१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
जुडिथ ट्विग
२o८१ बैशाख २४ सोमबार o७:२२:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

खोपले बढाएको रुसको सफ्ट पावर

Read Time : > 3 मिनेट
जुडिथ ट्विग
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:२२:oo

ट्रम्पले चुनावअघि नै कोरोना भाइरसको खोप ल्याउन दबाब दिँदा स्वास्थ्यकर्मीले चिन्ता जनाएका थिए । तर, अनुगमनकर्ताहरू खोपको सुरक्षामाथि अडिग रहेपछि अहिलेका लागि ट्रम्पको दबाब निस्तेज भएको छ । ट्रम्पले भनेझैँ चाँडै खोप बनेको भए पनि उनी कारोना भाइरसको खोपलाई स्वीकृति दिने पहिलो विश्व नेता हुने थिएनन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले नै एउटा खोपलाई स्वीकृति दिइसकेका छन् । ट्रम्पको ‘अमेरिका फस्ट’ शैलीविपरीत पुटिनले पूर्ण रूपमा परीक्षण नभई स्वीकृत भएको आफ्नो देशको खोपलाई मित्रहरूको मन जित्न प्रयोग गर्ने भएका छन् । यसबाट आफ्नो सफ्ट पावर विस्तार गर्ने उनको लक्ष्य छ । 

अगस्ट ११ मा रुसी स्वास्थ्य मन्त्रालयले स्पुतनिक पाँचौँ नामक खोपलाई स्वीकृति दियो । खोपलाई मस्कोस्थित गमेलिया रिसर्च इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको हो । खोपको घोषणाले एक खालको तरंग नै ल्याएको थियो । कोरोनाविरुद्ध विश्वको पहिलो खोपका रूपमा घोषणा हुँदा पनि त्यसको बृहत्तर परीक्षण सुरु नै गरिएको थिएन ।

यसको मतलब खोपको प्रभावकारिता र सुरक्षा दुवैको पूर्ण जाँच भएको थिएन । त्यो समयसम्म यसको प्रारम्भिक चरणको चिकित्सकीय परीक्षणको तथ्यांकसमेत सार्वजनिक गरिएको थिएन । त्यसयता ‘द ल्यान्सेट’ नामक जर्नलमा प्रारम्भिक परीक्षण उत्साहप्रद रहेको अध्ययन प्रकाशन भएको छ । द ल्यान्सेटमा प्रकाशित अध्ययनमा केही वैज्ञानिकले प्रश्न गरेका छन्, तथापि शीर्ष रुसी वैज्ञानिकले तिनको खण्डन गरेका छन् ।

यसका बाबजुद खोपको समाचार रुसी सरकारनियन्त्रित मिडियामा छायो र रुस स्पुतनिकलाई महत्वपूर्ण कूटनीतिक सफलताका रूपमा अघि बढाउन तयार देखिन्छ । तथापि, सिरिया गृहयुद्ध र पेरिस शान्ति सम्झौताबाट अमेरिकाको बहिर्गमन र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने योजनामाझ जुन रिक्तता उत्पन्न भइरहेको छ, पुटिनले त्यसमा आफ्नो स्थान बढाउन खोजेका मात्र हुन् ।

खोप स्वस्थ मानिसलाई दिइने भएकाले तिनको स्वीकृतिका लागि ठूलो नियामक अवरोध पार गर्नुपर्छ । तेस्रो चरणका लागि हजारौँ, अझ दशौँ हजारमा मानिस सहभागी गराइन्छ । यो चरणमा खोपका सानाभन्दा साना साइड इफेक्ट मात्र होइन, अलग–अलग जनसंख्यामा तिनको प्रभावकारिताको परीक्षण गरिन्छ । स्वीकृति दिइँदा स्पुतनिक खोप जम्मा ७६ मानिसमा परीक्षण गरिएको थियो ।

मस्कोका मेयर कार्यालयले खोपको अन्तिम चरणको परीक्षणका लागि ४० हजार स्वयंसेवक लिएको छ, तर सँगसँगै अग्रमोर्चामा रहेका चिकित्सक तथा शिक्षकलाई खोप दिइँदै छ । खोप छिटो ल्याउने प्रतिस्पर्धा घातक हुन सक्छ । कम प्रभावकारी खोप लगाएर मानिसले मास्क लगाउने तथा भौतिक दूरी कायम गर्ने कुरा त्यागे भने भाइरसको विस्तार बढ्नेछ । कम्तीमा अमेरिकामा सबैभन्दा अग्रस्थानमा रहेको खोप अहिले तेस्रो चरणमा प्रवेश गरेको छ ।

स्पुतनिक पछि प्रभावकारी ठहरिन पनि सक्छ । रुसमा ठूलो संख्यामा विश्वस्तरीय वैज्ञानिक छन् र गमेलिया इन्स्टिच्युटले अहिले खोपमा बाजी मारेको दाबी गरेको छ । गमेलिया इन्स्टिच्युटले विगतका सफलतामा इबोलाको एउटा खोप विकास उल्लेख गर्ने गरेको छ । इन्स्टिच्युटका अनुसार उसले मर्स (मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम) खोपलाई फेरबदल गरेर कोरोना भाइरसको खोप विकास गरेको हो । तर, उसले उल्लेख गरेको खोपहरू प्रयोगमा ल्याएको कुनै प्रमाण छैन । 

