Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १७ बुधबार
  • Wednesday, 02 December, 2020
ad
श्यामकृष्ण खुलिमुली
२०७७ मङ्सिर ५ शुक्रबार ०८:५५:००
दृष्टिकोण प्रिन्ट संस्करण

हराउँदै रैथाने बिउ

श्यामकृष्ण खुलिमुली
२०७७ मङ्सिर ५ शुक्रबार ०८:५५:००

नेपाल कृषिप्रधान देश भए पनि आकासे खेतीको भरमा चलिरहेको छ । उच्च हिमाली क्षेत्रदेखि पहाड र तराईसम्म सिँचाइको सुबिस्ता नहुनाले हाम्रो कृषि उही पुरानै ढाँचाको कछुवा गतिमा छ । हाम्रो परम्परागत कृषि प्रणालीमा खासै उल्लेख्य परिवर्तन भएकै छैन भन्दा पनि हुन्छ । बरु पहिला आत्मनिर्भर रहेको कृषिकर्ममा हाल आएर विदेशीको मुख ताक्नुपर्ने भइसकेको छ । बिउ, मल र औजारसम्म विदेशकै भर पर्नुपर्छ । 

भौगोलिक रूपमा सानो रहे पनि जैविक विविधताको दृष्टिकोणले नेपाल समृद्ध मुलुक हो । जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वको २५औँ र एसियाको ११औँ स्थानमा छ । नेपालमा पाँच सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य छन् । दुई सय प्रजातिको त खेती नै गरिन्छ । नेपालमा धान मात्रै २३ सय प्रजाति स्थानीय जातका छन् । पोखराको जेठोबूढो, काठमाडौं उपत्यकाको ताइचिन, डोटीको जोरायल बास्मती, नुवाकोटको समुद्रफिँज, जुम्लाको मार्सी, कपिलवस्तुको कालानमक, बाराको लल्का बास्मती, सप्तरीको चननपुुर, झापाको कालोनुनियाँजस्ता रैथाने धानका बिउ हराउँदै छन् । त्यस्तै, मुस्ताङको सिमी, जुम्लाको स्याउ, भोजपुरको सुन्तला, तेह्रथुमको अकबरे खुर्सानी, काठमाडौंको काउली पनि हराउँदै छन् ।

उन्नत र हाइब्रिड बिउको प्रयोगले रैथाने बिउ लोप हुने क्रम बढ्दो छ । विश्वमा करिब दैनिक रूपमा एक सय ४० प्रजातिका वनस्पति र प्राणी लोप हुन्छन् । नेपालमा सन् साठीको दशकमा उन्नत जातको बिउ भित्रियो । त्यस्तै, नब्बेको दशकमा हाइब्रिड बिउ भित्रियो । यहाँ रहेका सात सय ९० खाद्यबालीमध्ये चार सय ८४ रैथाने छन् र ९३ आयातित छन् । पाँच सय पाँच प्रकारका गहुँ, जौलगायतका रैथाने बाली लोप भइसकेका छन् । विभिन्न अध्ययन अनुसन्धानका नाममा हाम्रा अन्नबाली, फलफूल, जडीबुटीहरूमा बहुराष्ट्रिय कम्पनी र विकसित देशले आफ्नो अधिकार जमाइसकेका छन् । नेपालबाट २४ हजार थरीका रैथाने बिउ विदेशमा पुगिसकेका छन् ।

नेपाल पहाडी मुलुक भएकाले होला भूगोलअनुसार यहाँको पहाडी क्षेत्रका टारहरूमा घैया रोप्ने चलन छ । म सानो छँदा टार खेतमा विनापानी मकै लाएजस्तै घैया लाउने चलन थियो । अहिले घैया धान हराइसकेको छ । यति मात्र होइन, खाजाको रूपमा प्रयोग गर्ने खट्टे, पूजा गर्न प्रयोग गर्ने स्वँवा (फूलधान) पनि हराइसकेको छ । 

