१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १४ मंगलबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १४ मंगलबार o६:३२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

युरियाको चरम अभाव हुँदा पनि धान उत्पादन बढेको दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १४ मंगलबार o६:३२:oo

यस वर्ष हिउँदे र चैते धानको उत्पादन ५६ लाख २१ हजार ७ सय मेट्रिकटन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यो वर्ष असारमा धान रोप्न किसानले युरियाको चरम अभाव भोगेका थिए । धान रोप्न र गोड्न युरिया अभाव हुँदा तराईका किसानहरूले भारतबाट तस्करीमार्फत भित्रिएको युरियाको भर पर्नुपरेको थियो । तर, पहाडी तथा हिमाली जिल्लाका किसानले भने युरिया अभावकै कारण उत्पादन राम्रो गर्न सकेनन् ।

तराईका धानमा यो वर्ष बाली नलाग्ने रोगसमेत भित्रिएको थियो । यी समस्याका बाबजुद गत वर्षको तुलनामा ७० हजार ८ सय मेट्रिकटन धान बढी उत्पादन भएको मन्त्रालयले जनाएको छ । गत वर्ष ५५ लाख ५० हजार ८ सय मेट्रिकटन धान उत्पादन भएको थियो ।

मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले धान उत्पादनको क्षेत्रफल बढेको र उत्पादकत्वमा समेत सुधार भएकाले समग्र उत्पादन बढेको बताए । ‘यो वर्ष बढी क्षेत्रफलमा धान लागेको छ । बाढीपहिरोले धान लगाएको ठाउँमा कटान वा क्षति पनि गरेको छैन,’ उनले भने, ‘रोपाइँका लागि मनसुन पनि छिट्टै भयो भने उत्पादकत्वमा पनि ठूलो सुधार भएकाले उत्पादन बढी भएको हो ।’

यो वर्ष समयमै मनसुनले साथ दिएकाले उत्पादन वृद्धिका लागि सहयोग मिलेको हो । ३१ जेठबाट धानका लागि मनसुन सुरु भएको र गत वर्षभन्दा ३१ प्रतिशत बढी वर्षा भएकाले धानखेती अनुकूल भएको मन्त्रालयको भनाइ छ । यो वर्ष कुल १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

मन्त्रालयले तराईका जिल्लामा उत्पादनमा सुधार भएकाले समग्र उत्पादन राम्रो देखिएको दाबी गरेको छ । ‘बढी क्षेत्रफलमा रोपाइँ हुनुका साथसाथै धानबालीमा तथ्यांकीय हिसाबले उन्नत बिउले ९५ प्रतिशतभन्दा बढी क्षेत्रफल ढाकेको, धानबालीको सिजनमा गत सालभन्दा न्यून युरिया आपूर्ति हुँदा पनि राष्ट्रको धानबालीको कुल उत्पादनमा ७० प्रतिशत योगदान रहेको तराईका जिल्लाहरूमा सिमानापारिबाट अनौपचारिक रूपमा रासायनिक मल किसानले ल्याई असहजतालाई पूर्ति गरेको पाइएको छ,’ मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ ।

उत्पादन वृद्धि भएसँगै उत्पादकत्वमा समेत सुधार भएको छ । यो वर्ष धानको उत्पादकत्व ३.८२ प्रतिशत रहेको छ । गत वर्ष ३.८० मात्र रहेको थियो । त्यस्तै, नयाँ प्रजाति र बढी उत्पादन हुने बिउको प्रतिस्थापन दर २३.४२ प्रतिशत पुग्नुले पनि उत्पादकत्व वृद्धिमा सघाउ पुगेको मन्त्रालयको भनाइ छ ।

 प्रदेश–२ मा सबैभन्दा बढी उत्पादन
प्रदेश–२ ले धान उत्पादन बढी हुने सूचीमा अग्रस्थान हासिल गरेको छ । यो प्रदेशमा तराईका जिल्ला मात्र रहेकाले उत्पादन बढी देखिएको हो । तराईलाई सबै प्रकारका बालीका लागि उर्वर भूमि मानिन्छ । प्रदेश–२ मा १४ लाख ३२ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।

त्यसैगरी, सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाका रूपमा सूचीकृत झापा, मोरङ र सुनसरी रहेको प्रदेश–१ मा १२ लाख ७५ हजार टन धान उत्पादन भएको छ । बागमती प्रदेशमा ५ लाख ९ हजार, गण्डकी प्रदेशमा ३ लाख ९७ हजार, लुम्बिनीमा १२ लाख २४ हजार, कर्णालीमा १ लाख ३७ हजार र सुदूरपश्चिममा ६ लाख ४४ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।