मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल सुर्खेत
२०७७ असोज २६ सोमबार १२:४७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गाउँगाउँमा सिंहदरबारको व्यथा : नागरिकले स्ट्रेचर पाएनन्, जनप्रतिनिधिले महँगा गाडी किने

Read Time : > 2 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ असोज २६ सोमबार १२:४७:००

कालिकोटको तिलागुफा नगरपालिकामा ५ मंसिर ०७५ मा नेपाल वातावरण समूहले आयोजना गरेको ‘दलितका समस्या विषयक’ अन्तर्क्रिया कार्यक्रममा नगरपालिका– ३ का दलित महिला वडा सदस्य सम्झना दर्जीले बिरामी बोक्ने स्ट्रेचरको माग गरिन् । 

‘हामीलाई कुनै अन्य सुविधा चाहिएको छैन,’ उनले अन्तर्क्रिया कार्यक्रम भनेकी थिइन्, ‘एउटा स्ट्रेचर भए बिरामी बोक्नलाई सजिलो हुने थियो । त्यो नगरपालिकाले व्यवस्था गरोस् ।’

दर्जीले माग गरेको दुई वर्षमा पनि उनको वडामा स्ट्रेचर आइपुगेको छैन । तर, नगरपालिकाका प्रमुखलाई एउटा स्कार्पियो गाडी र वडाध्यक्षहरूलाई एक–एकवटा मोटरसाइकल आइपुगेको छ । 

दर्जीले माग गरेको स्ट्रेचर आइपुगेको वा नपुगेको विषयमा झन्डै दुई वर्षपछि प्रश्न गर्दा उनले भनिन्, ‘कहाँ स्ट्रेचर आउनु, मेयर र वडाध्यक्षलाई गाडी र मोटरसाइकल आएका छन् । हामीलाई स्ट्रेचर आइपुगेको छैन ।’ 

दर्जीले आफूहरूलाई स्ट्रेचर अझै आवश्यक रहेकाले त्यसको व्यवस्था मिलाइदिन आग्रह गरिन् । ‘स्ट्रेचरको व्यवस्था तपाईंले मिलाइदिने हो भने दुईवटा जति चाहिएको छ,’ उनले भनिन्, ‘पठाइदिन पहल गरिदिनुहोला ।’

गत बिहीबार कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ५ रुप्सानिवासी २३ वर्षीया मंगला सहकारीलाई सुत्केरी बेथा लाग्यो । 

सुत्केरी बेथा लागेपछि गाउँमा स्ट्रेचर नहुँदा कपडासहित एउटा काठमा बाँधेर उनलाई स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा नै छोरीलाई जन्म दिइन् ।

कालिकोट जिल्लाका ६ वटा गाउँपालिका र तीनवटा नगरपालिकाले अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायतका जनप्रतिनिधिलाई सवारीसाधन अनिवार्य बनाएका छन् । 

सडक नै नभएका गाउँका स्थानीय तहमा समेत सवारीसाधनको मोह बढेको छ । गाउँपालिका अध्यक्ष तथा नगरपालिकाका प्रमुखहरूले महँगा गाडी चढ्ने गरेका छन् भने वडाध्यक्षहरूले मोटरसाइकल चढ्ने गरेका छन् । 

जिल्लाको खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे, रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल र तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीलाई चढ्नका लागि महँगा गाडी खरिद गरेका छन् । 

वडाध्यक्षहरूका लागि रास्कोट नगरपालिकाले गत आर्थिक वर्षमा १६ वटा मोटरसाइकल र नगर प्रमुखका लागि गाडी खरिद गरेको छ । 

त्यस्तै, तिलागुफा नगरपालिकाले नगरप्रमुखका लागि गाडी र वडाध्यक्षका लागि १२ वटा मोटरसाइकल खरिद गरेको छ । खाँडाचक्र नगरपालिकाले गत आर्थिक वर्षमा नै नगरप्रमुखका लागि गाडी खरिद गरेको नगरपालिकाले जनाएको छ । 