विभिन्न अध्ययन अनुसन्धानका नाममा हाम्रा अन्नबाली, फलफूल, जडीबुटीहरूमा बहुराष्ट्रिय कम्पनी र विकसित देशले आफ्नो अधिकार जमाइसकेका छन् । नेपालबाट २४ हजार थरीका रैथाने बिउ विदेश पुगिसकेका छन् ।

पहिला दसैँ, तिहार आउँदा नयाँ ताइचिन चिउरा कुटेर ल्याउँथे । त्यसको मिठो बास्ना परसम्म आउँथ्यो । खाँदा पनि बहुतै स्वादिलो हुन्थ्यो । अहिले उपत्यकाको त्यो रैथाने ताइचिन र थापाचिनियाँ धानको बिउ खोज्नुपर्ने अवस्थामा छ । अहिले सबैले रोप्न र गोडमेल गर्न सजिलो हाइब्रिड चिनियाँ धान लगाउन थालेका छन् । चिनियाँ हाइब्रिड धान रोप्न सजिलो छ, घाँसपात पनि नहुने भएकाले गोड्न र बुट्टा टिप्न पनि सजिलो छ । उत्पादन पनि तुलनात्मक रूपमा बढी नै हुन्छ, तर सजिलोका लागि विदेशी हाइब्रिड धान रोप्दा दीर्घकालीन रूपमा यसले हामीलाई बेफाइदा गर्छ । भोलि विदेशबाट बिउ नआए देशमा ठूलो भोकमरी निम्तिन्छ । हामीसँग अहिले रैथाने बिउ बाँकी छैनन् । यस्तो अवस्थामा बिउमा समेत विदेशको पर्नुपर्ने अवस्था आउनु नेपालजस्तो कृषिप्रधान मुलुकका लागि लज्जास्पद कुरा हो । सरकार, कृषि मन्त्रालय, कृषि अनुसन्धान परिषद्जस्ता सरोकारवालाले यसमा ध्यान दिनुपर्छ कि पर्दैन ? कृषिमा अनुसन्धान, बिउ उत्पादन तथा बिउ बैंक स्थापना गरी रैथाने बिउ जोगाउनुपर्छ कि पर्दैन ? तिनको पेटेन्ट राइटका लागि गम्भीर बन्नुपर्छ कि पर्दैन ? अरू त अरू संसारकै अग्लो स्थानमा फल्ने जुम्ली मार्सीको समेत पेटेन्ट नेपालले लिएको छैन । भोलि कुनै विदेशी मुलुकले त्यसको पेटेन्ट राइट लिएपछि पछुताएर केही हुनेवाला छैन ।

हामीले हरेक प्रकारका बिउमा विदेशी विशेष गरेर चिनियाँको मुख ताक्नुपर्छ । फलफूल विदेशी, तरकारी विदेशी । विदेशी बिउ हेर्दामा जति राम्रो लाग्छ, स्वादमा फिक्का लाग्छ । नेपाली प्याजको स्वादअगाडि चिनियाँ ठूलो प्याजको स्वाद फिक्का लाग्छ । तर पनि हामी चिनियाँ प्याज नै किन्छौँ । चिनिया लसुनको पोटी ठूलो हुन्छ, बोक्रा छोडाउन पनि सजिलो । त्यसैले नेपाली लसुन हराउँदै छ । नेवारी समुदायमा भोजभतेरमा हरियो लसुन मोलेर खाने चलन छ । आजकाल चिनियाँ लसुनको प्रयोग बढेपछि हरियो लसुन त घाँसजस्तै बेस्वादिलो लाग्छ । हाम्रा गाउँघरका रैथाने रामतोरिया, करेला, घिरौला, सिमी, मकै, भटमास, काँक्रो, फर्सी, तोरी, रायो, बेथे, धनियाँ, काउली आदि तरकारीलाई पनि चिनियाँ तरकारीले विस्थापित गरिसकेको छ । हाम्रो रैथाने स्वादलाई चिनियाँ स्वादले सन्तुष्टि प्रदान गर्न सकेको छैन, तर पनि हाम्रा बिउबीजन हराउँदै छन् । हाम्रो रैथाने तितो तितेकरेला कहाँ गयो ? सेतो र हेर्दा पनि राम्रो रामतोरिया कहाँ गयो ? नेपाली धनियाको बास्ना परसम्म हरर आउँछ । त्यो पिसेर अचार खाँदा पनि मिठो र स्वादिलो हुन्छ । अहिले त्यसलाई विस्थापित गरेर भान्सा कब्जा गरेर बसेको चिनियाँ ठूलो पाते धनिया न बास्नादार छ, न त स्वादिलो नै । रैथाने सेतो काउली काँचै खाँदा पनि मिठो, पकाउँदा पनि छिटै पाक्छ । तर, हाइब्रिड काउलीले त्यसलाई विस्थापित गरिसक्यो ।

