मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
श्यामकृष्ण खुलिमुली
२०७७ कार्तिक २५ मंगलबार ०७:१९:००
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
श्यामकृष्ण खुलिमुली
२०७७ कार्तिक २५ मंगलबार ०७:१९:००

केही वर्षअघिसम्म बाह्रै महिना मध्यपुरको हनुमन्ते वारिपारि हरियो साग तरकारी लगाउने जग्गा अहिले सबै मासिएका छन् । हनुमन्ते करिडोर बनेपछि मलिलो जग्गामा प्लटिङ सुरु भएको छ । नयाँ पुल बनेपछि तरकारी फल्ने मलिलो जग्गामाथि फराकिलो पक्की सडक बनेको छ । अर्थात् हनुमन्ते वरपर पनि विकास (विनाश) भएको छ, त्यहाँ पनि कंक्रिट उम्रेको छ ।

तरकारी बेचेर जीवन गुजारा गर्नेहरू जग्गा बेचेर सुखी जीवन(?) बिताउँदै छन् । कोही पुख्र्यौली आम्दानी गर्ने माध्यम गुमाउँदै छन् । मध्यपुरमा मात्र होइन, नगदेश, बोडे र भक्तपुरका नदीवरपरका मलिला जग्गाहरू यसरी नै सकिँदै छन् । उपत्यकामा स्थानीयहरू जग्गाविहीन हुँदै विस्थापित भइरहँदा बाहिरकाहरू त्यही जग्गा किनेर काठमाडौं बस्ने सपना साकार गर्दै छन् ।

नेपालको व्यापार घाटा बढ्दो क्रममा छ । हरेक कुरामा विदेशीको भर पर्नुपर्छ । सम्पूर्ण चिज आयात गर्नुपर्छ, नेपालले कुनै वस्तु निर्यात गरेर व्यापार घाटा कम गर्न सकेको छैन । पञ्चायतकालमा कृषिउपज निर्यात गर्ने नेपाल आज आएर हरियो तरकारीसमेत आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । अरू त अरू धनियाँसमेत भारतबाट करोडौँको आयात गरिरहेको छ । योभन्दा ठूलो विडम्बना नेपालजस्तो कृषिप्रधान देशका लागि अरू के हुन सक्ला ?

विकास के हो ? : विकास भनेको सकारात्मक संरचनात्मक परिवर्तन हो । यो परिवर्तन निरन्तर चलिरहने प्रक्रिया हो । विकास ठाउँ–परिवेशअनुसार फरक हुन सक्छ । कर्णाली र दुर्गम ठाउँका लागि विकास एक छाक खान पाउनु हो भने काठमाडाैंका लागि विकास आधुनिक सूचना प्रविधि, चिल्ला सडक, स्मार्ट जीवनशैली हुन सक्छ । माइकल टोडारोका अनुसार विकास संरचनात्मक, धारणागत र संस्थागत परिवर्तनको बहुआयामिक प्रक्रिया हो, साथसाथै आर्थिक वृद्धि, असमानताको न्यूनीकरण र निरपेक्ष गरिबी निवारणलाई जोड दिनु पनि हो ।

गुन्नार माइड्रलले भनेका छन्, ‘विकास अविकासबाट मुक्त हुनु हो ।’ पचासदेखि सत्तरीको दशकसम्म आर्थिक वृद्धिलाई विकास मानियो । तर, पछिल्लो समयमा मानव विकास, सबैको समान पहुँच र दिगोपनालाई जोड दिन थालिएको छ ।विकासका अनेक सूचक छन् । त्यस क्रममा ९४ वटा सामाजिक सूचक, युएनडिपीका २५३ वटा सूचक छन् । यी समग्र सूचकलाई मात्रात्मक र गुणात्मक सूचकमा विभक्त गरिएको छ । जसमा प्रतिव्यक्ति आम्दानी, कुल गार्हस्थ उत्पादनदेखि शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति आदि पर्छन् । हामीकहाँ हेर्ने विकासको अर्थ फरक छ ।

