मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ६ बिहीबार
  • Friday, 11 July, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७७ कार्तिक ६ बिहीबार o८:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१२ कात्तिकबाट खुला हुँदै तातोपानी नाका

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७७ कार्तिक ६ बिहीबार o८:२७:oo

विजयादशमीको पर्सिपल्टदेखि नाका खुलाउन तातोपानी भन्सार कार्यालयले तयारी थालेको छ । भन्सारले तयार पारेको ‘आइसोलेट एरिया’मा सामग्री झारिने छन् । खासाबाट आएका चिनियाँ कन्टेनरले मितेरीपुलछेउमा रहेको भन्सार यार्डमा सामान झारिदिने भएको हो । 

कोभिड– १९ महामारीबाट नाकालाई सुरक्षित राख्न चिनियाँ कन्टेनरले सीधै नेपाली भन्सारमा सामग्री ल्याइदिने भएको छ । भन्सारको पुरानो भवनछेउमा रहेको सानो यार्डमा सामग्री झार्न लागेको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।

‘दैनिक पाँच चिनियाँ कन्टेनर सामग्री यार्डमा राख्न मिल्छ । पुरानो भन्सारको तल्लोछेउ भोटेकोसी नदी किनारकाे यार्डमा सामान झारौँ भनेर मैले प्रस्ताव राखेँ,’ त्यसो गर्दा १५–२० कन्टेनर एकैपटक राख्न सकिने बताउँदै उनले भने, ‘तर, उनीहरूले मानेनन् ।’ आइसोलेट एरिया टाढा राख्दा समस्या पर्ने चिनियाँको भनाइलाई स्वीकार्दै तत्काललाई सडकछेउको सानो यार्डमा सामान झार्ने तयारी भएको उनले प्रस्ट्याए । दसैँको टीका लगाएपछि काममा फर्कन सबै कर्मचारीलाई निर्देशन गरेको उनले बताए । 

केही दिनअघि तातोपानी क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विजयादशमीलगत्तै नाका खुलाउन नेपाल–चीन सहमति भएकोले तयारी थाल्न भनेका थिए । ज्ञवालीसँगै उद्योग, वाणिज्य तथा आपूर्ति र भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारी पनि नाका निरीक्षणमा पुगेका थिए । 

सम्बन्धित मन्त्रालयबाट नाका पुग्ने कोदारी सडक र यहाँका भौतिक संरचनाको पटकपटक निरीक्षण गरिएपनि सुधारको काम भएको छैन । कोदारी राजमार्गको अवस्था दयनीय भएकोले भारी बोकेर गुड्ने कन्टेनरलाई पलपलमा जोखिम छ ।  

चिनियाँ क्षेत्रमा भने ९ कात्तिकबाटै भन्सारको काम सुरु गर्ने तयारी गरिएको छ । भन्सार क्लियरेन्स एजेन्ट सोनाम पाल्डेनले दिएको जानकारीअनुसार खासा क्षेत्रमा सामान ओल्टीपल्टी गर्ने र कन्टेनरमा लोड गर्ने काम थालिने छ । जांमु प्रशासनको अनुमतिमा चिनियाँ सामग्री सीधै नेपालको पुरानो भन्सार यार्डमा झार्ने भएकोले अब आयात नरोकिने र नाका निरन्तर चल्ने उनले बताए । 

भूकम्पपछि ०७६ जेठ १५ देखि खुलेको तातोपानी नाकाबाट आक्कलझुक्कल आयात मात्रै भएको थियो । चार महिनाअघि २४ असारमा बाह्रबिसेको जम्बु गाउँसँगै कोदारी राजमार्ग भोटेकोसीले बगाएपछि नाका बन्द थियो । वर्षात् कम भएपछि १९ असोजबाट खुलेको नाका भोलिपल्टैबाट बन्द भयो । चिनियाँ क्षेत्रमा गएर सामान लोड–अनलोड गर्ने सात मजदुरमा कोरोना पजिटिभ देखिएकोले जांमु प्रशासनले एकतर्फी नाका बन्द गरेको थियो ।

१८ कात्तिकमा झारिएका १२ कन्टेनर सामान नेपाल भित्रिएका थिए । अलपत्र परेका नेपाली व्यापारीको सामान ६ महिनादेखि खासा क्षेत्रमा थुप्रिएका हुन् । खासा र न्यालममा दुई सय कन्टेनर सामान रोकिएका छन् ।