वेलावेलामा हाइब्रिड धानमा बिउ नलागेर किसानको बिल्लीबाठ भएको खबर आइरहन्छ । मकैमा घोगा नलागेर किसानहरू चिन्तित भएको खबर आउँछ । विदेशी बिउमा भर पर्दा पटक–पटक यस्तो समस्या आइरहन्छ । यसरी हाइब्रिड बिउले पटक–पटक किसानलाई दुःख दिने गरेको कुरा जगजाहेर छ । भोलि कुनै कारणवश यस्ता बिउ नपाउँदा के हालत होला ? एउटा उखान छ, हुलमुलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनु । कति बिउको पेटेन्ट विदेशीले लिइसकेका छन् । हामी भने सुतिरहेका छौँ । हामी आफ्नो मणिलाई बेवास्ता गरिरहेका छौँ । परनिर्भर भई आत्मघाती गरिरहेका छौँ ।

मानो रोपेर मुरी फलाउने किसानका लागि असार जति महत्वपूर्ण हुन्छ, त्यति नै महत्वपूर्ण हुन्छ, त्यो अन्न भित्र्याउने समय अर्थात् मंसिर महिना । असारमा मानो रोपेर मंसिरमा मुरी फलाउँछन् । असारमा मरिमेटेर काम गरेका किसानहरू जब बाली भित्र्याउने वेला आउँछ, तब फेरि चिन्तित हुन्छन् । चिन्ता यस कारणले हुन्छ कि धानको बाला लाग्छ कि लाग्दैन ? त्यसैले जबसम्म अन्न भित्र्याएर ल्याउँदैन, तबसम्म उनीहरू ढुक्कले निदाउन सक्दैनन् । केही वर्षदेखि हाइब्रिड धानको बोटमा बाला नलाग्ने, लागे पनि भुस मात्र हुने समस्याले ग्रसित छन् । धेरै किसान बिचल्लीमा परेका छन् ।

यस्तो अवस्थामा सरकारले न त किसानलाई क्षतिपूर्ति दियो, न त त्यस्ता बिउ बेचबिखन गर्नेलाई कारबाही नै गर्‍यो । प्रत्येक वर्ष सरकारले धान दिवस मनाउँछ, तर रैथाने धानको प्रवर्द्धनमा उदासीनता देखाउँछ । अनुसन्धानका लागि बजेट छुट्याउँदैन । मल, औजारदेखि बिउसम्म विदेशीको मुख ताक्नुपर्छ । यस्तो तालले हाम्रो कृषि प्रणाली कुनै दिन नराम्ररी थला पर्न के बेर ? कृषिक्रान्ति र भुमिसुधारको कुरा गरेर मात्र होइन, त्यसलाई व्यवहारमा उतार्नुपर्छ । हाम्रा मौलिक र रैथाने बिउबीजनको संरक्षण गर्नुपर्छ, खोजी तथा संकलन गर्नुपर्छ । त्यसको अनुसन्धान गर्नुपर्छ । हाम्रो फितलो प्रयास र बेवास्ताले गर्दा भोलि हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । आफ्नै रैथाने बिउ पनि विदेशीसँग किन्नुपर्ने दिन आउन सक्छ । 

छुटाउनुभयो की ?