Skip This
गस्तीमा गएका प्रहरीको हत्या घटना : उखुबारीमा हत्या गरेर नदीमा शव फालेको प्रहरीको निष्कर्ष, शंकास्पद ११ जना नियन्त्रणमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गस्तीमा गएका प्रहरीको हत्या घटना : उखुबारीमा हत्या गरेर नदीमा शव फालेको प्रहरीको निष्कर्ष, शंकास्पद ११ जना नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १६:२५:oo

धनगढी उपमहानगरपालिका– १२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टबाट गस्तीमा गएका प्रहरीको हत्या भएको घटनामा प्रहरीले स्थानीय ११ जनालाई नियन्त्रणमा लिएको छ । 

विगतमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र उक्त नाकाबाट सामान तस्करी गर्ने पृष्ठभूमि भएका ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव हत्या गरिएको अवस्थामा आज फेला परेको थियो । 

इन्चार्ज विक सोही पोस्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदलाई लिएर शनिबार राति गस्तीमा गएका थिए । 

प्रहरीका अनुसार राति साढे १० बजेपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।

उनको शव नेपाल–भारत सिमानामा बग्ने मोहना नदीमा फेला परेको थियो । 

धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए । 

तस्करसँगको झडपमा उनको हत्या भएको प्रहरीको अनुमान छ । सँगै गएका प्रहरी जवान साउद फेला परेका छैनन् । गस्तीमा लगिएको मोटरसाइकल घटनास्थलभन्दा केही दूरीमा फेला परेको छ ।

शव फेला परेको स्थानभन्दा करिब एक किलोमिटरको दूरीमा उखुबारीनजिक प्रहरीको जुत्ता भेटिएको छ । 

त्यहाँ चप्पल पनि भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उखुबारीनजिक हत्या गरेर शवलाई मोहना नदीमा बगाएको देखिएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उखुबारीमा घम्साघम्सी भएको देखिन्छ । रगतका छिटाहरूसमेत देखिन्छन् ।

बेपत्ता प्रहरी जवान साउदको खोजीका लागि मोहना नदीमा सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ । 
स्थानीय तस्करले हत्या गरेको प्रहरीको अनुमान छ ।

ad
ad