१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक १६ आइतबार १२:०७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

घर जल्दा तामाङ परिवारले आँसुसँगै छिमेकीको घरमा मनाए दसैँ

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १६ आइतबार १२:०७:००

काभ्रेको बेथानचोक गाउँपालिका– ४ पटगाउँकी सविना तामाङ अरूले जस्तै धुमधामले दसैँ मनाउने तयारीमा थिइन् । 

दसैँ मान्न र ऋण तिर्नका लागि विदेशबाट उनका श्रीमानले पैसा पनि पठाएका थिए । तीन छोराकी आमा सविनाले दसैँ मान्न उनीहरूका लागि नयाँ कपडा र मिठो–मसिनो खानेकुराको जोहोसमेत गरेकी थिइन् ।  

सबै परिवार खुसी थिए । दसैँमा नयाँ लुगा लगाई मिठो–मसिनो खाने आसमा झन् बढी खुसी थिए ६ वर्षीय बालक । तर, खुसीका साथ दसैँ मनाउने सपना अपूरै रह्यो । आँसुको साथमा छिमेकीको घरमा मनाउनुपऱ्याे सविनाको परिवारले दसैँ । घर जलेर खरानी भएपछि छिमेकीको शरणमा पुगे । 

अष्टमीको दिन करेन्ट सर्ट भएर आगलागि हुँदा सविनाको घर जलेर नष्ट भएको छ । सुक्खा माटो, काठ र ढुंगाले बनेको तामाङको घर क्षणभरमै आगोले खरानी बनायो । 

सिंगो परिवारलाई नै छिमेकीको घरमा बस्न बाध्य बनायो । दसैँसमेत छिमेकीको घरमा मनाउनुपऱ्याे । 

‘दसैँ मान्ने तयारी थियो, घर जलेर छिमेकीको घरमा आँसुसँग दसैँ मनाउनुपर्‍यो,’ उनले भनिन्, ‘धन्न छिमेकीले घर दिए, नत्र खुला आकाशमुनि बारीको पाटामा बस्नुपर्थ्याे ।’

घरबाट केही निकाल्न नपाएको सविनाले बताइन् । घरमा रहेको नगद, अन्नबाली, कपडालगायत केही पनि निकाल्न नपाई जलेर खरानी भएको उनले बताइन् ।

ऋण तिर्न पठाएको पैसा पनि जल्यो 
सविना तामाङका श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा छन् । विदेशबाट दसैँ मनाउनका लागि खर्चको साथै ऋण तिर्नका लागि ५० हजार पनि पठाएका थिए ।  

दसैँ खर्चबाट छोराहरूलाई लुगा र दसैँका लागि खानेकुरा किनेर ल्याएकी थिइन् भने ऋण दसैँपछि तिर्नका लागि दराजमा रखेकी थिइन् । उक्त पैसा पनि जलेर खरानी भएको उनले बताइन् । 

‘दसैँ मान्न केही पैसा र ऋण तिर्नका लागि ५० हजार मेरो श्रीमानले पठाउनुभएको थियो, दसैँखर्चबाट छोराहरूलाई लुगा र खानेकुरा ल्यायौँ, ऋण दसैँपछि तिरौँला भनेर ५० हजार दराजमा ल्याएर राखेकी थिएँ । सबै आगोले जल्यो । निकाल्नै पाइएन,’ सविनाले भनिन्, ‘अहिले न फेर्नलाई कपडा छ न खानलाई अन्न केही बाँकी छ ।’

उनको सँगै उनका देवरहरूको घर पनि जलेको छ । तर, उनीहरूको पुरानो घर जले पनि भूकम्पपछि बनेको नयाँ घर रहेको कारण त्यहीँ बसेको सविनाले बताइन् । 

देवर बुद्ध लामा र सुरेश लामा एउटै घरमा बस्छन् । उनीहरूको पनि पुनर्निर्माणबाट आएको पैसा लगभग ७० हजार जति पैसा जलेको सविनाले बताइन् । 

अहिलेसम्म एक बोरा चामल, दुईवटा त्रिपाल, नुन–तेलबाहेक कुनै सहयोग प्राप्त नभएको सविनाले बताइन् ।