मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार १०:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गौतम बुद्ध विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार १०:२६:००

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सोलार प्लान्ट राख्ने तयारी भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत् आपूर्ति गर्ने विषयमा छलफल भएको हो । शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा ऊर्जामन्त्री वर्षमान पुन र पर्यटनमन्त्री योगेश भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला र ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याललगायत सहभागी थिए ।  

बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरूलाई बुझाउन निर्देशन दिएको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ । 

एडिबीले सोलार प्लान्टका लागि नेपाललाई दिएको १८ अर्ब ५ करोड रुपैयाँमध्ये झापामा ५, बुटवलमा ७, पोखरामा ४ र चनौटामा ८ मेगावाट विद्युत् उत्पादन गर्ने प्रक्रिया यसअघि नै अगाडि बढाइएको छ । त्यसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ ।

ती योजनामा एडिबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना बनेको हो । सोलार प्लान्ट निर्माणका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा दिनेछ ।

निजी क्षेत्रलाई सीधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत् प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको हो । प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत् खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्तावमा छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले नेपाल जलविद्युत्मा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि जरुरी रहेको उल्लेख गरे । त्यस्तै, पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तर्राष्ट्रि«य रूपमै राम्रो सन्देश जाने बताए ।