सडक नै नभएका जिल्लाका शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, पचाल झरना गाउँपालिका र पलाता गाउँपालिकामा एक मिटर सडकमा गाडी गुड्दैनन् । ती गाउँपालिकामा समेत सवारीसाधन खरिद गरिएका छन् । 

नरहरिनाथ गाउँपालिकामा एक मिटर सडक नै नबनेको र गाउँपालिका अध्यक्षका लागि बाेलेरो जिप र केही वडाध्यक्षका लागि सवारीसाधन खरिद गरिएको गाउँपालिका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए । 

‘गाउँमा सडक नै बनेको छैन,’ उनले भने, ‘तर, अध्यक्षका लागि भनेर गाडी खरिद गरिसकियो ।’ 

त्यस्तै, शुभकालिका गाउँपालिकामा एक मिटर सडकमा सवारीसाधन गुड्दैन, तर त्यस गाउँपालिकामा सातवटा मोटरसाइकल खरिद गरिएको र ती माेटरसाइकल जनप्रतिनिधिका आफन्तहरूले सुर्खेतलगायतका बजारमा चलाउने गरेको कालिकोटका स्थानीय रनबहादुर शाहीले बताए । 

‘गाउँपालिकामा सडक नै बनेको छैन,’ उनले भने, ‘जनप्रतिनिधिहरूले आफ्नो सुविधाका लागि सवारीसाधन खरिद गरेका छन् ।’ 

पलाता र पचाल झरना गाउँपालिकामा पनि सवारीसाधन चल्ने सडक छैन । तर, त्यहाँ पनि सवारीसाधन खरिद गरिएको छ । 

स्थानीय भन्छन्, ‘यो त अति भो, स्थानीय तहमा विकास निर्माणका लागि आएको रकमबाट जनप्रतिनिधिले सवारीसाधन खरिद गरिनु दुर्भाग्यपूर्ण र चरम लापरबाही हो, यो रोक्न कसले काम गर्ने हो ? चरम बेथिति भयो ।’ 

उनीहरूको भनाइ छ, ‘विकास निर्माणका लागि आएको रकम जनप्रतिनिधिहरूले आफूखुसी सवारीसाधन खरिद गरिनु गैरजिम्मेवारपूर्ण काम हो ।’

कालिकोट नागरिक समाजका अगुवा दमनराज बमले विकास निर्माणका लागि खर्च गरिनुपर्ने रकम स्थानीय तहहरूका जनप्रतिनिधिहरूले सवारीसाधनमा खर्च गर्नु उपयुक्त नभएको बताए । 

‘सिंहदरबार गाउँगाउँ आउने भनी भनिएको त जनप्रतिनिधिहरू मालामाल बनाउन पो रहेछ,’ उनले भने, ‘स्थानीय तहहरूले खरिद गरेका सवारीसाधन ठाउँठाउँमा भेटिने गरेका छन् । जनताले बिरामी बोक्ने स्ट्रेचर पाएका छैनन् ।’

दुर्घटना परेमा वा बिग्रिएमा स्थानीय तहहरूले खरिद गरेका सवारीसाधन त्यहीँ छोडेर जाने भएका कारणले ठाउँठाउँमा भेटिने गरेका हुन् । 

स्थानीय तहका सवारीसाधन बिग्रिएका अवस्थामा ठाउँठाउँमा भेटिने गरेको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जनाएको छ ।

मोटरसाइकल चलाउन चालक
मोटरसाइकल चलाउन नजान्ने स्थानीय तहका जनप्रतिनिधिहरूले ड्राइभर राख्ने गरेका छन् । 

आफैँ सवारीसाधन चलाउन नसक्ने जनप्रतिनिधिले ड्राइभर राख्ने गरेको र सवारीसाधनको चरम दुरुपयोग भएको स्थानीयको भनाइ छ ।

कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाकी उपाध्यक्ष तारा न्यौपानेले आफ्नै श्रीमान् ऐनबहादुर खड्कालाई आफ्नो मोटरसाइकल ड्राइभरका रूपमा नियुक्त गरेकी हुन् । 

मासिक १५ हजार रुपैयाँ तलब पाउने गरेर गाउँपालिकाले उनलाई मोटरसाइकल ड्राइभर नियुक्त गरेको हो ।