१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १८ मंगलबार
  • Saturday, 05 July, 2025
कमल खत्री म्याग्दी
२o७७ कार्तिक १८ मंगलबार १५:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अवैध नेटवर्किङमार्फत ठगी गर्ने तीनजना पक्राउ

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७७ कार्तिक १८ मंगलबार १५:४३:oo

नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसायमार्फत ठगी गर्ने तीनजनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ । 
ओरियन्सलगायतका नेटवर्कमा आधारित व्यवसायका नाममा म्याग्दी जिल्लाका थुप्रै युवालाई प्रलोभनमा पारी अवैध व्यवसाय र ठगी भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले तीनजनालाई नियन्त्रणमा ल्याएर अनुसन्धान अघि बढाइएको छ ।

पोखरा महानगरपालिका– ५ मालेपाटनमा गण्डकी हर्लब स्टोर्स सञ्चालन गरेका जलजला गाउँपालिका– ७ पर्वत मिलनचोक बस्ने होमनाथ जैसी, सोही स्थानमा बस्ने वर्ष २४ को सरोज शर्मा र काठमाडाैं महानगरपालिका– ४ टोखा बस्ने प्रदीप रिजाललाई सदरमुकाम बेनीबाट प्रक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । 

उनका अनुसार संलग्न व्यक्तिहरूले पर्वतको जलजला गाउँपालिका– ७ मिलनचोकबाट आफ्ना गतिविधि सञ्चालन गरेको र म्याग्दी जिल्लाका एक सय ४१ जना व्यक्तिलगायत कुल दुई सय ५३ जना व्यक्तिलाई उक्त व्यवसायको सञ्जालमा आबद्ध गरेको पाइएको छ । 

म्याग्दीसँगै पर्वत, बाग्लुङलगायतका जिल्लामा समेत पुगेर भारतीय कम्पनी ओरियन्स ग्लोबल मार्केटिङले भारतमा उत्पादन गर्दै आएका विभिन्न नामका फुड सप्लिमेन्टलगायतका सामग्री बिक्री गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

विभिन्न रोगहरू निको हुने, छोटो समयमै राम्रो कमिसन प्राप्त हुने प्रलोभन देखाई निश्चित परिमाणमा फुड सप्लिमेन्टहरू किन्न लगाई सदस्य बनाउने र सोही व्यक्तिहरूका माध्यमबाट अन्य व्यक्तिहरूलाई समेत सदस्य बनाई नेटवर्किङ शैलीको सञ्जाल बनाई व्यवसाय गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

‘ठगी मुद्दामा अनुसन्धान सुरु गरिएको छ, कानुनी क्षेत्राधिकारअन्तर्गत प्रारम्भिक अनुसन्धान गरी उनीहरूलाई पर्वत प्रहरीमा बुझाइएको थियो, उनीहरूले नेटवर्किङमार्फत ठगी गरेको भेटिएकाले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत अहिले थप अनुसन्धान अघि बढेको छ,’ प्रहरी निरीक्षक चौधरीले भने ।