१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक ८ शनिबार १४:३१:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक न्यायको प्रयास : खिजिकातीमा एकल पुरुषलाई पनि मासिक भत्ता

Read Time : > 2 मिनेट
२०७७ कार्तिक ८ शनिबार १४:३१:००

तपाईंले एकल महिलालाई सामाजक सुरक्षाअन्तर्गत भत्ता उपलब्ध गराएको त सुन्नुभएकै होला । एकल पुरुषले भत्ता पाउने कुरा सायदै सुन्नुभएको होला । 

ओखलढुंगाको खिजिकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । 

जिल्लामै पहिलोपटक खिजिदेम्बा गाउँपालिका– ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो ।

७० वर्षमाथिकाले ज्येष्ठ नागरिक भत्ता पाउने भए पनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुषहरू सहाराविहीन बनेकाले उनीहरूलाई वडाको बजेटबाट मासिक पाँच सय आर्थिक सहयोग गरेर सम्बोधन गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए । 

ज्येष्ठ नागरिक, विधवा महिला, असहाय तथा दलित बालबालिका र अपांगता भएकालाई सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरणसँगै एकल पुरुषलाई पनि मासिक भत्ता वितरण गर्न थालिएको अध्यक्ष न्यौपानेको भनाइ छ । 

‘हामी घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्छौँ । ७० वर्ष माथिकालाई भत्ता दिइरहँदा त्यो उमेर नपुगेका सहाराविहीन एकल पुरुषहरूको पीडा असाध्यै दुःखलाग्दो पाइयो । त्यसैले वडाबाट विशेष कार्यक्रम बनाएर एकल पुरुष भत्ताको कार्यक्रम ल्याएको हुँ,’ वडाध्यक्ष न्यौपानेले भने, ‘जनताका माग र आवश्यकता हेरेर हजारौँ योजना बनाइएको छ, तर वडामा स्रोत सीमित छ । सीमित स्रोतलाई नै व्यवस्थापन गरेर एकल पुरुषलाई मासिक भत्ता दिन थालेका छौँ । यो पर्याप्त नहोला, तर सुरुवात हो, यसले एकल पुरुषलाई केही सहज हुने अपेक्षा गरिएको छ ।’ 

सबै नागरिकलाई स्थानीय सरकारका तर्फबाट अभिभावकत्व दिने वडाको नीतिअनुसार एकल पुरुष भत्ता कार्यक्रम ल्याइएको उनको भनाइ छ । 

यो वर्षबाट खिजिकातीका ६० देखि ६९ वर्ष उमेरका सातजना एकल पुरुषले मासिक पाँच सयका दरले एकल पुरुष भत्ता लिन थालेका छन् । 

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तासँगै वडाले एकल पुरुषलाई यस वर्षको मासिक भत्ताबापत पाउने ६ हजार रकम वितरण गरिसकेको छ । 

खिजिदेम्बा– ४ मा १५ जना एकल पुरुष छन् । उनीहरूमध्ये आठजना ६० वर्षमुनिका छन् । 

६० वर्षमुनिका एकल पुरुष आफैँ सक्षम हुने भएकाले ६०–६९ वर्षका एकल पुरुषलाई मात्रै मासिक भत्ता दिन थालिएको हो । ७० वर्ष पुगेपछि सरकारको नियमित सामाजिक सुरक्षा भत्तामा सहभागी गराइने वडाले जनाएको छ ।

वडा कार्यालयले मासिक भत्ता दिन थालेपछि खिजिकातीका एकल पुरुष पनि खुसी छन् । 

सरकारको सामाजिक सुरक्षा भत्ता पाउने उमेर नपुग्दै वडाबाट विशेष व्यवस्था गरेर भत्ता दिन थालेपछि खुसी लागेको स्थानीय सन्तलाल तामाङले बताए । 

‘भत्ता खान ७० वर्ष पुग्नुपर्छ भन्थे । हाम्रो वडाध्यक्षले ७० नपुग्दै भत्ता खुवाए,’ तामाङले भने, ‘चुनावमा भोट माग्दा तपाईंहरूको हितमा हुनेसम्म राम्रो काम गर्छु भन्थे, गर्दै पनि छन् । एकल पुरुषलाई पनि सम्झिएर मासिक पाँच सय दिए । ओखतिमूलो किन्ने खर्च भयो । अलिक बढाएर दिए नुन–भुटुन खान पनि पुग्थ्यो ।’ 

अर्का एकल पुरुष खुदबहादुर सुनुवारले राज्यले एकल पुरुषका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । 

उनले भने, ‘पीडा त अनेक छन् नि, छोरो मान्छे रोएर हिँड्ने कुरा भएन । एकल पुरुषका पीडा सरकारले पनि बुझ्दैन । हाम्रो वडाले भत्ता नै दिन थाल्यो, अब अरू पनि कार्यक्रम ल्याउने आशा छ ।’ 

खिजिकातीका एकल पुरुषले वडाले दिन थालेको मासिक पाँच सय भत्तालाई आगामी वर्षबाट बढाएर दिन माग गरेका छन् ।

खिजिदेम्बा– ४ का वडाध्यक्ष न्यौपानेले व्यक्तिगत तथा संस्थागत रूपमा जनपक्षीय काम गर्दै आएका छन् । 

व्यक्तिगत खर्चमा गाउँका गर्भवती महिलालाई पोषिलो खानेकुरा वितरण, महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमा, कोरोनाको संक्रमणबाट बच्न सरसफाइको सन्देशसहित वडाका सबै घरमा हातधुने साबुन वितरणसहितका सहयोग गर्दै आएका छन् । 

वडाको बजेट र पालिका तथा अन्य निकायसँगको साझेदारीमा युवा तथा महिलाको क्षमता विकास, विद्यार्थी तथा बुहारी छात्रवृत्तिलगायतका विभिन्न नयाँ कार्यक्रमहरू खिजिकातीमा सञ्चालन हुँदै आएका छन् ।