मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २० मंगलबार ०६:२४:००
Read Time : > 4 मिनेट
फिचर प्रिन्ट संस्करण

पर्यटकको पर्खाइमा तिलिचो ताल

Read Time : > 4 मिनेट
२०७७ असोज २० मंगलबार ०६:२४:००

सिजनमा दैनिक पाँच सयदेखि एक हजारसम्म पर्यटक पुग्ने मनाङको तिलिचो ताल अहिले पर्यटक आउने पर्खाइमा, अघिल्ला वर्ष पर्यटकलाई सेवा दिन भ्याइनभ्याई हुने पदमार्ग क्षेत्रका व्यवसायी यतिवेला कामविहीन

गत वर्षको यही समयमा सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सिंहबहादुर श्रेष्ठ साइकल चढेर मनाङको तिलिचो ताल उक्लिँदै थिए । मनाङको नार फू, काङ्ला पास, तिलिचो, मेसोकान्तो पास, इस्टर्न पास हुँदै १० दिनमा मुस्ताङ साइक्लिस्ट दीपक श्रेष्ठ र सुलोचन राजभण्डारीसँग साइकलमा उच्च हिमाली भू–भाग छिचोलेर फर्किएपछि श्रेष्ठले नयाँ पत्रिकासँगको कुराकानीमा भनेका थिए, ‘बाटोमा स्वदेशी तथा विदेशी यात्रुको लस्कर देखिन्थ्यो, पैदल हिँड्न पनि डर लाग्ने बाटोमा हामीले साइकल कुदाइरहेको देखेपछि विदेशीहरुले ‘हे, यू आर क्रेजी पिपुल’ भन्दै बोलाउँथे ।’ उनको भनाइअनुसार तिलिचो जाने बाटोमा पर्यटकको भिड थियो । गत वर्षको यही समय पदमार्गमा पर्ने होटेलहरू पनि पर्यटकले खचाखच भरिएका थिए । तिलिचो तालमा पुगेर खिचेका फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गर्नेहरू धेरै देखिन्थे । तर, यो वर्ष तिलिचो सुनसान छ । तालको छेउमा फोटो खिच्नेको भिड छैन । 

पछिल्लो समय विश्वकै अग्लो स्थान (४,९१९ मि.)मा रहेको तिलिचो ताल ट्रेकिङ जाने स्वदेशी तथा विदेशी पर्यटकको भिड बढिरहेको थियो । पदयात्रीलाई मध्यनजर गरेर ठाउँ–ठाउँमा टि–हाउस खुलेका थिए । तर, अघिल्ला वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याई हुने पदमार्ग क्षेत्रका व्यवसायीहरू कामविहीन बनेका छन् । वरिपरि रहेका सेता हिमाल पग्लिएर बनेको तिलिचो तालमा कोभिड महामारीका कारण पर्यटक पुग्न सकिरहेका छैनन् । सिजनमा दैनिक पाँच सयदेखि एक हजारसम्म पर्यटक पुग्ने तिलिचो ताल अहिले पर्यटक आउने पर्खाइमा छ । विगतका वर्षहरूको यही समय विदेशी पर्यटकको लर्को लाग्ने साहसिक अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्यटक देख्नै रहर भइरहेको व्यवसायी बताउँछन् ।

मनाङका पर्यटन व्यवसायी कर्मछिरिङ गुरुङ भन्छन्, ‘विगतका वर्षहरूमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याई हुन्थ्यो, यो वर्ष सिजनमै पर्यटक नआउँदा व्यवसाय नै बन्द गरेर बस्नुपरेको छ । प्राकृतिक छटाले भरिएको ताल तिलिचो पिक र निलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको हो । यो तालबाट अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि पर्यटकको घुइँचो लाग्ने गर्छ । मनाङ पुगेका पर्यटक तिलिचो तालमा नपुगी कमै मात्र फर्कने गर्छन् । कतिपय पर्यटक तिलिचो ताल अवलोकन गरी फर्किएर खाङ्सर, थोराङ्ला पास हुँदै जोमसोम निस्कन पुग्छन् । वर्षमा ३० हजार विदेशी पर्यटक र त्यसको दोब्बर आन्तरिक पर्यटक तिलिचो ताल पुग्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङले जनाएको छ । 

                                                                                            ........

