मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष २ बिहीबार १९:१३:००
Read Time : > 3 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त ह्वाटमोर को हुन् ?

Read Time : > 3 मिनेट
२०७७ पौष २ बिहीबार १९:१३:००

नेपाल क्रिकेट संघ (क्यान)ले रिक्त रहेको मुख्य प्रशिक्षकमा डेभ ह्वाटमोरलाई नियुक्त गरेको छ । क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वचर्चित खेलाडी तथा विश्व च्याम्पिनय प्रशिक्षक ह्वाटमोरलाई प्रशिक्षणको मुख्य जिम्मेवारी दिएको जनाएको छ । क्यानमा मुख्य प्रशिक्षक बन्ने दौडमा ७२ जना व्यक्तिले आवेदन दिएका थिए । यसक्रममा पूर्वमुख्य प्रशिक्षक पुबुदु दासानायके पनि समावेश थिए । यसैगरी अपूर्व सुबोध र नेइल क्र्याके पनि थिए । 

श्रीलंकाली मुलकका अस्ट्रेलियन ह्वाटमोरले सर्टलिस्टमा अन्तर्वार्तामा आएका १२ जनालाई पछि पार्दै मुख्य प्रशिक्षक जिम्मेवारी पाएका हुन् । ह्वाटमोरले प्रतिमहिना १० हजार डलर पारिश्रमिकका रूपमा पाउने सम्भावना छ । क्यानले मुख्य प्रशिक्षकको करलगायत अन्य सुविधापछि मात्र प्रतिमहिनाको पारिश्रमिक तोक्नेछ । नेपाली टोली एक वर्षदेखि नै मुख्य प्रशिक्षकविहीन थियो । गत माघमा नेपालले आइसिसी विश्वकप लिग– २ मा ओमान र अमेरिकाविरुद्धको प्रतिस्पर्धा गरेको थियो । त्यसवेला नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवाल थिए । उनले त्यस सिरिजपछि पदबाट राजीनामा दिएका थिए । यसबीचमा नेपाली टोलीको जिम्मेवारी जगत टमाटाले सम्हाले । 

क्यानले भर्चुअलबाट लिइएको अन्तर्वार्तामा अन्तिम सूचीमा ह्वाटमोरसँगै भारतका अपूर्व तथा बेलायती निललाई राखेको थियो । क्यानले ह्वाटमोरलाई बस्ने तथा अन्य सुविधा प्रबन्ध गर्ने सर्तमा मुख्य प्रशिक्षकका रूपमा भित्र्याएको हो । क्यान र ह्वाटमोरबीच पहिलो चरणको सम्झौता एक वर्षको हुनेछ । यो सम्झौता २०२१ को जनवरी १ देखि नै लागू हुनेछ । यसकारण ह्वाटमोर आफ्नो जिम्मेवारी सम्हाल्न १ जनवरीअगाडि नै नेपाल आउन सक्नेछन् । 

यसैगरी क्यानले महाप्रबन्धकमा रौनक मल्ल, क्रिकेट टिम व्यवस्थापनमा विनोद दास तथा प्रमुख वित्तीय अधिकृतमा रमेशकुमार न्यौपानेलाई नियुक्त गरेको छ । उनीहरूको नियुक्ति पनि १ जनवरीदेखि नै लागू हुने क्यानले जनाएको छ । 

ह्वाटमोरद्वारा एकदिवसीय फर्म्याट नै परिवर्तन
एकदिवसीय क्रिकेटको पावर प्लेमा छिटो रन बनाउने रणनीति नै ह्वाटमोरले ल्याएका हुन् । सन् १९९६ को विश्वकप क्रिकेटमा ह्वाटमोरले पहिलो १५ ओभरभित्र आक्रामक ब्याटिङ नीति अपनाएका थिए । त्यसवेला उनी श्रीलंकाका प्रमुख प्रशिक्षक थिए । श्रीलंकाले त्यो समयमा विश्वकप उपाधि जित्छ भनी कसैले पनि पत्याएका थिएनन् । तर, ह्वाटमोरले आधुनिक क्रिकेटकै दोस्रो फर्म्याट एकदिवसीय क्रिकेटलाई आक्रामक रूपमा रूपान्तरण गरे । 

उनले ओपनर सनथ जयसूर्या तथा कालुविथ रानालाई ओपनिङमा मात्र पठाएनन् । ह्वाटमोरले इनिङ्सको पहिलोदेखि अन्तिम बलसम्म नै आक्रामक रूपमा ब्याटिङ गर्ने परम्परा ब्याट्सम्यानहरूलाई सिकाए । यसैकारण सन् १९९६ को विश्वकपमा श्रीलंकाले उपाधि दाबेदार मानिएको भारत, वेस्टइन्डिज, न्युजिल्यान्ड तथा अस्ट्रेलियालाई सहजै पराजित गर्दै पहिलोपटक एकदिवसीय विश्वकप ट्रफी उचाल्यो । 

