१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर १२ शुक्रबार ०९:४८:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

ट्रान्सफर्मरबाट लगातार तामाको तार चोरी 

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार ०९:४८:००

एक महिनामा तीनपटक भयो चोरीको घटना, नियन्त्रणमा उदासिनता

घटना एक
सिराहा नगरपालिका– ७ हकपारा जाने बाटोमा मैनावती पुलछेउमा गत ३० असोजमा जडान गरिएको ट्रान्सफर्मरबाट केवल चोरी भयो । ५० केभिएको ट्रान्सफर्मर विद्युत् सप्लाई नहुँदै अज्ञात व्यक्तिहरूको समूहले चोरी गरेको छ । पोलमा झुन्ड्याइएको ट्रान्सफर्मर फोडेर तामाको तार चोरी गरिएको हो । जिल्ला प्रहरी कार्यालय सिराहादेखि दुई किलोमिटरको दूरीमा रहेको ट्रान्सफर्मरबाट करिब सय किलो तामाको तार (क्वाइल) चोरी भएको छ । 

घटना दुई
२ कात्तिकमा अर्नामा गाउँपालिका–५ कृष्णपुरमा पोलमा जडान गरिएको ट्रान्सफर्मरबाट तार चोरी भयो । ५० केभिएको ट्रान्सफर्मरबाट करिब सय केजी तामाको तार (क्वाइल) चोरी भयो । उक्त ट्रान्सफर्मरमा पनि बिजुली सप्लाई भएको थिएन । 

घटना तीन
सिराहा नगरपालिका–९ ठेंगही जाने बाटोमा डिप बोरिङ सञ्चालन गर्न जडान गरिएको ५० केभिएको ट्रान्सफर्मरबाट गत सोमबार राति चोरी भयो । जिल्ला प्रहरी कार्यालय सिराहादेखि करिब डेढ किलोमिटरको दूरीमा स्टेट बोरिङका लागि जडान गरिएको ट्रान्सफर्मरबाट तार चोरी भएको हो । पोलमा झुन्ड्याएको ट्रान्सफर्मर भुइँमा झारेर केवल (तामाको तार) निकालेर लगिएको छ ।

                                                                                    ......

यी सिराहा नगर क्षेत्रभित्रै पछिल्ला एक महिनामा भएका चोरीका घटना हुन् । नयाँ जडान गरिएका ट्रान्सफर्मरबाट तामाका तार चोरी भइरहँदा प्रहरी मौन देखिएको छ । अज्ञात समूहले कतै विद्युत् सप्लाई भइरहेको ट्रान्सफर्मर त कतै विद्युत् सप्लाई नभएका ट्रान्सफर्मरबाट महँगो मूल्यमा बिक्री हुने तामाको तार चोरी गरेको छ । 

शृंखलाबद्ध रूपमा ट्रान्सफर्मर फुटाएर तार चोरी भइरहँदा प्रहरीले कसैलाई नियन्त्रणमा लिन सकेको छैन । जिल्ला प्रहरी कार्यालयदेखि दुई किलोमिटरको दूरीमा ट्रान्सफर्मर चोरी हुँदा पनि अनुसन्धानमै प्रहरी अल्झिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता रहेका डिएसपी शालिग्राम शर्माले पछिल्लोपटक ट्रान्सफर्मरबाट तार चोरीबारे जानकारी नभएको बताए । ‘दुईवटा घटनामा प्रहरी अनुसन्धान हुँदै छ,’ प्रवक्ता शर्माले भने, ‘अनुसन्धान टुंगो लागेपछि अरू कुरा सार्वजनिक हुन्छ ।’

३१ वटा ट्रान्सफर्मरमा सप्लाई छैन
विभिन्न संघसंस्था र स्थानीय तहले आफूखुसी खरिद गरिएको ३१ वटा ट्रान्सफर्मर अहिले विद्युत्को पोलहरूमा झुन्ड्याइएको छ । तर, विद्युत् प्राधिकरण सिराहा वितरण केन्द्रमातहतका क्षेत्रमा झुन्ड्याए पनि विद्युत् सुचारु भएको छ । 

ट्रान्सफर्मर खरिद गरिँदा टेस्ट गरिएको प्रमाणपत्रलगायत कागजात वितरण केन्द्रलाई नबुझाउँदा विद्युत् सप्लाई रोकिएको छ । ‘ट्रान्सफर्मर आफूखुसी खरिद गरिएको छ,’ सिराहा वितरण केन्द्र प्रमुख उमेशप्रसाद यादवले भने, ‘ट्रान्सफर्मरका टेस्ट प्रमाणपत्रलगायत कागजात अझैं प्राप्त भएको छैन । विनाप्राविधिक समन्वय गरी ल्याएको ट्रान्सफर्मरमा कसरी विद्युत् सप्लाई गर्नू ?’

चारदेखि साढे चार लाखमा एउटा ५० केभिएको ट्रान्सफर्मर पाइने गरेको र करिब पाँच लाखभन्दा बढी मूल्यको रहेको वितरण केन्द्र प्रमुख यादवले बताए । ट्रान्सफर्मर चोरी हुँदा प्रहरी मौनता र विद्युत् सप्लाई नहुँदा कृषक र उपभोक्तालाई अप्ठ्यारो हुँदै आएको छ । एउटै ट्रान्सफर्मरमा बढी भार थपिँदा पटक–पटक जल्ने र बिग्रिँदा विद्युत् नै अवरुद्ध हुँदै आएको सिराहा नगरपालिका–९ ठेंगहीका जोथनी यादवले बताए ।