काठमाडौं उपत्यकामा चारैतिर चारवटा स्याटलाइट स्मार्ट सिटी बनाउने घोषणा गरेसँगै त्यसको डिपिआर पनि तयार भइसकेको छ । स्मार्ट सिटीको कुरा उठेको केही वर्ष भयो । नाम सुन्दा त यो पक्कै पनि राम्रो अवधारणा हुनुपर्छ भन्ने लाग्छ, तर किन बनाउने भन्नेबारेमा भने खासै सरकारी चासो नपुगेको देखिन्छ । देशमा संघीय शासन छ । गाउँ–गाउँमा सिंहदरबारको नारा चर्किएको छ । तर, व्यवहार त्यसको ठीक उल्टो छ । गाउँमा सिंहदरबार जान नसक्दा गाउँ नै सिंहदरबार पस्नुपरेको अवस्था छ । दुर्गममा पुग्नुपर्ने विकास काठमाडौंमा केन्द्रित भएको छ ।
के हो स्मार्ट सिटी ? : स्मार्ट सिटीको कुनै सर्वस्वीकार्य परिभाषा छैन । हरेक अलग भूगोल, जनसमुदाय वा नागरिकका लागि यसको परिभाषा अलग–अलग हुन सक्छ । स्मार्ट सिटी एउटा आदर्श बस्ती हो, जहाँ विकासका सम्पूर्ण पक्ष, जस्तै : सामाजिक, भौतिक, आर्थिक पक्षको प्रचुरता हुन्छ । यो दिगो र दीर्घकालीन लक्ष्य पनि हो । कर्णालीवासी र काठमाडौंवासीका लागि स्मार्ट सिटीको परिभाषा फरक हुन सक्छ ।
समग्रमा भन्दा स्मार्ट सिटीभित्र निम्न आधारभूत आवश्यकता पूर्ति गरिएको हुन्छ : पर्याप्त पानीको आपूर्ति, पर्यावरणीय स्वच्छता, फोहोर व्यवस्थापन, ढलनिकास, खुला ठाउँ, विद्यालय, अस्पताल, डिजिटल प्रणाली, स्मार्ट प्रविधि, बैंक तथा वित्तीय संस्था, पर्याप्त र व्यवस्थित सार्वजनिक यातायातको बन्दोबस्त, गरिबका लागि किफायत आवास, आइटी तथा डिजिटल प्रविधि, सुशासन र ई–गभर्नेन्स, मजबुत सुरक्षा प्रबन्ध, स्वास्थ्य र शिक्षाको पर्याप्तता ।
काठमाडौं उपत्यका विकास प्राधिकरणसँग उपत्यकाको चारैतिर चारवटा स्मार्ट सिटीको योजना छ । पहिलो स्मार्ट सिटी हो– ईशान । यो एक लाख रोपनीमा फैलिएको छ, जुन साँखु, बोडे, मूलपानी, मनहरामा निर्माण हुनेछ । दोस्रो स्मार्ट सिटी आग्नेय हो । यो १० हजार रोपनीमा छ, जुन सूर्यविनायक, बालकोट, ललितपुरको लामाटार हुँदै अरनिको राजमार्गभित्र निर्माण गर्ने भनिएको छ । तेस्रो स्मार्ट सिटी हो– नैऋत्य । यो पनि १० हजार रापनीमै फैलिएको छ । जुन फर्सीडोल, खोकना, बुङ्मती, चोभार, सैंबु बागमतीमा निर्माण हुने भनिएको छ । चौथो स्मार्ट सिटी पनि १० हजार रोपनीमा फैलिएको हुनेछ, जुन टोखा, तारकेश्वर, झोर, बाइपासमा निर्माण हुनेछ ।
संघीयताले समग्र देशको विकास हुने अपेक्षा गरिएको थियो । तर, केन्द्रीकृत मानसिकता बोकेका शासकले आफूभित्रै अधिकार जमाएर राख्दा अहिले पनि हिजोको अवस्थाभन्दा कुनै तात्विक फेरबदल हुन सकेको छैन । विकासको थुप्रो काठमाडौंमै थुपारिएको छ । त्यसैको प्रतिबिम्ब हो– स्याटलाइट सिटी वा स्मार्ट सहरको अवधारणा ।
प्राचीन नेपालमण्डल : वास्तवमा काठमाडौं अर्थात् नेपालमण्डल प्राचीन सभ्यताको केन्द्र हो । यो मल्लकालीन कला र संस्कृतिको वैभव पनि हो । जसको अवलोकनका लागि लाखौँ पर्यटक आउने गर्छन् । प्राकृतिक, मानवनिर्मित कृत्रिम र आध्यात्मिक उपायबाट नेपालमण्डलको स्थापना भएको हो । शिवपुरी, नागार्जुन, चन्द्रागिरि, फुल्चोकी, साँगाजस्ता पर्वतमालाले घेरिएको वृत्ताकार उपत्यकालाई प्राकृतिक रूपमा सुरक्षित मात्र गरेको छैन, आध्यात्मिक रूपमा चार गणेश, चार विष्णु, चार योगिनी वा बाराही र अष्टमातृकाले सुरक्षित पनि गरिएको छ । यसको निर्माण तान्त्रिक विधिबाट गरिएको मान्यता पनि छ ।
