भक्तपुर इन्काउन्टर : डिएसपी कुँवरसहित पाँच प्रहरीलाई कानुनी कारबाही गर्न आयोगको सिफारिस

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

दुई वर्षअघि भक्तपुरमा भएको विवादास्पद इन्काउन्टर घटनामा अनावश्यक बल प्रयोग भएको भन्दै पाँच प्रहरीलाई कानुनी कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको छ ।

घटनास्थलमा खटिएका डिएसपी रुगमबहादुर कुँवर, सइहरू दीपेन्द्र चन्द, प्रसन्न मल्ल र रञ्जित लामा तथा असइ राजन खड्कालाई आयोगले कारबाहीको सिफारिस गरेको हो ।

आयोगले बुधबार नै त्यससमबन्धी निर्णय गरेकोमा शुक्रबार यसबारे औपचारिक विवरण सार्वजनिक गरेको हो ।

कारबाही सिफारिस गरिएका पाँचैजना प्रहरी त्यतिवेला महानगरीय अपराध महाशाखामा कार्यरत थिए ।

पाँचमध्ये सइ मल्लले जागिर छाडिसकेका छन् भने लामा इन्सपेक्टरका रूपमा कार्यरत छन् ।

अन्य तीनजना जागिरमै छन् । पेप्सिकोलानिवासी बालक निशान खड्काको अपहरण र हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका अजय तामाङ र गोपाल तामाङको २० साउन ०७५ मा प्रहरी गोली लागेर मृत्यु भएको थियो ।

भाग्न खोज्दा उनीहरूलाई गोली हानिएको प्रहरी दाबी थियो ।

तर, छानबिनको क्रममा उनीहरूलाई डेराबाटै पक्राउ गरी जंगलमा लगेर गोली हानिएको आधार देखिएको निष्कर्ष आयोगले निकालेको छ ।

घटनास्थलमा मुठभेडको कुनै प्रमाण नभएकाले प्रहरीबाट मानवअधिकारको गम्भीर उल्लंघन भएको ठहर गरी आयोगले उनीहरूलाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

यसअघि आयोगले विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टरमा संलग्न तीन प्रहरीलाई पनि पक्राउ गरी मुद्दा चलाउन सिफारिस गरेको थियो ।

जुन सिफारिस हालसम्म कार्यान्वयन भएको छैन ।

सुझावित समाचार