
अमेरिकी समाजमा समयको पालनालाई बढी नै महत्व दिइन्छ । अमेरिकी नागरिक समयको पालनामा आज मात्र होइन, हिजो पनि उत्तिकै प्रतिबद्ध थिए । समयको परिपालनामा अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टन निकै सचेत थिए । उनलाई विश्वभर समयको महत्व बुझ्ने नेताको उदाहरणका रूपमा लिइन्छ । समय अमूल्य छ भन्ने राम्रो सुझ थियो, उनलाई । त्यसैले उनी सदैव आफ्नो एक–एक पलको सदुपयोग गर्थे ।
समयको एउटा सानो अंश पनि खेर जान दिँदैनथे । उनले समय खेर फालेको वा समयको सही उपयोग नगरेको कुनै उदाहरण पाइँदैन । उनी जे गर्थे, समयमै गर्थे । तोकिएको समयको एक पल पनि खेर जान नदिने उनको नियम नै थियो । एकपटक उनले आफ्ना केही साथीलाई दिवा भोजनका लागि आफ्नो घरमा निमन्त्रणा गरे ।
पाहुनाका लागि खाना खाने समय दिनको १ बजेलाई तोकिएको थियो । संयोगवश पाहुनाहरू त्यो समयमा आइपुग्न सकेनन् । तोकिएको समयसम्म त उनले धैर्यपूर्वक पाहुनाको प्रतीक्षा गरे । तर, जब तोकिएको समय गुज्रियो, उनले पाहुनालाई नकुरी खाना खान सुरु गरे ।
उनले खान थालेको केही मिनेटपछि नै आमन्त्रित पाहुना आइपुगे । यो देख्दा त्यहाँ खाना खान बोलाइएका पाहुनालाई नराम्रो लाग्यो । उनीहरूले केही नभने पनि वासिङ्टनले उनीहरूको मनको भाव बुझे । त्यसैले उनले भने, ‘मलाई क्षमा गर्नुस् मित्रहरू ! खाना टेबलमा लगाउनुअगाडि मेरो भान्छेले खाने मान्छे आइपुगे कि पुगेनन् भनेर कहिल्यै सोध्दैन । उसले केवल यो सोध्छ कि समय भयो या भएन ? त्यसैले मैले आज पनि उसलाई ढाँट्न र रोक्न सकिनँ ।’ वासिङ्टनको यस्तो भनाइ सुनेर आमन्त्रित पाहुना लज्जित भए र आफूहरू ढिलो भएकोमा क्षमा मागे ।