१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २५ मंगलबार ११:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विद्यालय भवनमा सशस्त्रको बिओपी

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:o९:oo

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ५ सखुहवाको श्री प्राथमिक विद्यालयमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) बसेको छ । 

गाउँपालिकाले बिओपी राख्न सशस्त्र प्रहरीलाई विद्यालय भवन उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष विनोद साहले भारतीय नागरिकको नाममा दर्ता भएको जमिनमा बनेको विद्यालय सशस्त्रको बिओपीका लागि उपलब्ध गराएको बताए ।

विद्यालय गाउँबाट टाढा, नदी किनारमा र भवन पनि जीर्ण भएकाले बालबालिका पढाउन जोखिम भएकाले विद्यालय सार्नुपर्ने अवस्था रहेको उनले जिकिर गरे ।

‘गाउँबाट केही पर भएकाले विद्यार्थीलाई पायक नपर्ने र भारतीय नागरिकको जमिनमा भवन बनेकाले हामीले सशस्त्र प्रहरीलाई विद्यालय भवन दिएका हौँ,’ अध्यक्ष साहले भने, ‘विद्यालय गाउँमै रहेको धर्मशालामा सञ्चालन गर्छाैँ ।’ विद्यालयका फर्निचर पनि धर्मशालामा लगिएको उनले बताए ।

विद्यालयमा ६ कात्तिकदेखि बिओपी बसेको हो । विद्यालयका प्रधानाध्यापक शेषसबिर अहमदका अनुसार बिओपी स्थापना भएको विद्यालय प्रशासनलाई कुनै जानकारी दिइएको छैन । उनले विद्यालय भवन जाँदा चारैतिर काँडे तारले घेरेर सशस्त्र प्रहरी बसेको देखेर मात्र आफूले थाहा पाएको बताए ।  

उक्त विद्यालयमा एक सय ६३ जना विद्यार्थी पढ्दै आएका छन् । ०४५ सालमा स्थापना भएको विद्यालयमा नजिकै सखुवा गाउँका बालबालिका पढ्दै आएका छन् । विद्यालयमा अधिकांश विपन्न, मुसहर र दलित समुदायका बालबालिका अध्ययनरत रहेको सहायक प्रधानाध्यापक पुकार राय यादवले बताए । 

सुरक्षाका लागि बिओपी स्थापना भएकाे उल्लेख गर्दै गाउँपालिका अध्यक्ष साहले भने,  ‘हामी बालबालिकालाई पायक पर्ने ठाउँ र सुविधासम्पन्न धर्मशाला भवनमा लगेर पढाउँछौँ, पढाइमा कुनै बाधा हुँदैन ।’  

सशस्त्र प्रहरी १० नम्बर गणका गणपति प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले गाउँपालिकाले निर्णय गरेर बिओपी राख्न विद्यालय भवन दिएको बताए । उनले सशस्त्रको आफ्नै भवन बनेपछि सर्ने गरी हाल अस्थायी रूपमा गाउँपालिकाले उपलब्ध गराएको भवनमा बसेको उनले जानकारी दिए । 

सर्लाहीमा सखुहवा, बहादुरपुर र भाडसरमा गरी तीनवटा नयाँ बिओपी थप भएको छ ।

ad
ad