मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १०:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आर्थिक संकटलाई पार लगाउन महासंघमा दरिलो नेतृत्व आवश्यक : उपाध्यक्ष ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १०:०६:००

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा सोमबार ढकाल प्यानलका पदाधिकारीसहितका उम्मेदवारहरूसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । ‘कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौँ र अझै के–कस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भइसकेको छैन । त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार–व्यवसायलाई बचाइराख्न बलियो काँध चाहिएको छ,’ उनले भने, ‘सही र सक्षम नेतृत्व चुन्नुपर्ने वेला आएको छ, महासंघको आगामी नेतृत्वले मुलुकको यो जटिल परिस्थितिलाई सहजतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’ 

महासंघको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगेमा महासंघको गौरवपूर्ण इतिहास र ओज कायमै रहने उनले बताए । यसका लागि महासंघको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यावसायिक नेटवर्कसहितको एउटा सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्ने उनको भनाइ छ । 

सो अन्तरक्रियात्मक  भेलामा ढकाल समूहबाट उम्मेदवारहरू उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघईलगायतको उपस्थिति रहेको थियो । ‘हाम्रो यो समूह सबै मुलुकको व्यापार–व्यवसायको सबै किसिमका अनुभवले भरिएको छ, विश्वासले भरिएको छ,’ उनले भने, ‘यसमा जिल्ला नगरका साना तथा मझौला व्यवसायदेखि केन्द्रका ठूला व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर हाम्रो यो समूह गाउँ, जिल्ला नगरदेखि नीतिगत तहसम्म पहुँच पुर्‍याउन सक्छ ।’