१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अहिले भइरहेको विद्युत् अवरोध प्राविधिक समस्या हो, लोडसेडिङ होइन : प्राधिकरण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२२:oo

नेपाल विद्युत् प्राधिकरणले १३ र १४ पुसमा राष्ट्रिय विद्युत् प्रणालीमा आएको अवरोध लोडसेडिङ नभएर प्राविधिक समस्या मात्रै भएको दाबी गरेको छ । राष्ट्रिय विद्युत् प्रणालीको भारवहन क्षमताभन्दा बढी विद्युत् प्रवाह हुँदा केहीबेर विद्युत् प्रसारण र आपूर्तिमा अवरोध आएको र त्यो लोडसेडिङ नभएको प्राधिकरणले बताएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले भनेको छ, ‘हाल मुलुकमा विद्युत्को माग जति छ, सोबराबर प्राधिकरण तथा निजी ऊर्जा उत्पादकको उत्पादन तथा भारतबाट आयात भएको बिजुलीबाट पूर्ति भइरहेको छ, मागबराबर विद्युत् आपूर्ति भइरहेको कारणले लोडसेडिङ भएको छैन र भविष्यमा पनि गरिनेछैन ।’

आपूर्तिमा भएको समस्या निराकरणका लागि प्राधिकरण प्रयासरत रहेको पनि उसले जनाएको छ । हाल प्रसारण र आपूर्तिमा आएको समस्या समाधान भइसकेको पनि प्राधिकरणले जनाएको छ । ‘नेपालमा कुनै पनि प्रकारको लोडसेडिङ हुँदैन,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

चार वर्षअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँग सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि मुलुकमा लोडसेडिङ अन्त्य गर्ने काम सुरु भएको थियो । सुरुमा काठमाडौं उपत्यकामा लोडसेडिङ हटाइएकोमा बिस्तारै घिसिङले मुलुकलाई नै लोडसेडिङमुक्त बनाए ।

तर, गत भदौमा घिसिङले अवकाश पाए, ओली सरकारले उनको कार्यकाल थप गरेन । यससँगै फेरि पनि लोडसेडिङ सुरु भएको छ । विगतमा प्राधिकरणले लोड व्यवस्थापनका लागि छोटो समयका लागि विद्युत् कटौती हुने गरेको (फोर्स लोडसेडिङ) अनौपचारिक रूपमा बताउने गरे पनि बिहीबार भने यससम्बन्धी सूचना नै जारी गर्‍यो ।

सूचनामा ‘बानेश्वर सबस्टेसनको लोड व्यवस्थापनका लागि लगनखेल वितरण केन्द्रअन्तर्गतको चापागाउँ फिडर बिहान ९ बजेदेखि १० बजेसम्म, हरिसिद्धि फिडर दिउँसो १२ देखि २ बजेसम्म र रेडियो नेपाल फिडर १२ देखि ३ बजेसम्म सटडाउनमा राख्नुपर्ने भएकाले सो क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ’ उल्लेख थियो ।

अघिल्ला दिनहरूमा बानेश्वर सबस्टेसनअन्तर्गत पटकपटक बिजुली गएपछि प्राधिकरणले ती फिडर बन्द गराएको थियो । प्राधिकरणले ललितपुरका तीन फिडरबाट एक घन्टादेखि तीन घन्टासम्म विद्युत् अवरुद्ध हुने सूचना निकाले पनि दिनभर विद्युत् अवरुद्ध थियो ।

ad
ad