मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार १८:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रिहा भए कांग्रेस नेता पौडेल, तनहुँका सिडिओ भन्छन्, ‘लाजमर्दो घटना भयो’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार १८:२७:००

निषेधाज्ञाको अटेरी गर्दै पुल उद्घाटन गर्न खोजेको आरोपमा पक्राउ परेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । प्रहरीले नेता पौडेललाई दिउँसो पौने ३ बजेदेखि साँझ पौने ६ बजेसम्म नियन्त्रणमा राखेको थियो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अनुसार पौडेलसहित १२ जना कांग्रेस कार्यकर्ता र नेकपाका ६ जना कार्यकर्ता साँझ पौने ६ बजे ससम्मान रिहा भएका छन् । 

बुधबार दिउँसो गृहजिल्ला तनहुँको व्यास नगरपालिका १, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकको बुल्दी खोलामा बनेको मोटरेबल पुल उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । व्यास नगरपालिका र उपभोक्ता समितिले पुल उद्घाटन गर्ने कार्यक्रम राखेको थाहा पाएपछि बिहानैदेखि तनाव सिर्जना भएको थियो ।

सिडिओ आचार्यका अनुसार बिहानै एक पक्षले आएर पुल उद्घाटनको कार्यक्रम रोकिदिन माग गरेको थियो । त्यसपछि दिउँसो २ बजे नेकपाका करिब दुई सय कार्यकर्ताले युवा संघको ब्यानरमा पुल उद्घाटन कार्यक्रमको प्रतिरोध गर्दै मोटरसाइकल ऱ्याली निकालेका थिए । 

‘पुल उद्घाटनका विषयमा ठेक्का व्यवस्थापन गर्ने निकाय सडक डिभिजन र जिल्ला पूर्वाधार कार्यालयहरूसँग समेत समन्वय भएको रहेनछ, ती कार्यालयहरूले समेत पुल उद्घाटन रोकिदिनु भनेका थिए,’ सिडिओ आचार्यले नयाँ पत्रिकासँग भने, ‘दुई पक्षबीच झडप हुने अवस्थासमेत सिर्जना भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर मध्याह्न १२ देखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो, तर निषेधाज्ञाका बीच पुल उद्घाटन गर्न उहाँहरू जानुभएपछि बाध्य भएर नियन्त्रणमा लिनुपऱ्याे । लाजमर्दो घटना भयो ।’ 

पुल उद्घाटन गर्न पुलनजिकै पुगिसकेका नेता पौडेलसहित तनहुँ कांग्रेसका कार्यबाहक सभापति जितप्रकाश आले, प्रदेश सभा सदस्य सरिता गुरुङ, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, कांग्रेस जिल्ला सचिव लक्ष्मी आचार्यसहित कांग्रेस कार्यकर्ताहरू पक्राउ परेका थिए । 

तनहुँ कांग्रेसका सभापति वैकुण्ठ न्यौपानेका अनुसार दिउँसो दुई बजेबाट युवा संघले ऱ्याली निकालेको थियो । तर, प्रशासनले निषेधाज्ञा भन्दै ऱ्याली निकाल्ने सयौँलाई पक्राउ नगरी नेता पौडेलसहित कांग्रेस कार्यकर्ताहरूलाई धरपकड गऱ्याे । सो क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडपसमेत भएको छ । प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।

प्रजिअ आचार्यका अनुसार केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । ‘उहाँ पुल उद्घाटन गर्न आउनुभयो । जसले ठेक्का व्यवस्था गरेको हो, ऊसँग नै समन्वय भएको रहेनछ । ठेक्का व्यवस्थापन गर्ने कार्यालयहरूले कार्यक्रम रोक्न आग्रह गरेका थिए, अर्को पक्षले विरोधसमेत गरेपछि झडप हुने अवस्था भयो, त्यसपछि निषेधाज्ञा जारी गरेका हौँ,’ उनले भने । उनले नेता पौडेलको सुरक्षाकै लागि ससम्मान नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा सुरक्षित साथ राखेको दाबी गरे ।