यसरी गरौँ सेयर छनोट

२०७५ माघ २६ शनिबार ०८:०६:००

सेयर बजारमा यति वेला मन्दी छाएको छ । बजारमा सेयरको माग कम र आपूर्ति बढी हुँदा सेयर बजार परिसूचक नेप्से घटेको छ । सोहीकारण धेरै लगानीकर्ता बजारबाट बाहिरिएका छन् भने केही पर्ख र हेरको अवस्थामा छन् । तर, बजारको यस्तै घट्दो प्रवृत्ति नै सेयर खरिद गर्ने सबैभन्दा उपयुक्त समय भएको सेयर विश्लेषकहरू बताउँछन् । यति वेला राम्रा कम्पनीहरूका सेयर मूल्य पनि न्यून मूल्यमा झरेका छन् । त्यसैले उपयुक्त कम्पनीको छनोट गरी सेयर खरिद गर्नु यो उचित समयमा भएको विश्लेषकहरूको भनाइ छ । तर, सेयर खरिद गर्दा कम्पनीको अध्ययन आवश्यक छ । सेयर मूल्य कम हुँदैमा कम्पनी नराम्रो हुने वा सेयर मूल्य बढी हुँदैमा कम्पनी राम्रो हुने भन्ने हुँदैन । कम्पनीको वित्तीय सूचक र व्यवस्थापन हेरेर कम्पनी छनोट गर्नुपर्छ । जसमध्ये निम्न सूचकहरू महत्वपूर्ण छन् : 

लाभांशको इतिहास
कुनै पनि कम्पनीको सेयर खरिद गर्दा कम्पनीले वितरण गर्ने लाभांशको इतिहास हेर्नुपर्छ । कम्तीमा पनि कम्पनीको विगत ५ वर्षको अवधिको लाभांशको अवस्थाको अध्ययन गर्नुपर्छ । विगत पाँच वर्षदेखि निरन्तर लाभांश वितरण गरेको कम्पनीमा छनोट गर्नुपर्छ । कतिपय कम्पनीले केही वर्ष लाभांश दिँदैनन् । कुनै वर्ष भने राम्रो लाभांश वितरण गर्छन् । यस्ता कम्पनी लामो अवधिको लगानीका लागि उपयुक्त हुँदैन । किनभने, अर्को वर्ष उक्त कम्पनीले लाभांश नदिन पनि सक्छ । त्यसैले लगानी गर्दा निरन्तर रूपमा लाभांश वितरण गरेको कम्पनी छनोट गर्नुपर्छ । 

 आम्दानीको स्रोत
कम्पनीको वित्तीय अवस्था राम्रो छ कि छैन भनेर देखाउने अर्को मुख्य सूचकमध्ये आम्दानीको स्रोत पनि एक हो । बैंक तथा वित्तीय संस्थाको हकमा ब्याज आम्दानी, बिमा कम्पनीको हकमा बिमाशुल्क आर्जन र जलविद्युत् कम्पनीको हकमा विद्युत् बिक्री आम्दानी मुख्य स्रोत हुन् । यस्तो आम्दानी निरन्तर रूपमा बढेको छ–छैन अध्ययन गर्नुपर्छ । कम्पनी छनोट गर्दा विगत पाँच वर्षमा आम्दानीको स्रोत तुलनात्मक रूपमा बढेको कम्पनी गर्नुपर्छ ।