हामीकहाँ बाटो बन्नु, पुल बन्नु, रेमिट्यान्स भित्रिनु, कंक्रिटको जंगल निर्माण हुनुलाई मात्र विकास मान्ने दृष्टिकोण छ । तत्कालीन आवश्यकता पूर्तिको नाममा जथाभावी र अव्यवस्थित संरचना निर्माण गर्नुलाई पनि विकास नै मानिन्छ । विकास भनेको आर्थिक उन्नति मात्र होइन । जीवनको गुणात्मक प्रगति पनि हो । हरेक नागरिकको सामाजिक, राजनीतिक, मानवीय, सांस्कृतिक उन्नति हो ।

डोजर आतंक: मलाई याद छ, म नौ–दश वर्षको हुँदा मध्यपुर थिमीबाट दधिकोट जाने बाटोको हिन्चोकदेखि गुन्डुको किवाचोकसम्म बाटो निर्माण भएको थियो । त्यो वेला एउटा छुट्टै उत्साह थियो । गाउँटोलका हरेक घरबाट कुटो, कोदाली बोकेर बाटो खन्न गएका थिए । हामी ज्योति मावि (त्यस वेला प्रावि)का स्कुले केटाकेटीहरू पनि बाटो खन्न जान्थ्यौँ । हरेक दिन कसै न कसैले खाजा बनाएर ल्याउँथे र बाँडीचुँडी खान्थ्यौँ । त्यो वेला स्कुलमा संयुक्त राष्ट्रसंघको खाद्य कार्यक्रमअन्तर्गत हलुवा र दूध वितरण गरिन्थ्यो ।

कति दिन त स्कुलले खाजाको रूपमा हलुवा पनि खुवाएको थियो । गाउँमा विकास ल्याउनका लागि सबजना उत्साहित थिए । हातैले बाटो खनेर केही सामान ल्याउँदा र बिरामी हुँदासमेत गाम्चा वा कटुन्जेसम्म जानुपर्ने बाध्यतालाई किवाचोकवासीले अन्त गरेका थिए । तर, आजको दृश्य फरक छ । त्यसवेला त्यो ठाउँ पूरै फाँट थियो, खेती मात्र गरिन्थ्यो । तर, त्यहाँको हरियो फाँटमा अहिले पूरै कंक्रिट फलिसकेको छ ।

बाँकी जग्गा पनि प्लटिङमा परिणत भइसकेका छन् । घरघरमा पुग्ने बाटा छन् । कुलो खन्न, बाटो खन्न, ढिस्को सम्याउन पनि डोजरकै प्रयोग हुन्छ । त्यहाँ मात्र होइन, भक्तपुर, काठमाडाैं, पाटनदेखि दूरदराजका बस्तीसम्म जताततै डोजरको व्यापक प्रयोग बढ्दो छ । डाँडाकाँडा, जंगल, खोला, नदीमा पनि अनधिकृत रूपमा यसको प्रयोग हुन्छ ।

पञ्चायतकालमा कृषिउपज निर्यात गर्ने नेपाल आज आएर हरियो तरकारीसमेत आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । अरू त अरू धनियाँसमेत भारतबाट करोडौँको आयात गरिरहेको छ ।

यसले तत्कालीन विकास त भयो, तर वातावरणीय विनाश पनि अतिसारो निम्त्याएको छ । जसले गर्दा वेलावेलामा डुबानमा पर्ने, वनविनाश हुने, भूक्षय हुने, जैविक विविधतामा ह्रास हुने, खेतीयोग्य मलिलो भूमिको विनाश हुने घटना बढिरहेको छ । डोजरले विकासलाई सजिलो त पारिदियो, तर यस्तै अवस्था रहने हो भने यो नै हाम्रो विनाशको कारण बन्न बेर छैन । आजकल डोजर विकासको निम्ति भन्दा पनि विनाशको निम्ति प्रयोग भएको छ । यसले विकासको नाममा आतंक सिर्जना गरेको छ । 