सन १९५४ मा ह्वाटमोर श्रीलंकाको कोलम्बोमा जन्मेका हुन् । अस्ट्रेलिया बसाइँसराइ गरेका ह्वाटमोरले अस्ट्रेलियाकै राष्ट्रिय टोलीबाट पनि खेले । उनले एक दशक लामो क्रिकेट यात्रा १९८९ मा समाप्त पारे । प्रशिक्षणमा रमाएका ह्वाटमोर १९९६ मा श्रीलंकाली टोलीकै प्रशिक्षक बने । त्यसपछि ह्वाटमोर इंग्लिस काउन्टीअन्तर्गत लंकासायेरको प्रशिक्षक बने । उनले लंकासायेरलाई दुई राष्ट्रिय लिग र नेटवेस्ट उपाधि दिलाए । 

तीन वर्षपछि श्रीलंकाले पुनः एकपटक ह्वाटमोरलाई विश्वास ग¥यो । इंग्ल्यान्डमा आयोजना हुने विश्वकपमा उनलाई श्रीलंकाली टोलीको मुख्य प्रशिक्षकका रूपमा चयन ग¥यो । तर, यसपटक चामत्कारिक नतिजा उनले इंग्लिस भूमिमा दिलाउन सकेनन् । सो विश्वकपमा श्रीलंका सेमिफाइनलसम्म पुग्न सकेन । यद्यपि अघिल्लो विश्वकपमा सफलता नचुमे पनि उनले २००३ को विश्वकपमा फेरि अवसर पाए । यसपटक श्रीलंका उनको प्रशिक्षणमा सेमिफाइनलसम्म पुग्यो । 

भारतलाई यू–१९ विश्वकप 
श्रीलंकाको टोलीका लागि ह्वाटमोर जादुगरी प्रशिक्षक नै थिए । दक्षिण एसियामा ह्वाटमोरको ख्याति धेरै थियो । उनको प्रशिक्षणबाट प्रभावित बंगलादेश पनि अछुतो भएन । बंगलादेशले ह्वाटमोरलाई टोली सम्हाल्न प्रस्ताव पठायो । ह्वाटमोर नयाँ चुनौती स्वीकार गर्दै बंगलादेशलाई प्रशिक्षण दिन पुगे । सन् २००५ मा बंगलादेशले इतिहासमै पहिलो टेस्ट सिरिज जित्दा जिम्बाबेलाई हरायो । यस सफलतामा ह्वाटमोरकै योगदान अधिक रहेको मानियो । सोही वर्ष बंगलादेशले कार्डिफमा अस्ट्रेलियालाई एकदिवसीय खेलमा हरायो । 

सन् २००७ मा वेस्टइन्डिजमा पहिलोपटक एकदिवसीय विश्वकप भयो । यस विश्वकपमा बंगलादेश डार्कहर्सका रूपमा देखियो । बंगलादेश सुपर एटसम्म पुग्दा ह्वाटमोर पुनः एकपटक चम्किए । किनभने त्यसवेला सुपर एटमा बंगलादेशले स्थान बनाउँदा भारत र पाकिस्तान पहिलो चरणबाटै बाहिरिएका थिए । 

विश्वकपबाट बाहिरिएपछि भारतमा नयाँ प्रशिक्षकको खोजी भयो । यसमा ह्वाटमोर निकै अगाडि थिए । यसैगरी इंग्ल्यान्डले पनि एकपटक ह्वाटमोरलाई नै मुख्य प्रशिक्षक बनाउने कोसिस नगरेको होइन । 

भारतले मुख्य प्रशिक्षक नबनाए पनि नेसनल क्रिकेट एकेडेमीका रूपमा ह्वाटमोरलाई भित्र्याएको थियो । ह्वाटमोरले यू–१९ राष्ट्रिय टोली हेरे । सोही वर्ष नै भारतले २००८ मा मलेसियामा यू–१९ विश्वकप एकदिवसीय जित्यो । भारतले ह्वाटमोरको प्रशिक्षण तथा विराट कोहलीको कप्तानीमा विश्वकप जितेको हो । 

त्यसपछि ह्वाटमोर इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सका प्रशिक्षक बने । दुई संस्करण प्रशिक्षण दिएका ह्वाटमोर २०१२ मा पाकिस्तान टोलीका प्रशिक्षक बने । उनको प्रशिक्षणमा पाकिस्तानले एसिया कप जितेको थियो । पाकिस्तानपछि उनले जिम्बाबे टोली हेरे । 

अस्ट्रेलियाबाट डेब्यु
ह्वाटमोरले सन् १९७९ मा अस्ट्रेलियन टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलमा डेब्युको अवसर पाए । उनले मेलवर्न टेस्टमा पाकिस्तानविरुद्ध डेब्यु गरे । अस्ट्रेलियन टोलीबाट एक वर्ष मात्र टेस्ट खेलेका ह्वाटमोरले सन् १९७९ कै नोभेम्बरमा भारतविरुद्ध करिअरकै अन्तिम टेस्ट खेले । सन् १९८० मा उनले एक मात्र एकदिवसीय खेल खेले । त्यो वर्षको जनवरीमा वेस्टइन्डिजविरुद्ध एकदिवसीयमा डेब्यु अवसर पाए । यसमा उनले एक रन मात्र जोडे । ह्वाटमोरले सात टेस्टमा दुई सय ९३ रन बनाए । पहिलो श्रेणीमा उनी राम्रा खेलाडी मानिन्छन् । उनले पहिलो श्रेणीमा १० शतकको साथमा ६ हजार रन बनाएका थिए ।