले थप खोजी गरेन भन्ने विषय अहिले दैलेखमा चर्चामा छ । 

उनले केही गैरसरकारी संस्थासँग मिलेर स्थानीय व्यापारीबाट उधारोमा सामान लिँदै दैलेखका स्थानीय पालिकासम्म पुगेर राहत बाँड्दै तत्काल विभिन्न संरचनाहरू निर्माण गरिदिने र पालिकाले जग्गा खोज्नुपर्ने भन्दै भ्रम सिर्जना गरेकी थिइन् । 

नेपालका विभिन्न जिल्लामा उनको ठगी धन्दा सक्रिय 

काठमाडौंमा महानगरीय प्रहरी परिसरमा पक्राउ परेकी विद्या शर्माले देशका अन्य विभिन्न जिल्ला र काठमाडौंमा समेत ठगी धन्दा सञ्चालन गरेको खुलेको छ । उनी पक्राउ परेसँगै विभिन्न उजुरीहरू काठमाडौंमा र अन्य जिल्लाहरूमा थपिने क्रम जारी रहेको प्रहरीले जनाएकाे छ ।