१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार १८:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जोखिम मूल्यांकन गरेर सबै देशमा उडान अनुमति दिने सिसिएमसीको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार १८:३३:००

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशमा उडान अनुमति दिने निर्णय गरेको छ । सिसिएमसी निर्देशक समितिको मंगलबारको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो । 

संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । उनले भने, ‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ ।’

विभिन्न सरकारी कार्यालयहरूमा एक–दुईजनामा संक्रमण पजिटिभ देखिनेबित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेकाले त्यस्तो नगर्न पनि सिसिएमसीले निर्देशन दिएको छ । संक्रमित व्यक्तिहरूलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उनले बताए । 

संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के–कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । यद्यपि सिसिएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन । संक्रमण उच्च रहेको सीमित स्थानलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताए । 

उपत्यकामा रहेको एकीकृत एम्बुलेन्स सेवाको पार्किङ समस्या रहेकाले विभिन्न स्थानीय तहमा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय भएको छ ।