१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ मङ्सिर २७ शनिबार ०२:०८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोभिडका कारण स्वदेश आएका नेपाली विद्यार्थी चीन फर्कन पाएनन्

चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी धेरै मर्कामा

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर २७ शनिबार ०२:०८:००

कोरोना महामारीका कारण स्वदेश फर्किएका चीनमा अध्ययनरत नेपाली विद्यार्थी पुनः फर्किन समस्या भएको छ । दश महिनाअघि घर फर्केका नेपालीसहित विदेशी विद्यार्थीको भिसा चीनले रद्द गरेको थियो । पढाइलाई निरन्तरता दिन अहिले फर्किन खोज्दा भिसा दिएको छैन । 

चीनका विभिन्न सहरका विश्वविद्यालयमा चिकित्सा शिक्षादेखि सामाजिक शास्त्रसम्म अध्ययन गर्ने सयौँ विद्यार्थी कोरोना महामारीपछि स्वदेश फर्किएका थिए । बेइजिङस्थित नेपाली दूतावासका अनुसार महामारी नियन्त्रणमा आएपछि करिब १२ सय नेपाली विद्यार्थीले चीन फर्किन अनुमति मागेका छन् । तर, चीनले भिसा दिएको छैन । 

एमबिबिएसदेखि एमडीको अध्ययन सकेर इन्टर्न गर्न बाँकी रहेका विद्यार्थी सबैभन्दा धेरै मर्कामा परेका छन् । ‘एमडी अध्ययनको अन्तिम चरणमा पुगेका विद्यार्थी मर्कामा परेको जानकारी आएको छ । चीनले पुरानो भिसा रद्द गरेको र नयाँ भिसा नदिइसकेको अवस्था छ । समस्या समाधानका लागि हाम्रो तहबाट प्रयास गरिरहेका छौँ,’ बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले भने । यस्तो समस्यामा परेका करिब तीन सय विद्यार्थीको समस्याबारे नेपाल सरकार पनि जानकार रहेको उनले बताए । चीनमा मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थी मात्रै करिब ६ सय छन् । 

१० महिनाअघि स्वदेश फर्केका चीनको हेबइनर्थ युनिभर्सिटीमा एमबिबिएस अध्ययनरत रमेश पन्तले तीनदेखि सात महिना मात्र इन्टर्न सक्न बाँकी रहेका विद्यार्थी सबैभन्दा बढी मारमा परेको बताए । ‘नेपाल आएको १०–११ महिना भयो, एमबिबिएसको इन्टर्न सक्न तीन महिना बाँकी भएकाले नेपालमा इन्टर्न गर्न पाएनौँ, उता चीन फर्केर पढाइ सक्न पनि पाएनौँ । धेरै अप्ठ्यारोमा परेका छौँ,’ उनले भने ।

सान्दोङ युनिभर्सिटीमा एमबिबिएस अध्ययनरत सुम्निमा सुमनको इन्टर्न सकिन पाँच महिना मात्र बाँकी थियो । गत माघमा नेपाल फर्केकी उनले युनिभर्सिटीले अहिलेसम्म नबोलाएको र कहिले बोलाउने भन्ने टुंगोसमेत नहुँदा पीडामा बस्नुपरेको बताइन् । ‘युनिभर्सिटीले विदेशी विद्यार्थीलाई आ–आफ्नै देशमा जान सक्ने भनेपछि नेपाल आएका हौँ, तर इन्टर्न सक्न फर्कन पाइएको छैन,’ सुम्निमाले भनिन्, ‘युनिभर्सिटीले इन्टर्न गर्न बोलाउँदैनौँ पनि भनेको छैन, तर कहिले बोलाउने भन्ने पनि टुंगो छैन । पीडामा बस्नुपरेको छ ।’ 

विद्यार्थीले बाँकी रहेको इन्टर्न नेपालमै गर्ने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । पन्तले आफूहरू कर्णालीमा गएर इन्टर्न गर्न पनि तयार रहेको बताए । केही महिनाका लागि चीनमा इन्टर्न गर्न जान नपरेमा धेरै नेपाली रकमसमेत स्वदेशमै खर्च हुने उनको भनाइ छ ।

