नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय अनुशासन आयोगले विगतका विभाजनबाट शिक्षा लिनुपर्नेमा जोड दिँदै पार्टीभित्र चर्किरहेको अन्तरविरोध समाधानका लागि अविलम्ब पार्टीको बैठक बोलाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहराले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अन्तरविरोध समाधानका लागि अविलम्ब पार्टी बैठक बोलाउन आग्रह गरेका हुन् ।
यस्तो छ विज्ञप्ति
नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको छ । समाजलाई रूपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई हामी कसैले इन्कार गर्न मिल्दैन । यस्तो महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने ‘गालीगलौज’ ‘निन्दा भर्त्सना’ ‘आरोप–प्रत्यारोप’ र ‘पार्टी विभाजन’जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहररू सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन् । यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो ।
हामीसँग अन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा मार्क्सवादी परम्परा रहेका छन् । विगतमा पार्टीमा उत्पन्न ठुल्ठूला विवादहरू पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरू हामीसँग छन् । त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु ।
विधि र पद्धति पार्टीका प्राण हुन् । पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरू हामीले बुझेकै छौँ । तर, हामी किन पार्टी विधानअनुसार विधि पद्धतिको पालना गर्दैनौँ ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौँ ? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरू कुनै स्वार्थ छन् ? अनि हामीहरू किन नितान्त आत्मकेन्द्रित भएर सोच्दछौँ ।
हामीले यो कुरा बुझ्नुपर्छ, मार्क्सवादीहरू हरेक कुरामा खुल्ला–खुलस्त हुन्छन् । भित्र एउटा कुरा र बाहिर अर्काे कुरा गर्दैनन् । जालझेल र षड्यन्त्रलाई मनैदेखि घृणा गर्छन् । पार्टी र जनताका काममा कुनै गल्ती कमजोरी भए इमान्दारितापूर्वक आत्मालोचना गर्छन् र सच्याएर अघि बढ्छन् । एउटा कम्युनिस्टले अबलम्वन गर्नुपर्ने कार्यशैली भनेको यही नै हो । तर, व्यवहारमा हाम्रो पार्टी यी कामहरूमा किन पछि परेको छ । सबैको मनमा प्रश्न उठिरहेको छ ।
पार्टीका निर्णयहरू आवश्यकताले कार्यान्वयनको लागि गरिन्छ । दराजमा सजाउनका लागि होइन । पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरू आजसम्म कार्यान्वयन नभई निष्क्रिय बसेका छन् । पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी कामहरू आजसम्म थाती रहेका छन् । यो दुःखद पक्ष हो । तीन महिना, एक महिना, पन्ध्र दिन र दश दिनभित्र पूरा गर्ने भनेर भाखा राख्दै आएको पनि अहिले २९ महिना बितिसकेको छ । तर, विधानले एकैछिन असंगठित राख्न नमिल्ने महत्वपूर्ण कमरेडहरू वर्षाैँसम्म जिम्मेवारीविहीन हुँदा पार्टी नेतृत्वलाई किन घोच्दैन, किन पोल्दैन र यति महत्वपूर्ण विषयलाई प्राथमिकता किन राखिदैन ? यतिसम्म कि लामो रस्साकस्सी र विवादपछि समाधान हेतु कार्यदलले प्रस्तावको रूपमा ल्याएको तथा २६ भदौ २०७७ को स्थायी कमिटी बैठकले कार्यान्वयनको निमित गरेको निर्णयसमेत आजपर्यन्त अलपत्र छन् । निर्णय कार्यान्वयन गर्ने तत्परता कतै देखिएकै छैन । बरु त्यसलाई अनेकौ बहानामा पन्छाउने काम भइरहेको छ ।
पार्टी नेतृत्वको सोच सधैँ फराकिलो हुनुपर्दछ । हृदयमा विशालता छैन भने त्यो कम्युनिस्ट हुनै सक्तैन । संकीर्णता, आग्रह–पूर्वाग्रह, गुटबन्दी र रिसरागले पार्टी चल्न सक्दैन । उत्तेजना, आवेग र गालीगलौजले समस्याको हल हुँदैन । यसले त विवादलाई सरल होइन झन् जटिल बनाउँछ । तनावलाई शिथिल नगरी कि वार कि पार भन्ने ठाउँमा पुऱ्याउँछ । विनाशको बाटोतर्फ जाने यस्ता कुराको कल्पना हामीले गर्न मिल्छ ? यो गल्ती हामीले कदापि गर्नुहुँदैन । पार्टीमा समस्या छन्, तिनलाई हामीले स्वीकार गर्नुपर्दछ । पार्टी विधानबमोजिम त्यसको समाधानमा पहल गर्नुपर्दछ ।
अन्त्यमा, पार्टीका जिम्मेवार नेतृत्व गणप्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन् । विगतमा हामीले पार्टी फुटको दुःखद कुरा व्यहोरिसकेका छौँ । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ ।
त्यसैले कमरेडहरू, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौँ । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔँ । पार्टी एकताका बाँकी सबै कामहरू छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध बनाऔँ । पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिस्ट आचरणमा विचलनजस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गरौँ । संयम्, धैर्यता र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगण प्रति विशेष अनुरोध गर्दछु ।