१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार २o:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मटर तस्करी रोक्न खोज्दा असइ र जवानको हत्या 

सात अभियुक्त सार्वजनिक, अपराध स्वीकार गरेको प्रहरीको दावी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:२९:oo

भारततर्फ मटर तस्करी भइरहेका वेला रोक्न खोजेपछि प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भएको खुलेको छ । मटर तस्कर समूहले प्रहरीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा सातजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

धनगढी उपमहानगरपालिका– १० स्थित वनकट्टीघाटबाट शनिबार राति नेपालबाट भारततर्फ तस्करी भइरहेको मटर इन्चार्ज विक र जवान साउदले नियन्त्रणमा लिन खोजेका थिए । नियन्त्रणमा लिन खोजेपछि तस्कर समूहले प्रहरीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । मटर तस्करी गरिरहेको वेला अवरोध गरेपछि प्रहरीको हत्या गरेको पक्राउ परेकाहरूले बयानका क्रममा खोलेका हुन् । 

वनकट्टीघाटबाट तस्करी भइरहेको सूचना पाएर पुगेका सइ विक र जवान साउदलाई घाटबाट करिब चार सय मिटरको दूरीमा रहेको उखुबारीछेउमा हत्या गरेर शव नदीमा फालेको पक्राउ परेकाहरूले स्वीकार गरेका प्रहरी उपरिक्षक देउवाले बताए । प्रहरीका अनुसार उनीहरूले फरुवालगायतका घरेलु हतियारको आक्रमणबाट प्रहरीको हत्या गरेको बताएका छन् । हत्यापछि शव घिसार्दै नेपाल–भारत सिमानास्थित मोहना नदीमा फालेको प्रहरीले जनाएको छ । 

धनगढी–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक विक र त्यहाँ कार्यरत प्रहरी जवान साउद शनिबार राति गस्तीमा गएदेखि बेपत्ता भएका थिए । विकको शव आइतबार वनकट्टीघाटस्थित मोहना नदीको बीचमा फेला परेको थियो । विकको शव फेला परेको स्थानबाट करिब तीन सय मिटरको दूरीमा नदीको बीच भागमा गाडेको अवस्थामा मंगलबार बिहान प्रहरी जवान साउदको शव फेला परेको छ । दुवै जनाको घाँटीमा धारिलो हतियारको चोट देखिएको छ ।

घटना योजनाबद्ध रूपमा भएको प्रहरीको भनाइ छ । तीन महिनाअघि सरुवा भएर गएका इन्चार्ज विकले तस्करी नियन्त्रणमा कडाइ गरेका थिए । स्थानीयका अनुसार तस्करी नियन्त्रणमा कडाइ गरेपछि उनी तस्करको निशानामा थिए । असइ विक र जवान साउदको हत्यापछि राति तस्करहरूले करिब ५० बोरा मटर भारतीय गाउँ सलियापार पुऱ्याएको खुलेको छ । घटनास्थलमा छरिएका मटर देखेपछि प्रहरीले सोही आधारमा अनुसन्धान गर्दै जाँदा संलग्नहरू पक्राउ परेका हुन् ।

भारतमा केही समययता मटरको माग उच्च छ । सोही कारण नेपालका विभिन्न नाका भएर भारतमा मटर तस्करी हुने गरेको छ । तेस्रो मुलुकबाट समेत आयात भएर मोटर नेपाल हुँदै भारत तस्करी हुने गरेको बताइन्छ । यसअघि टीकापुर र भजनीको नाका प्रयोग गरी मटर तस्करी हुँदै आएकोमा पछिल्लो केही समययता तस्करहरूले उपमहानगरपालिका–१०, को वनकट्टीघाटलाई प्रयोग गर्न थालेको बताइन्छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार मटरसहितको डल्लप घाटनजिक पुगेका वेला प्रहरीले अगाडिबाट टर्च लगाएपछि तस्करहरू भागेका थिए । ‘प्रहरी के–कति संख्यामा छन् भन्ने बुझेपछि भागेका तस्करहरू केहीबेरपछि सामान भएकै ठाउँमा आए र सामान छोड्न भनेर विवाद गर्न थाले । प्रहरीले छोड्न मानेन । माथि खबर गर्नुपर्छ भन्नेबित्तिकै जवानलाई लाठीले हाने । किन हानेको भनेर अइसले भन्दा उनलाई पनि प्रहार गरे । रातिको समय, प्रहरीले प्रतिकारै गर्न पाएन ।’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृतले भने, ‘प्रहरीलाई मारेर नदीमा फालेपछि निर्धक्कसँग मटर पारि पुऱ्याएर फर्केछन् ।’

पक्राउ परेका धनगढी उपमहानगरपालिका–१०, का पर्कु भनिने ३१ वर्षका रोहित राना, २० वर्षका राजेन्द्र राना, ३० वर्षका चोर भनिने सुरेश राना, २५ वर्षका गब्बर भनिने राजकुमार राना, २२ वर्षका रामनिवास राना, २९ वर्षका टल्लु भनिने दलराम राना र २५ वर्षका गोपाल भनिने रामगोपाल रानालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । उनीहरूले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

घटनास्थलको प्रकृतिका आधारमा प्रहरीले स्थानीयका घरमा छापा मारेको थियो । सो क्रममा स्थानीय व्यक्तिहरूको घरबाट बरामद भएका भिजेका मोबाइल र कपडाका आधारमा प्रहरीले हत्यामा संलग्न व्यक्तिहरू पक्राउ गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । घटनामा संलग्न केही व्यक्ति फरार रहेकोले उनीहरूको खोजी कार्य जारी रहेको विष्टले बताए ।

पक्राउ परेकाहरू सबै तस्करीमा संलग्न रहँदै आएको खुलेको प्रहरीले जनाएको छ । उनीहरूले भारतबाट कपडा, खाद्यान्न, हार्डवेयर र इलेक्ट्रोनिकका सामान, गाडीका पार्टपुर्जालगायत सामान र नेपालबाट मटर तस्करी गर्दै आएको विष्टले बताए ।
 

ad
ad