मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ कार्तिक १ शनिबार १५:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्जमा प्रहरीद्वारा साढे २२ किलो सुन बरामद

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १ शनिबार १५:३५:००

पर्सा प्रहरीले शनिबार ठूलो मात्रामा सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका– ५ रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट २२ किलो पाँच सय ७६ ग्राम सुन बरामद गरेको हो । 

प्रहरीका अनुसार विशेष सुराकीको आधारमा अपार्टमेन्टको फ्ल्याट  नम्बर ३०३ नम्बरमा ताला फोडेर सुन बरामद गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

सुन बरामद भएको फ्ल्याटमा भारत रक्सौल पूर्वी चम्पारण बिहार हरैयाका अशोक सिन्हा बस्दै आएको पत्रकार सम्मेलनमा उनले बताइन् । उनका अनुसार सूचना आएको दुई दिनदेखि अपार्टमेन्टमा निगरानी राखिएको थियो । दुई दिनअघि आएको सूचनाले अपार्टमेन्टलाई निगरानीमा राखेर  स्थानीय र जनप्रतिनिधिको रोहबरमा ताला फोडेर सुन बरामद गरिएको उनको भनाइ छ । 

कुन सुन कति ?

शनिबार दिउँसो १ बजेको समयमा प्रहरी प्रमुख पन्तको कमान्डको टोलीले विशेष सुराकीको आधारमा फ्ल्याटमा ताला तोडेर सुन बरामद गरेको छ । बरामद भएको सुनमा ठूलो साइजको सुनको बिस्कुट एक किलोका १३ वटा, सुनको मझौला बिस्कुट ४६ पिस आठ किलो पाँच सय ७६ ग्राम र सुनको सानो एक सय ग्रामको दरले १० पिस अर्थात् एक केजी बरामद पत्रकार सम्मेलनमा पन्तले जानकारी दिइन् । 

यस्तै सुनका विभिन्न गरगहना जम्मा ६ सय ६१ ग्राम र चाँदीको गरगहना तथा थाललगायतका भाँडाकुँडा दुई किलो दुई सय ६२ ग्राम बरामद भएको प्रहरी उपरीक्षक पन्तले बताइन् । उनका अनुसार सुन बरामद भएको फ्ल्याटमा कति जना र को–को बस्दै आएका थिए, यस बवषयमा अनुसन्धान भइरहेको छ । 

प्रहरी प्रमुख पन्तका अनुसार सुन बरामद भएको फ्ल्याटमा बस्दै आएका सिन्हा केही समयदेखि फ्ल्याटमा नआएको जानकारी प्राप्त भएको छ । ‘सिन्हाका फ्ल्याटबाट केही कागजात पनि बरामद भएको छ,’ पन्त भन्छिन् । यस विषयमा अहिले अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने उनको भनाइ छ । बरामद भएको समयदेख फ्ल्याटधनी हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । 

कहाँबाट भित्रिएको थियाे वीरगन्जमा सुन ? 

पर्साका प्रहरीको तथ्यांकअनुसार पर्सामा अहिलेसम्मको इतिहासमा साढे २२ किलो सुन पहिलोचोटि बरामद भएको छ । ठूलो मात्रामा बरामद भएको सुन भारतमा भित्र्याउनका लागि वीरगन्जमा भित्र्याइएको स्रोतले जनाएको छ । ठूलो मात्रामा अवैध सुन ओसारपसारमा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने आशंका भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कोरोना महामारीमा नेपाल सरकारले कात्तिक मसान्तसम्मका लागि सीमानाका सिल गरेको छ । तैपनि छिटफुटमा सीमानाका खुला भएकाले नाकालाई प्रयोगमा लगाएर भारतमा भित्र्याउनका लागि सुन वीरगन्ज आएको स्रोत बताउँछ । 

स्रोतका अनुसार बरामद भएको सुन तस्करले भारत भित्र्याउन लगाएको हो कि मुख्य योजनाकारको हो भन्ने विषयमा विस्तारै अनुसन्धानबाट खुल्दै जानेछ । तस्करले तस्करीका लागि सधैँ सिमानाका खुला भएको नयाँ ठाउँलाई आफ्नो माध्यमले ल्याउने गरेको स्रोतले जनाएको छ । 

प्रहरी स्रोतका अनुसार सुनको कारोबारीले एउटा तरिका असफल हुनासाथ उसले तुरुन्तै तस्करीको तरिका बदल्छ । तस्करीका लागि उसले सधैँ आर्थिक समस्याबाट गुज्रिएकाहरूलाई प्रयोग गर्छ । जब तस्करीका लागि उपयुक्त पात्र फेला पर्छ, उसलाई सधैँ निजी सुराकीमार्फत निगरानीमा राख्ने गर्दछन् । 

तस्करीमा प्रयोग हुने सामग्री केही कागजात बरामद भएकाले थप खुल्दै जाने पर्सा प्रहरी स्रोतले जनाएको छ । बरामद भएको सुन कति महिनादेखि राखिएको छ, कसले लगाएको हो यो विषय गम्भीर रहेकाले अनुसन्धानको बाटो बाट खुल्दै जाने प्रहरी अधिकृतहरूले बताएका छन् । 

प्रहरीका अनुसार तस्करीमा प्रयोग हुने तरिका मात्र होइन सूचना आदानप्रदानमा प्रयोग हुने मोबाइल, सिमकार्ड, ढुवानी प्रयोग हुने मोटरसाइकलसमेत दोस्रोपटक प्रयोग गर्दैन । जसले गर्दा तस्करीका मुख्य योजनाकार पक्राउ गर्न मुस्किल छ । बरामद सुनको दिन बजार मूल्य ९० हजार प्रतितोलाको रुपैयाँ रहेको बताइएको छ ।