पीडित विद्यार्थीले समस्या समाधानका लागि पहल गर्न शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालय तथा चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा समेत निवेदन दिएका छन् । तर, अहिलेसम्म केही सुनुवाइ भएको छैन ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विद्यार्थीको समस्या समाधानका लागि पहल गरिरहेको बताइन् । ‘नेपाली विद्यार्थीलाई चीन जान समस्या भएको भन्ने जानकारी प्राप्त भएको छ । यो समस्या नेपालीलाई मात्र नभएर अरूलाई पनि रहेछ । मेडिकल अध्ययनमा रहेकाले इन्टर्नसिप गर्नुपर्ने र अन्य विद्यार्थीले नियमित कक्षा लिनुपर्नेछ । भिसाका सन्दर्भमा हाम्रो दूतावासले बेइजिङबाट पनि समन्वय गरिरहेको छ । हामीले यहाँबाट पनि पहल लिइरहेका छौँ,’ उनले भनिन् । 

शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव इमनारायण श्रेष्ठले विद्यार्थीको समस्या निवारणका लागि मन्त्रालयले सहजीकरण गर्ने बताए । यद्यपि, विद्यार्थी समस्यामा परेको सम्बन्धमा आफ्नो शाखामा जानकारी नआएको उनको भनाइ छ । 

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डिल्लीराम लुइँटेलले विद्यार्थीलाई ठूलो समस्या परेकाले गम्भीर छलफल गर्ने बताए । ‘चीनमा एमबिबिएस पढ्दै गरेका विद्यार्थीले आफूलाई परेको समस्याबारे आयोगमा निवेदन दिएका छन् । यस विषयमा शिक्षा, परराष्ट्र मन्त्रालयका सम्बन्धित महाशाखा हेर्ने प्रमुखलगायतसँग बसेर छलफल गर्ने आयोगको योजना छ,’ उनले भने, ‘विद्यार्थीलाई समस्या परेको छ, हामी गम्भीर रूपमा छलफल गर्छौँ ।’

चीनले भर्चुअल इन्टर्नसिपलाई मान्यता दिएको छ । तर, नेपाल र भारतका मेडिकल काउन्सिलले मान्यता दिएका छैनन् । पाकिस्तानको मेडिकल काउन्सिलले भने मान्यता दिने भनेको छ । कोरोना महामारीका वेला चीन पढेका विद्यार्थीलाई इन्टर्नसिप गराउँदा बिरामीको उपचारमा सहजीकरण हुने सुझाब पनि नेपाल मेडिकल काउन्सिलमा पुगेको छ । विद्यार्थी स्वयंले पनि त्यो आवाज उठाइरहेका छन् । सन् २००७ पछि चीनमा मेडिकल अध्ययन गरेका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाएका छैनन् । त्यसअघि उनीहरूलाई नेपालमा यो सुविधा थियो । 

पछिल्लो समयमा चीन पनि नेपाली विद्यार्थीको विदेश अध्ययनको उत्कृष्ट १० गन्तव्यभित्र पर्ने गरेको छ । आर्थिक वर्ष ०७६÷७७ मा सबै विषयमा गरी चीन अध्यनका लागि एक हजार तीन सय तीन विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लगेका थिए । आर्थिक वर्ष ०७५÷७६ मा चीनमा अध्ययन गर्न एक हजार आठ सय ८१ विद्यार्थीले एनओसी लगेका थिए । 

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डिल्लीराम लुइँटेल भन्छन्– 
विद्यार्थीलाई मर्का परेको छ, हामी गम्भीर रूपमा छलफल गर्छौँ

चीनमा एमबिबिएस पढ्दै गरेका विद्यार्थीले आफूलाई परेको समस्याका बारेमा आयोगमा निवेदन दिएका छन् । यस विषयमा शिक्षा, परराष्ट्र मन्त्रालयका सम्बन्धित महाशाखा हेर्ने प्रमुखलगायतसँग बसेर छलफल गर्ने आयोगको योजना छ । कोभिडका कारण उब्जिएको एउटा विद्यार्थीको समस्याभन्दा पनि यो देशकै समस्या हो । केही निर्णय गर्नका लागि पनि विदेशको विश्वविद्यालयले मान्यता दिने–नदिनेलगायत धेरै पक्ष जोडिएका हुन्छन् । चीनमा पढेका विद्यार्थीको समस्या आउँदा अरू देशका विद्यार्थीलाई के गर्ने भन्ने अर्को प्रश्न आउँछ । विद्यार्थीलाई समस्या परेको छ, हामी गम्भीर रूपमा छलफल गर्छौँ ।