१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ पौष १४ मंगलबार १२:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाथीभरा क्षेत्रमा लागेको आगो अझै नियन्त्रणबाहिर, पानी तथा हिउँ नपरे नियन्त्रणमा नआउने 

Read Time : > 1 मिनेट
२०७७ पौष १४ मंगलबार १२:२७:००

प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जंगलमा लागेको आगोले हजारौँ पशुपक्षी मरेको अनुमान गरिएको छ । 

विश्वमा दुर्लभ मानिएको रेडपाण्डा साथै अन्य जनावर तथा चराचुरुंगीहरू मरेको अनुमान गरिएको हो ।  यो पर्यटकीय क्षेत्र पाथीभरामा लागेको आगलागीले जिल्ला तथा देशलाई ठूलो क्षति भएको बताइन्छ । 

आगो अहिले पनि अनियन्त्रित छ । पाथीभरा क्षेत्रको फावाखोला जंगल डढिसकेर सिकैचा क्षेत्रको जंगल डढिरहेको छ । आगो अनियन्त्रित हुदै जाँदा गाउँतर्फ पस्ने हो कि भन्ने आशंका बढ्दै गएको छ । 

सिकैचा क्षेत्रको जंगल पार गर्दै उत्तरपट्टिको तापेथोक क्षेत्रतर्फ आगो बढिरहेको छ । नियन्त्रणबाहिर गएपछि गाउँ पस्ने खतरा अझै बढेको छ ।  

आगो रूखको टुप्पोटुप्पोमा बलेको छ । एक क्षेत्रमा बल्दाबल्दै हावाको झोक्काले अर्को क्षेत्रमा प्रवेश गर्ने गरेकाले पनि आगो अनियन्त्रित भएको बताइन्छ । 

पाथीभरा देवीको मुख्य थान आगो लागे पनि अहिले पूजा गरिँदै आएको मन्दिरमा भने अग्निरेखा बनाएर भए पनि जोगाउने प्रयास गरिएको छ । 

पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले कुनै अवस्थामा आगो नियन्त्रणमा ल्याउन कठिन हुने बताए । 

हिउँ अथवा पानी परे मात्र आगो नियन्त्रमा आउने काफ्लेको भनाइ छ । 

पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जंगलमा आगो प्रवेश गरेमा मानव बस्तीमा पनि क्षति हुने अनुमान गरिएको छ । 

आगाे नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी साथै स्थानीयवासीको बाक्लो उपस्थिति छ । 

काठमाडाैंबाट आएको सिम्रिक एयरको हेलिकाेप्टरले आगो नियन्त्रण गर्न खोजे पनि नियन्त्रण नभएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए । 

हिजो सोमबार हेलिकाेप्टरबाट केही पानी खसालिएको भए पनि काम नगरेको प्रजिअ चापागाईंले बताए । 

आज पनि पाथीभराको पश्चिमपट्टि रहेको मयाम पातालतर्फ जान नदिन प्रयास गरिने प्रजिअ चापागाईंले बताए । 
आवश्यकताअनुसार हेलिकाेप्टरबाट पानी खसालिनेसमेत उनले बताए । 

बिहीबारबाट फुङलिङ नगरपालिका– ११ को फावाखोलास्थित सिम्बु सामुदायिक वन क्षेत्रमा सुरु भएको डढेलो नियन्त्रणबाहिर गई मन्दिरनजिकै पुगेको हो । 

कहाँबाट र कसरी आगलागी सुरु भयो भन्नेबारे अनुसन्धान भइरहेको पनि प्रजिअ चापागाईंले बताए ।