मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ३० आइतबार
  • Sunday, 13 June, 2021
२०७७ पौष २ बिहीबार १२:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिआरआईबारे भारतीय जनरल रावतको सुझाब : नेपालले श्रीलंकाबाट पाठ सिकोस् 

Read Time : > 1 मिनेट
२०७७ पौष २ बिहीबार १२:२७:००

भारतीय सेनाको चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले नेपालले चीनसँग गरेको बिआरआई सम्झौतातर्फ लक्षित गर्दै श्रीलंकाबाट पाठ सिक्न सुझाब दिएका छन् । 

नयाँदिल्लीको सेन्टर फर ल्यान्ड वारफेयर स्टडिज तथा नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोअपरेसन एन्ड इंगजमेन्टद्वारा आज बिहान आयोजित सेमिनारमा रावतले नेपाल र भारतको विद्यमान सम्बन्ध थप सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । 

जनरल रावतले नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० दुई देशको विशेष सम्बन्धको पृष्ठभूमि भएको भन्दै बचाउसमेत गरेका छन् । 

जनरल रावतले चीनसँग भौगोलिक रूपमा उत्तरी हिमाली अवरोध र भारतको गंगा मैदान जोड्ने सहज सिमानालाई बुझ्न पनि नेपाललाई सुझाब दिएका छन् । 

‘वर्तमान समयमा नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीतिको आधारमा चीनलगायत अन्य देशहरूसँग सम्बन्ध विस्तार गरिरहेको छ, अन्तर्राष्ट्रिय मामिलामा नेपाल आफ्नो छनाेटको प्रयोग गर्न स्वतन्त्र छ,’ जनरल रावतले भने, ‘तर, नेपालले यो क्षेत्रका मुलुकहरूसँग श्रीलंका र अन्य राष्ट्रहरूले गरेको सम्झौताका  केही घटनाहरूबाट सिक्नुपर्छ र नेपाल सतर्क हुनुपर्छ ।’ 

जनरल रावतले चीन र चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई)को नाम लिएनन् । 

नेपाल ०७३ सालमा बिआरआईमा प्रवेश गरेको हो भने भारत बिआरआईमा सहभागी भएको छैन ।

जनरल रावतले थपे, ‘अर्कोतर्फ दुवै देश (नेपाल र भारत)का जनताको शान्ति र समृद्धिका लागि हरेक तवरमा पहिलेदेखिको विद्यमान सम्बन्धलाई अझ सुदृढ पार्नु आवश्यक छ ।’ 

जनरल रावतले  नेपालको सिमाना भारत र चीनसँग तुलना गर्न नसकिने पनि बताए । 

‘चीनसँग नेपालको उत्तरी सीमा क्षेत्रमा हिमालयको अवरोध छ भने नेपालको दक्षिणी परिधि भारतको गंगा मैदानसँग खुला र सहज छ,’ भारतीय सेनाको गोर्खा बटालियनका कमान्डर रहिसकेका जनरल रावतले भने, ‘भारत र नेपालबीचको स्थलाकृति सीमांकनको सट्टा एक पारिस्थितिकीय निरन्तरता हो । किनकि यो सामाजिक सांस्कृतिक निरन्तरतामा आधारित छ ।’  

जनरल रावतले १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिले भारतमा नेपालीहरूलाई उल्लेख्य फाइदा भएको भन्दै तारिफ गरे ।

‘सन् ५० को सन्धिले नेपाल–भारत विशेष सम्बन्धको पृष्ठभूमि तय गरेको छ,’ जनरल रावतले भने, ‘यो सन्धिको प्रावधानअनुसार भारतमा नेपाली नागरिकले भारतीय नागरिकसरह अनुपम फाइदा लिइरहेका छन् ।’ 

रावतले नेपाल–भारत खुला सिमानाले समेत जनस्तरको विशेष सम्बन्ध स्थापित गरेको पनि उल्लेख गरेका छन् । 

रावतले सन् ५० को सन्धिले नै नेपाललाई भूपरिवेष्टित मुलुक भएको बेफाइदाबाट नेपाललाई पार लगाएकोसमेत जिकिर गरे । रावतले भारतमा करिब ८० लाख नेपाली रहेकोसमेत दाबी गरे । 

उनले रक्षा क्षेत्रमा नेपाल र भारतबीच बृहत्तर सम्बन्ध रहेको भन्दै नेपाली  सेनाको संगठन, सैनिक प्रशिक्षण, अभ्यासमा भारतले सहयोग गर्दै आएको र निरन्तर रहने पनि उल्लेख गरे । 

भारतीय सेनाअन्तर्गतका सात गोर्खा रेजिमेन्टका ३६ बटालियनमा हाल ४२ हजार नेपाली नागरिक रहेको रावतको भनाइ थियो । 

‘भारतीय सेनाको जवान र अधिकृत तहमा नेपाली सेनाको भर्तीले दुई देशको सम्बन्ध विशिष्ट बनाएको छ,’ रावतले भने । 

भारतीय सेनामा कार्यरत नेपालीहरूको इमान्दारिता, बफादारी, मिहिनेतको प्रशंसा गर्दै जनरल रावतले गोर्खालीहरूको वीरता विश्वमै अनुकरणीय भएको उल्लेख गरे ।