धर्मराएको संस्कृति : विकाससँगै स्थानीय संस्कृति पनि नासिँदै छ । राजनीतिक पहुँच, मिलेमतो र अनियमितताका आधारमा सार्वजनिक जग्गा, पाटीपौवा, पोखरी, खोलानदी मिचेर घर संरचना निर्माण गर्ने परिपाटी बढ्दो छ । वर्षांैदेखि स्थानीय बासिन्दाले भोगचलन गर्दै आएको कुलदेवता, मसान आदिमा हस्तक्षेप गरी परम्परा मास्ने प्रवृत्ति पनि बढ्दो छ ।

सरकार स्थानीय जात्रा, मेला, पर्व, परम्पराप्रति उदासीन छ । गुठीका जग्गा पनि खोस्दै छ । सम्पन्न र जीवन्त संस्कृतिको नाम भज्दै र बेच्दै देश चलाउनेहरू आज त्यही संस्कृति मास्न उद्यत् छन् । जसको संस्कृतिले नेपालको नाम संसारभर प्रसिद्ध भएको छ, तिनैलाई विस्थापित गर्ने र तिनकै संस्कृति सिध्याउने खेलमा लाग्दै छ । पुस्तौँदेखि चल्दै आएका घाटहरूमा भएका अतिक्रमण, बालुवाटारको जग्गा नै बेचविखन गर्ने ठगहरू, पोखरी मासी बनाएको छाया सेन्टर, टुकुचामाथि बनेका व्यापारिक कम्प्लेक्सहरू, घडीघर मासेर व्यापारिक कम्प्लेक्स बनाउने योजनाहरू, खोला नदीको पुरानो बहाव नै रातारात परिवर्तन गर्ने भूमाफियाका चलखेलहरूले स्थानीयवासीलाई विस्थापित गर्दै सुकुम्बासी बनाउँदै छ ।

यो प्रवृत्ति पुरै देशमा व्याप्त छ । देशका लागि गर्व गर्ने संस्कृतिका जरा काटिँदै छन् । भगवान्को नाममा धर्म गर्नेहरू उही भगवान्को गुठी जग्गा बेचेर धर्मको व्यापार गर्दै छन् । पुँजीवादमा धन र सम्पत्तिका लागि जे पनि जायज छ भन्ने कुरा यहाँ पनि पुष्टि हुन्छ । यी सब पुँजीवादले मान्छेलाई कसरी भ्रष्ट, नैतिकताविहीन, मानवताहीन, स्वार्थी र विचलित बनाउँछ भन्ने कुराको असली दृष्टान्त हो ।

जहाँ पाप जायज हुन्छ, अन्यायको जित हुन्छ, भ्रष्टको जयजयकार हुन्छ, अनैतिकको प्रशंसा हुन्छ, दुष्ट र दुर्जनको हाईहाई हुन्छ । त्यसकै घानमा हाम्रा संस्कृति र परम्पराहरू परेका छन् । परम्परागत प्रविधि, भाषा, रीतिरिवाज र संस्कृतिप्रति उदार हुनुपर्ने राज्य स्वयं उदासीन हुँदा पुर्खाले सिर्जेका कला र संस्कृतिहरू मासिँदै छन् । सँगसँगै हाम्रो पहिचान पनि गुम्दै छ । वास्तवमा मानवको समग्र पक्षको गुणात्मक सुधार नै विकास हो । आर्थिक पाटोलाई मात्र महत्व दिएर सांस्कृतिक, सामाजिक र वातावरणीय पाटोलाई गौण मान्नु विनाश निम्त्याउनु हो । त्यसले कसैको भलो गर्दैन, समयमै चेतना होस् ।
(खुलिमुली सांस्कृतिक अध्येता हुन्)