टार, डोल र पाखायुक्त धरातल भएको उपत्यका प्राकृतिक सौन्दर्यको गढ पनि हो । बौद्ध र हिन्दू धर्मावलम्बीको आध्यात्मिक केन्द्र पनि हो । यहाँको परम्परागत घर, मन्दिर, राजप्रसाद, चोक, विहार, गल्ली, बाटो, किल्ला, ग्राम, बस्ती, नगर आदि वैज्ञानिक वास्तुविद्याअनुसार नै निर्माण भएका छन् । ढुंगेधारामा पानी ल्याउन प्रयोग गरिएका माटाका डुँड, एकैनासको घर, राजकुलो, व्यवस्थित बस्ती आजको आधुनिक इन्जिनियरिङलाई समेत चुनौती दिने खालका छन् । परम्परागत निर्माण सामग्री आधुनिक कंक्रिटको विकल्प हुन सक्दैन ।
अर्को महत्वपूर्ण कुरा तत्कालीन समयमा पाँचतले मन्दिर ६ महिनामा नै निर्माण सम्पन्न भएको थियो । जुन आजका लागि चुनौतीको विषय बनेको छ । भूकम्प गएको ६ वर्ष भइसक्दा पनि हाम्रा क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण सकिएको छैन । यस्तो अवस्थामा न्यातापोल ६ महिनामा निर्माण हुनु पक्कै पनि अविश्वसनीय हुन्छ । खड्गाकारको काठमाडौं, अष्टकोणाकारको भक्तपुर, चक्राकारको ललितपुर, शंखाकारको साँखु मल्लकालीन सभ्यताका जीवित सम्पदा हुन् । अहिले यही सम्पदालाई मृत्युशड्ढयामा पुर्याएर स्मार्ट सिटीको स्वप्नमहल ठड्याउने कोसिस हुँदै छ । प्राचीन र मौलिक सभ्यता मासेर, आफ्नो पहिचान गुमाएर हामी किन आफूलाई विकृत बनाउँदै छौँ ? किन आफैँ हराउँदै छौँ ।
इटालीको रोम अझै पनि प्राचीन गिर्जाघर र बगैँचाले सुसज्जित छ । शास्त्रीय र रोमन शैलीका वास्तुकलाले संरक्षित छ । तेह्रौँ शताब्दीदेखिको गोथिक र वैरिक शैलीका भवनहरू अद्यपि छँदैछन् । त्यस्तै, सांस्कृतिक वैभवले युक्त फ्लोरेन्स सहर पनि विश्व कलाकृतिको समृद्घ केन्द्र हो । जहाँबाट पुनर्जागरण युगको सुरुआत भएको थियो । स्पेनको बार्सिलोना, बेलायतको लन्डन, फ्रान्सको पेरिसले परम्परालाई धानिरहेका छन् ।
पेरिस त कला संग्रहालय र ऐतिहासिक भवनहरूका निम्ति सुप्रसिद्घ नै छ । ती सहर सांस्कृतिक सहरको रूपमा संरक्षित छन् । त्यसैले जीवन्त छन् । जुन आजपर्यन्त पर्यटनको आकर्षण मात्र होइन, सभ्यताको प्रमाणको रूपमा विश्वमाझ चर्चित छन् । बर्सेनि त्यहाँ पुग्ने लाखौँलाख पर्यटक आधुनिक भवन हेर्न होइन, प्राचीन सभ्यता हेर्न आउने हुन् । तर, हामी भएको सम्पदासमेत मास्न खोज्दै छौँ ।
खड्गाकारको काठमाडौं, अष्टकोणाकारको भक्तपुर, चक्राकारको ललितपुर, शंखाकारको साँखु मल्लकालीन सभ्यताका जीवित सम्पदा हुन् । अहिले यही सम्पदालाई मृत्युशड्ढयामा पुर्याएर स्मार्ट सिटीको स्वप्नमहल ठड्याउने कोसिस हुँदै छ ।
पेगोडा र शिखर शैली मासेर कंक्रिटका भीमकाय भवनमा समृद्धि, सम्पन्नता र सभ्यता खोज्दै छौँ । गुम्बज शैली र छाने शैली मासेर मल र हाउजिङ निर्माण गरिरहेका छौँ । काठमाडौंले धेरै भार धानेको छ, अब थप धान्न सक्दैन । परम्परागत ढुंगा र इँटा बिछ्याइएका गल्ली मासेर फराकिलो र कालोपत्रे सडक निर्माण गरिए । मन्दिर र पाटीपौवा भत्काएर आधुनिकता खोजिँदै छ ।
भूकम्पीय जोखिमका दृष्टिकोणले काठमाडौं अति संवेदनशील छ । दहीको कचौराजस्तै यहाँको भूबनोट सानो धक्काले पनि विनाशकारी रहेको मानिन्छ । फोहोरमैला यहाँको टाउकोदुखाइको विषय बनिरहेकै छ । नयाँ स्मार्ट सिटी बनेपछि अझ थपिने फोहोरको व्यवस्थापन कसरी गर्ने हो ? काठमाडौंवासीले मेलम्चीको सपना देख्न थालेको लगभग तीन दशक भइसक्यो ।
अबको नयाँ स्मार्ट सिटीका लागि कहाँबाट पानीको जोहो गर्ने हो ? यी विषय अब झन् चुनौतीपूर्ण बन्नेछन् । काठमाडौं सबैको सपनाको सहर हो । त्यसैले यो पचासौँ लाखको आश्रयस्थल बनेको छ । नयाँ स्मार्ट सिटी बनेपछि अझ थप कति मानिस सपना खोज्दै यहाँ आउने होलान् । के देशभरिको जनसंख्याको भार काठमाडौंले बोक्न सक्छ ? मुलुकका अन्य ठाउँमा किन अर्काे काठमाडौं बन्दैन ?