कोरोना भाइरसको सम्भावित खोप विकास गर्ने अहिलेको दौड सन् १९९० को दशकमा एचआइभी/एड्सविरुद्ध एन्टिरेट्रोभाइरस विकासको प्रतिस्पर्धाजस्तो देखिन्छ । सन् २००९ मा एच१एन१ इन्फ्लुएन्जा खोपको विकास गर्ने वेला पनि यस्तै प्रतिस्पर्धा देखिएको थियो । समृद्ध मुलुकले खोप विकास भइहालेमा सुरुवाती उत्पादन आफ्नो लागि सुरक्षित गरिसकेका छन् । ती मुलुकले उपभोग गरेर बचेपछिको खोप मात्र बाँकी देशले पाउनेछन् ।

अमेरिका विश्व मामिलाबाट पन्छिँदै जाँदा रुस भने महामारीमा अन्य राष्ट्रलाई सघाउने वाचा गरिरहेको छ 

उदाहरणका लागि अमेरिकाले ६ सम्भावित खोपको ८० करोडभन्दा बढी डोज एड्भान्समा किन्ने प्रतिबद्धता गरेको छ । अमेरिकाको लोभी देशको छविलाई थप बढाउने गरी ट्रम्प सरकारले कोभ्याक्स नामक प्रयासमा सहभागी नहुने बताएको छ । दर्जनौँ देश खोप विकास भएपछि खोपको एकल खरिद गरेर समान रूपमा वितरण गर्ने प्रयासमा जोडिएका छन् । रुस स्वयं कोभ्याक्समा नजोडिए पनि उसले यसमा आफूलाई सहयोगीको रूपमा देखाउन सक्छ । 

रुसले केही दर्जन मुलुकलाई निर्माण तथा लाइसेन्सको अफर गरेको छ । यसमा उसका पुराना मित्र मात्र होइन, भारत, ब्राजिल र मेक्सिको पनि जोडिएका छन् । रुसको दाबीअनुसार ४० सहयात्रीले एक अर्ब डोजको प्रारम्भिक आवेदन दिएका छन् । सम्झौताका सर्त बाहिर आएको छैन, तर स्पुतनिकको सुरक्षा तथा प्रभावकारिता कमजोर ठहरिए ती सम्झौता रद्द हुन सक्छ । पश्चिमा देशहरूले साथ छाडेको र न्यून मूल्यमा खोप पाइरहेको अवस्थामा मेक्सिको, ब्राजिलजस्ता चिकित्सकीय, सामाजिक र आर्थिक दबाब सामना गरिरहेका मुलुकसँग रुसबाहेक अन्य विकल्प पनि छैन । 

विश्वलाई बचाउने पुटिनको भूमिकालाई चीनले मात्र चुनौती दिन सक्छ । चीन पनि आफ्नो खोपको मापदण्ड पूरा गर्न तीव्रताका साथ लागिपरेको छ । खोप बनेपछि तिनको बिक्रीका लागि सम्झौताहरू भइरहेका छन् । उसले क्यारेबियन तथा ल्याटिन अमेरिकी मुलुकहरूलाई खोप किन्न सघाउने गरी अर्बौं डलरको ऋण दिएको छ । चीन पनि कोभ्याक्समा समेत जोडिएको छ ।

रुसका सरकारी मिडियाले भने रुसी खोप मात्र सुरक्षित र प्रभावकारी रहेको दाबी गर्न थालेका छन् । यस्तो गलत सूचना फैलाउने कुरामा रुसको लामो इतिहास छ । सन् १९८० को दशकको अन्त्यतिर सोभियत जासुसी निकाय केजिबीले विश्वभरका पत्रिकामा एचआइभी÷एड्स अमेरिकी जैविक हतियार भएको हल्ला फैलाउन लगानी गरेका थिए । 

रुसका लागि स्पुतनिक खोप राष्ट्रिय स्वाभिमानभन्दा माथि छ । पछिल्लो समय विभिन्न खराब समाचार आएकाले पुटिनलाई एउटा धमाकेदार सफलता चाहिएको थियो । र उनी आफ्नो पुरानो खेलमा अघि बढेका छन्, अमेरिकाको गलत कदम तथा कमजोरीबाट फाइदा उठाउने । अमेरिकाले केही समयदेखि एक्लै अघि बढ्ने, प्रमुख सहयात्रीलाई बेवास्ता गर्ने, स्थापित विज्ञानबाट पछि हट्नेजस्ता काम गरेर रुसको छविलाई बलियो बनाउने र उसलाई विश्वशक्तिको रूपमा खडा हुने अवसर दिएको छ । 

जुडिथ ट्विग भर्जिनिया कमनवेल्थ विश्वविद्यालयकी राजनीतिशास्त्रका प्राध्यापक हुन् ।

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

ad
ad