मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ मङ्सिर १२ शुक्रबार १०:१७:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

उत्कृष्ट ‘पर्यटन गाउँ’ खोजी गर्दै प्रदेश–१ सरकार

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ मङ्सिर १२ शुक्रबार १०:१७:००

संघीय सरकारले देशका सातवटै प्रदेशमा ‘पर्यटन गाउँ’ घोषणा गराएर प्रवद्र्धन गर्ने योजना बनाएपछि प्रदेश–१ सरकार उत्कृष्ट गाउँको खोजी गर्न थालेको छ । संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ग्रामीण पर्यटनको विकासका लागि सातवटै प्रदेशमा एक–एक उत्कृष्ट ‘पर्यटन गाउँ’ घोषणा गराएर पर्वद्धन गर्ने परिपत्र गरेपछि प्रदेश–१ सरकारले आफ्नो क्षेत्रमा पर्ने उत्कृष्ट गाउँको खोजी गर्न थालेको हो ।

संघीय सरकारको संस्कृति पर्यटन मन्त्रालयले देशका सातवटै प्रदेश सरकार मातहतका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयलाई तोकिएको मापदण्डअनुसार आ–आफ्नो प्रदेशको उत्कृष्ट पर्यटकीय गाउँ १५ पुसभित्र घोषणा गरेर पठाउन परिपत्र गरेको छ ।

संघीय सरकारको पर्यटन मन्त्रालयले गरेको परिपत्रको मापदण्डअनुसार उत्कृष्ट ‘पर्यटन गाउँ’बारे आधारसहित जानकारी गराउन मातहतका सबै पालिकाहरूलाई परिपत्र गरिसकेको प्रदेश–१ को उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका पर्यटन शाखाका अधिकृत शम्भुप्रसाद साहले बताए ।

पालिकाहरूले मापदण्ड अनुसारको उत्कृष्ट दाबी गरेर पठाएका गाउँमध्ये सबैभन्दा उत्कृष्ट गाउँलाई प्रदेश–१ सरकारले प्रदेशको सबैभन्दा राम्रो ‘पर्यटन गाउँ’ घोषणा गरेर पर्वद्धनका लागि संघीय सरकारलाई सिफारिस गर्नेछ ।

अधिकृत साहका अनुसार सातवटै प्रदेशमा एक–एकवटा नमुना ‘पर्यटन गाउँ’ घोषणा गरेर स्तरोन्नति गर्नका लागि संघीय सरकारले चालू वर्ष ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट सातवटै प्रदेशका उत्कृष्ट ‘पर्यटन गाउँ’लाई विभाजन गरेर पहिलो चरणको स्तरोन्नतिका लागि पठाउने संघीय सरकारको तयारी छ ।

परिपत्रअनुसार यही पुस ०७७ भित्र सबै प्रदेशले आ–आफ्नो प्रदेशको सबैभन्दा उत्कृष्ट पर्यटकीय गाउँ पहिचान गरेर सिफारिस गरेर पठाइसक्नुपर्नेछ । र, सोही सिफारिसका आधारमा संस्कृति तथा पर्यटन मन्त्रालयले रकम निकासा दिनेछ ।

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पर्वद्धन शाखा अधिकृत रचना प्रधानका अनुसार सातवटै प्रदेशमा उत्कृष्ट घोषणा भएका ‘पर्यटन गाउँ’को स्तरोन्नतिका लागि नेपाल सरकारको पर्यटन मन्त्रालय र पर्यटन विभागले गुरुयोजना र विस्तृत परियोजना निर्माण गर्नेछन् । त्यसपछि संघीय र प्रदेश सरकार अनि स्थानीय तहसँगको साझेदारीमा ‘पर्यटन गाउँ’को नेपाल पर्यटन बोर्डले बजार पर्वद्धनमा सहयोग गर्नेछ ।