प्रतिसेयर आम्दानी
प्रतिसेयर आम्दानीले कम्पनीको वितरण गर्ने लाभांशको अनुमान गर्न सकिन्छ । तर, जीवन बिमा कम्पनीको हकमा भने विमांकी मूल्यांकनपछिको तथ्यांक मात्रै विश्वसनीय हुन्छ । प्रतिसेयर आम्दानी भनेको कम्पनीको एक कित्ता सेयरबराबरको आम्दानी हो । कम्पनीको खुद नाफालाई कम्पनीको सेयर संख्याले भाग गर्दा आउने भागफल नै प्रतिसेयर आम्दानी हो । जस्तै, कुनै कम्पनीको एक वर्षको आम्दानी १ हजार रुपैयाँ छ र कम्पनीको सेयर संख्या १ सय छ भने कम्पनीको एक कित्ता सेयरबराबरको आम्दानी भनेको १० रुपैयाँ हुन आउँछ । उक्त आम्दानीमा पनि कम्पनीले निश्चित रकम जगेडा कोषमा राख्छन् । त्यसैले प्रतिसेयर आम्दानी जति धेरै भयो, त्यति नै राम्रो मानिन्छ ।

 किताबी मूल्य
कम्पनीको सम्पत्तिबाट दायित्व घटाएपछि आउने अंक नै किताबी मूल्य अर्थात् नेटवर्थ पर सेयर हो । यो भनेको कम्पनीले आफ्नो वित्तीय विवरणका आधारमा तोकेको वास्तविक मूल्य हो । तर, बजारमा कम्पनीको सेयर मूल्य त्योभन्दा बढी वा घटी हुन सक्छ । त्यसैले वास्तविक मूल्यभन्दा तपाईं कति रकम बढी भुक्तानी गर्न तयार हुनुहुन्छ भन्ने कुरा तपाईंले निर्णय गर्न सक्नुहुन्छ । तर, यदि कम्पनीको किताबी मूल्य १५० छ र बजार मूल्य ५ सय रुपैयाँ छ भने पनि तत्काल कम्पनी खारेजी हुने अवस्थामा पुगेको खण्डमा कम्पनीले तपाईंलाई प्रतिकित्ता सेयर भुक्तानी गर्ने भनेको १ सय ५० रुपैयाँ नै हो । त्यसैले कति रकमसम्म बढी भुक्तानी गर्ने भन्ने निर्णय आफैँले गर्न सकिन्छ । तर, १ सयभन्दा कम किताबी मूल्य भएको सेयर भने खरिद गर्नु उपयुक्त हुँदैन । 

जगेडा कोष
कम्पनीको जगेडा कोष जति धेरै भयो, त्यति नै कम्पनी बलियो भएको जनाउँछ । त्यसैले कम्पनीको सेयर खरिद गर्नुअघि जगेडाका कोष हेर्नुपर्छ । कम्पनीको जगेडा कोष बढेको छ–छैन हेर्नुपर्छ । लगानी गर्दा जगेडा कोष निरन्तर रूपमा बढेको कम्पनीको सेयर छनोट गर्नुपर्छ । त्यस्तै, जगेडा कोष नकारात्मक भएका कम्पनीमा लगानी गर्नुहुँदैन । 

 निष्क्रिय कर्जा
कम्पनीले लगानी गरेको, तर भुक्तानी भएको रकमलाई निष्क्रिय कर्जा भनिन्छ । यसले कम्पनीको लगानी उठिरहेको छ वा छैन भनेर देखाउँछ । यदि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने हो भने ५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा भएको कम्पनी छनोट गर्नुहुँदैन । कर्जा भुक्तानी नभएका कम्पनी कुनै पनि समयमा धरापमा पर्न सक्छन् । 

 कम्पनीको व्यवस्थापन र सञ्चालक
कुनै पनि संस्था वा कम्पनीको सफलताको मुख्य आधार भनेको व्यवस्थापन र सञ्चालक हो । यदि कम्पनीमा कुशल व्यवस्थापन र सञ्चालक छ भने ढिलो–चाँडो कम्पनीले राम्रो मुनाफा आर्जन गर्न सक्छ । तर, खराब व्यवस्थापन र सञ्चालक भएको खण्डमा कम्पनी कुनै पनि समय डुब्न सक्छ । त्यसैले कम्पनीको व्यवस्थापन र सञ्चालकमा कस्ता खालका व्यक्तिहरू छन्, त्यसको पनि हेक्का राख्नुपर्छ । 