नेपालमण्डल हाम्रो प्राचीन सभ्यता हो । यो सहरको माटोमा अझै पनि रैथानेहरूको रगत पसिनाको गन्ध छ, जुन दिन त्यो सुगन्ध सकिन्छ, यो सहरको आत्मा मर्नेछ । यसको संरक्षण गरौँ । तर, बाटो फराकिलो बनाउने नाममा रैथानेलाई उठिवास लगाउने, वर्षौंदेखि भोगचलन गर्दै आएको मसान (चिहान)समेत खरिदबिक्री गर्ने, प्राचीन सम्पदा मासी प्लटिङ गर्ने, व्यापारिक कम्प्लेक्स बनाउने, नदी, खोला मिच्ने प्रवृत्ति बढ्दो छ । जसले गर्दा यहाँका प्राचीन सम्पदाहरू एकपछि अर्को गर्दै नामेट गरिँदै छन् । जसको पछिल्लो र प्रत्यक्ष मारमा प्राचीन खोकना र बुङ्मती पर्दै छन् । द्रुत मार्ग र स्मार्ट सिटीको नाममा यी प्राचीन बस्ती मासिँदै छन् ।
आधुनिक निर्माण सामग्रीको प्रयोगले परम्परागत र प्राचीन सम्पदाहरू भद्दा देखिएका छन् । मौलिक र परम्परागत सामग्रीकै प्रयोग गरेर वेलैमा सम्पदाहरूको संरक्षण गर्न आवश्यक छ । वास्तवमा अब राजधानी नै काठमाडौंबाट अन्त सार्नुपर्छ । यहाँको सम्पदा संरक्षणका लागि काठमाडौंलाई सांस्कृतिक सहरकोे रूपमा संरक्षण गर्नुपर्छ । भक्तपुर नगरपालिकाले वर्षौंदेखि भक्तपुर नगरलाई सांस्कृतिक सम्पदा घोषणा गर्ने माग राख्दै आएको छ । तर, सरकार कानमा तेल हालेर बसिरहेको छ । भक्तपुरले परम्परागत निर्माण सामग्री प्रयोग गरेर नै मौलिक स्वरूपमा सम्पदाहरू निर्माण गरिरहेको छ ।
एकताका जर्मनीले विकासको नाममा विनाश गरिसकेको भक्तपुरमा पुनः सांस्कृतिक पुनर्जागरण हुँदै छ । वैदेशिक सर्तसहितको सहयोग र आधुनिक निर्माण सामग्री दुवै अस्वीकार गरी आफ्नै बलबुतामा उभिँदै छ । काठमाडौं र ललितपुरले पनि यो अनुकरणीय कामको केही हदसम्म अनुकरण गर्दै छन् । एकताका स्मार्ट रानीपोखरी निर्माणले व्यापक चर्चा पाएको थियो । सम्पदाप्रेमीको विरोध र दबाबपछि बल्ल काठमाडौंले यसलाई पुरानै मौलिक स्वरूपमा निर्माण गरेको छ । नेपालमण्डलमा सम्पदा संरक्षणका निम्ति बहसहरू भइरहँदा सरकार भने भूमाफियालाई हर्षित पारी स्मार्ट सिटीको नक्सा कोर्दै छ ।
स्मार्ट सिटी बनाउनुपर्छ, त्यस्ता सहर उपत्यकाबाहिर निर्माण गर्नुपर्छ । घरजग्गा कारोबारले बढाएको द्रव्यलिप्सा र लाभले हामीलाई यति अन्धो बनाइसकेको छ कि हाम्रा सबै सडक एवं पूर्वाधार योजना दलाली मानसिकताको वरिपरि सीमित छ । दूरगामी सोच नराखे निकट भविष्यमै पछुताउनु पर्नेछ । काठमाडौंलाई स्मार्ट सिटी बनाउने कि सांस्कृतिक सहर ? अब यो सबैको बहसको विषय हुनुपर्छ । जुन दिन काठमाडौंकेन्द्रित चिन्तनको अन्त्य हुन्छ, यी सबै समस्या एक–एक गरेर हल हुँदै जानेछन् ।