१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक १८ मंगलबार १६:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कक्षा १२ को परीक्षा : संक्षिप्त पूर्णांकको ४१ विषयका नमुना प्रश्नपत्र सार्वजनिक

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १८ मंगलबार १६:३९:००

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ४१ विषयका संक्षिप्त पूर्णांकका नमुना प्रश्नपत्र सार्वजनिक गरेको छ । 

बोर्डले आगामी ९ मंसिरबाट सुरु हुने कक्षा १२ को परीक्षामा ४० प्रतिशत मूल्यांकनका लागि नमुना प्रश्नपत्र सार्वजनिक गरेको हो । 

कोभिडका कारण स्थगित भएको कक्षा १२ मा ४० प्रतिशत मूल्यांकनका लागि बोर्डबाट परीक्षा लिइने र विद्यार्थीमा अन्योलता नहोस् भनेर नमुना प्रश्नपत्र सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । बोर्ड धेरै विद्यार्थी संख्या हुने ४१ विषयको नमुना प्रश्नपत्र वेबसाइटमार्फत सार्वजनिक गरेको हो । 

बोर्डले सैद्धान्तिक परीक्षाको नम्बरलाई १०० प्रतिशत मानेर त्यसको ४० प्रतिशत मात्रै मूल्यांकनका लागि परीक्षा लिने भएको छ । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधार लिइने र २० प्रतिशत आन्तरिक मूल्यांकन हुने गरी कार्यविधि तयार गरेको छ । 

बोर्डका परीक्षा नियन्त्रक शर्माले प्रश्नपत्र पुरानै मोडेलमा सोधिए पनि प्रश्नहरूको संख्या घट्ने बताए । प्रश्न सोधिने समूह पहिलेको जस्तै भए पनि परीक्षा डेढ घन्टा मात्र सञ्चालन हुने भएकाले प्रश्नको संख्या घटाइएको छ । विद्यार्थीको समग्र ज्ञानलाई समेट्ने गरी प्रश्नपत्र निर्माण हुँदै छन् । 

यसअघि गत ८ वैशाखमा सञ्चालन हुने कार्यतालिका रहे पनि कोरोना भाइरसको जोखिम बढेपछि परीक्षा स्थगित भएको थियो । बोर्डले कक्षा १२ को परीक्षा बिहान ८ देखि साढे ९ बजेसम्म ढेढ घन्टा सञ्चालन गर्ने भएको छ । 

बोर्डले हिमाली क्षेत्रमा प्रश्नपत्रको ‘हार्डकपी’ पठाउने र अन्य क्षेत्रका विद्यालयमा इमेलमार्फत प्रश्न पठाउने तयारी गरेको छ । 

बोर्डका उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले नमुना प्रश्नपत्रले विद्यार्थीमा अन्योलता हटाउने बताए । परीक्षामा नमुनामा सोधिएका प्रश्नपत्रको युनिट तथा च्याप्टर एउटै नभई फरक हुन सक्नेछन् । 

यस वर्ष कक्षा १२ को परीक्षा फारम भरेका सबै माध्यमिक विद्यालयमा परीक्षा केन्द्र भएका छन् । देशभरमा कक्षा १२ को परीक्षाका लागि चार हजार एक सय पाँच परीक्षा केन्द्र कायम भएका छन् । 

विद्यार्थीले आफैँले पढेको विद्यालयमा पुगेर जाँच दिन सम्भव नभएमा अहिले विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा लिने व्यवस्था छ । 

काठमाडौं उपत्यकाभित्रका जिल्लामा विद्यार्थी आफैँले पढेको विद्यालयमा परीक्षा दिन जानुपर्छ । बोर्डले परीक्षा दिनका लागि प्रवेशपत्र अनिवार्य गरेको छ । कक्षा १२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थी छन् ।