लगानीकर्ताको प्रकृति 
बजारमा विभिन्न खालका लगानीकर्ता हुन्छन् । कतिपय लगानीकर्ता बजारको उतार–चढाव मन पराउँछन् भने कतिपय लगानीकर्ता डराउँछन् । उतार–चढाव मन पराउने लगानीकर्ताले सानो पुँजी भएको कम्पनीमा लगानी गर्नु उपयुक्त हुन्छ । तर, उतार–चढाव मन नपराउने लगानीकर्ता ठूलो पुँजी भएको कम्पनी छनोट गर्नु उपयुक्त हुन्छ । 

 स्टक कर्नरबाट जोगिनुपर्छ
साना लगानीकर्ता साना पुँजी भएका कम्पनीमा फस्न सक्ने सम्भावना अधिक हुन्छ । सानो पुँजी भएका कम्पनीको प्रतिफल राम्रो हुने भएकाले साना लगानीकर्ता यस्तो कम्पनीमा आकर्षित हुन्छन् । तर, यस्तो कम्पनीमा ठूलो लगानीकर्ताले स्टक कर्नर गर्न सक्छन् । जस्तै, थोरै सेयर भएको कम्पनीको सेयर निश्चित लगानीकर्ता आफैँले खरिद गरी बजारमा कृत्रिम अभाव सिर्जना गरिदिन्छन् । र, पुनः मूल्य बढाएर बजारमा सेयर आपूर्ति गर्न थाल्छन् । साना लगानीकर्ताले भने बजारमा सेयरको आपूर्ति कम भएको ठानी महँगो मूल्यमा खरिद गर्न पुग्छन् । त्यसैले यस्तो अवस्थाबाट जोगिनुपर्छ । 

 पम्प एन्ड डम्पको जोखिम
कहिलेकाहीँ ठूला लगानीकर्ताले आफूसँग सेयर भएका कम्पनीका बारेमा बजारमा सकारात्मक हल्ला फिजाउँछन् । जसका कारण सेयर मूल्य बढ्छ । सेयर मूल्य बढेंसँगै ती लगानीकर्ताले आफ्नो सेयर बजारमा बिक्री गर्छन् । तर, बजारमा फैलाइएका समाचार भने वास्तविक हुँदैनन्, जसका कारण खरिद गरेका साना लगानीकर्ता जोखिममा पर्छन् । त्यसैले यस्तो जोखिमबाट पनि बच्नुपर्छ ।

मूल्य आम्दानी अनुपात
कम्पनीको मूल्य र आम्दानीको अनुपातले कम्पनीको वित्तीय अवस्थालाई प्रतिबिम्बित गर्छ । कम्पनीको बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने भागफल नै मूल्य आम्दानी अनुपात हो । अर्थात् कम्पनीको वास्तविक प्रतिकित्ता सेयर आम्दानीभन्दा बजार मूल्य कति गुणाले धेरै वा थोरै छ भन्ने कुरा मूल्य आम्दानी अनुपातले देखाउँछ । जस्तै, कुनै कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ छ र कम्पनीको बजार मूल्य ५ सय रुपैयाँ छ भने कम्पनीको मूल्य आम्दानी अनुपात ५० हुन आउँछ । यसले उक्त कम्पनीको सेयर मूल्य आम्दानीभन्दा ५० गुणा बढीमा बजारमा खरिद–बिक्री भएको देखाउँछ । यसले कम्पनीको सेयर मूल्य ओभरभ्यालुड छ भन्ने बुझाउँछ । सामान्यतया मूल्य आम्दानी अनुपात १० देखि २० गुणा बढीसम्म भएको राम्रो मानिन्छ । त्योभन्दा बढी मूल्य आम्दानी अनुपात भएको कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण मानिन्छ । १० गुणाभन्दा कम भए पनि लगानी गर्नु त्यति उपयुक्त हुँदैन । किनभने, १० गुणाभन्दा कम भएमा पनि कम्पनीको अवस्थामा केही गडबड भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।