मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष ३ शुक्रबार ०५:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालले श्रीलंकाबाट  सिकोस् : भारतीय जनरल रावत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष ३ शुक्रबार ०५:५१:००

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले नेपालले चीनसँग गरेको बिआरआई सम्झौतातर्फ लक्षित गर्दै श्रीलंकाबाट पाठ सिक्न सुझाब दिएका छन् । नयाँदिल्लीको सेन्टर फर ल्यान्ड वारफेयर स्टडिज तथा नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोपरेसन एन्ड इन्गेजमेन्टद्वारा बिहीबार आयोजित कार्यक्रममा बोल्दै जनरल रावतले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सम्बन्धको पनि बचाउ गरेका छन् । 

नेपाल–भारत सम्बन्धलाई पुनः परिभाषित गर्ने गरी दुई देशका प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार गरेको प्रतिवेदन बुझ्न भारतले आनाकानी गरेका वेला जनरल रावतले खुला सिमाना, सन् १९५० को सन्धि, गोर्खा भर्तीलगायतले दुई देशको सम्बन्ध विशिष्ट बनाएको तर्क गरेका छन् । रावत भारतीय सेनाका सर्वोच्च अधिकारी हुन् । भारतीय सेनाध्यक्ष रहँदा उनी तीन वर्षअघि नेपाली सेनाको मानार्थ जनरलबाट विभूषित भएका थिए । 

सुदूरपश्चिमको सीमावर्ती भारतीय राज्य उत्तराखण्डका बासिन्दा रावतले चीनतर्फ हिमाली अवरोध भएको भन्दै नेपालको भारतसँग सहज सम्बन्ध थप सुदृढ गर्नुपर्ने पनि सुझाब दिएका छन् । ‘चीनसँग भौगोलिक रूपमा उत्तरी हिमाली अवरोध छ, तर भारतको गंगा मैदान जोड्ने सहज सिमाना छ,’ रावतको भनाइ थियो । 

नेपालले अन्य मुलुकसँग सम्झौता गर्दा सतर्क हुनुपर्ने उनको तर्क थियो । ‘वर्तमान समयमा नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीतिका आधारमा चीनलगायत अन्य देशसँग सम्बन्ध विस्तार गरिरहेको छ । अन्तर्राष्ट्रिय मामिलामा नेपाल आफ्नो छनोटको प्रयोग गर्न स्वतन्त्र छ,’ जनरल रावतले भने, ‘तर, नेपालले यो क्षेत्रका मुलुकसँग श्रीलंका र अन्य राष्ट्रले गरेको सम्झौताका केही घटनाबाट सिक्नुपर्छ र नेपाल सतर्क हुनुपर्छ ।’ उनले चीन र बिआरआईको नाम भने लिएनन् । नेपाल ०७३ मा बिआरआईमा प्रवेश गरेको हो भने भारत बिआरआईमा सहभागी भएको छैन । 

जनरल रावतले नेपाल र भारतका जनताको शान्ति र समृद्धिका लागि हरेक तवरमा पहिलेदेखिको सम्बन्धलाई अझ सुदृढ पार्नु आवश्यक रहेको बताए । भारतीय सेनाको गोर्खा बटालियनका कमान्डर रहिसकेका जनरल रावतले भने, ‘भारत र नेपालबीचको स्थलाकृति सीमांकनको सट्टा एक पारिस्थितिकीय निरन्तरता हो । किनकि यो सामाजिक–सांस्कृतिक निरन्तरतामा आधारित छ ।’ 

जनरल रावतले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिले भारतमा नेपालीलाई उल्लेख्य फाइदा भएको बताए । ‘सन् १९५० को सन्धिले नेपाल–भारत विशेष सम्बन्धको पृष्ठभूमि तय गरेको छ,’ जनरल रावतले भने, ‘यो सन्धिको प्रावधानअनुसार भारतमा नेपाली नागरिकले भारतीय नागरिकसरह अनुपम फाइदा लिइरहेका छन् ।’ यो सन्धिले नै नेपाललाई भूपरिवेष्टित मुलुक भएको बेफाइदाबाट पार लगाएको उनको जिकिर थियो । 

उनले रक्षा क्षेत्रमा नेपाल र भारतबीच बृहत्तर सम्बन्ध रहेको भन्दै नेपाली सेनाको संगठन, सैनिक प्रशिक्षण, अभ्यासमा भारतले सहयोग गर्दै आएको र निरन्तर रहने पनि बताए । भारतीय सेनाअन्तर्गतका सात गोर्खा रेजिमेन्टका ३६ बटालियनमा हाल ४२ हजार नेपाली नागरिक रहेको रावतले उल्लेख गरे । ‘भारतीय सेनाको जवान र अधिकृत तहमा नेपाली सेनाको भर्तीले दुई देशको सम्बन्ध विशिष्ट बनाएको छ,’ रावतले भने । भारतीय सेनामा कार्यरत नेपालीको इमानदारिता, बफदारी, मिहिनेतको प्रशंसा गर्दै जनरल रावतले गोर्खालीहरूको वीरता विश्वमै अनुकरणीय भएको उल्लेख गरे ।

कार्यक्रममा पूर्वराजदूत शम्भुराम सिंखडाले नेपालले भारतको सुरक्षा चासो सम्बोधन गर्नुपर्ने तथा भारतले नेपालको स्वतन्त्र हैसियतलाई आत्मसात् गर्नुपर्ने सुझाब दिए । उनले दुई देशबीच सभ्यता र संस्कृतिको सम्बन्धबारे चर्चा गरेका थिए । अन्तर्राष्ट्रिय मामिलाका जानकार डा. प्रमोद जैसवालले दुई देशबीच साझा मनोविज्ञान र साझापन रहेको भन्दै सहकार्यको विकल्प नभएको उल्लेख गरे ।