मनाङका होटेल व्यवसायी यमबहादुर घले गत वर्षको यही समयमा तिलिचो जाने पर्यटकलाई होटेलका कोठाले नपुगेर टेन्टमा राख्नुपरेको बताउँछन् । उनी भन्छन्, ‘अहिले सबै होटेल खाली छन् ।’ लकडाउन खुकुलो भए पनि अझै आन्तरिक पर्यटक घुम्न निस्कन डराइरहेका छन् । विदेशी पर्यटक आउन अझै खुला गरिएको छैन । सरकारले १ कात्तिकदेखि ट्रेकिङ र माउन्टेनेयरिङमा जाने पर्यटकलाई खुला गर्ने बताएको छ । यो निर्णयले केही आशा पलाएको व्यवसायी बताउँछन् । मनाङका व्यवसायी कहिले सहज वातावरण बन्ला र पर्यटकीय चहलपहल बढ्ला भनेर पर्खिरहेका छन् ।

तिलिचोको नीलो पानीमा प्रतिविम्बित बादलका टुक्राहरू तालमा जादुगरी तैरिरहन्छन् । तीव्र गतिमा बगेको हावाको वेगसँग जिस्किरहने पानीको गति उस्तै अव्यक्त र रहस्यमय भएको मनाङ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घले बताउँछन् । ‘संसारको सबैभन्दा अग्लो स्थानमा रहेकोले तिलिचो ताल घुम्नका लागि सात समुद्रपारिका हजारौँ विदेशी पर्यटक तिलिचो ताल आइपुग्छन्,’ उनले भने, ‘हामी नेपाली अरू देशको प्रकृति हेर्न लाखौँ रकम खर्चेर जाने गरेका छौँ, तर स्वदेशमै भएका प्राकृतिक सम्पदामा रमाउन सकिरहेका छैनौँ ।’ हिमालको हिउँलाई टेकेर संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल पुगेपछि पर्यटकहरूले आफूले संसार जितेको अनुभूति गर्छन् । यो पदमार्गमा विशेष गरी बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउने गर्छन् । अन्नपूर्ण पदयात्रा मार्ग विश्वका उत्कृष्ट १० मध्ये एउटा गन्तव्य हो ।

कसरी पुग्ने तिलिचो ?

लमजुङको बेँसीसहर हुँदै अन्नपूर्ण पदमार्ग भएर तालसम्मको यात्रा सुरु गरिन्छ । बेँसीसहरबाट मनाङको चामे, पिसाङ हुँदै खाङ्सारसम्म मोटर जाने गर्छ । बेँसीसहरदेखि खाङ्सारसम्म सीधा यातायात सेवा सञ्चालनमा छ । खाङ्सारदेखि श्रीखर्क भएर तीन घन्टाको पैदलयात्रामा तिलिचो तालको बेसक्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट पैदल पाँच घन्टा हिँडेपछि तिलिचो ताल पुगिन्छ । तर, पैदलयात्रीहरू १० दिन लगाएर तिलिचो पुग्छन् । बेँसीसहरबाट पदयात्रा सुरु गरेपछि पहिलो दिन बाहुनडाँडा वास बस्न पुगिन्छ । दोस्रो दिन घ्यार्मु, स्याँगे हुँदै च्याम्चे र मनाङको पहिलो गाउँ तालगाउँमा वास बस्न सकिन्छ । तेस्रो दिन धारापानी, दानाक्यू, बगरछाप, चामे गाउँपालिकाको तिमाङ, थानचोक, कोतो हुँदै मनाङ सदरमुकाम चामेमा वास बस्न पुगिन्छ । चामेबाट लमजुङ हिमाल, मनास्लु र अन्नपूर्ण दोस्रो हिमालको दृश्यावलोकन गर्दै चौथो दिनको यात्रा सुरु हुन्छ । अर्को दिन ढुकुरपोखरी हुँदै मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङमा वास बस्दै भोलिपल्ट ग्रिन ताल हुँदै घ्यारु, ङावल, भाक्रामा वास बस्न पुगिन्छ । यहाँबाट तीन हजार ५४० मिटर उचाइमा रहेको मनाङ गाउँ र गंगापूर्ण ताल छोङ्कर घुम्न सकिन्छ । यस्तै, पर्यटकले भ्राका गाउँबाट ४६०० मिटर उचाइमा रहेको आइस लेक, मिलेरेपा केभजस्ता प्राकृतिक र धार्मिक स्थानहरूको अवलोकन गर्दै दुई दिन मनाङ गाउँमा वास बसेर यात्रा सुरु गर्ने गर्छन् । मनाङ गाउँबाट खाङ्सार, श्रीखर्क हुँदै ४२०० मिटर उचाइमा रहेको तिलिचो बेसक्याम्प पुगिन्छ । यात्राको दशौँ दिन विश्वकै अग्लो ठाउँमा रहेको तिलिचो ताल पुग्न सकिन्छ ।

तिलिचो ताल जाने उचित समय कहिले ?
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्न उचित समय असोज, कात्तिक र मंसिरको सिजन तथा चैत, वैशाख र जेठको सिजन उपयुक्त हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन् । यो समयमा आकाश खुलेको हुन्छ र सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । वर्षा सिजनमा लेकाली फूलहरू फुल्ने र तिनीहरूको गन्धले लेक लाग्ने गर्छ । हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन । 

कति खर्च लाग्छ ?
विभिन्न टुर कम्पनीले तिलिचोको प्याकेज बनाएर बिक्री गरिरहेका हुन्छन् । स्वदेशी तथा विदेशी दुवै पर्यटकलाई लक्षित गरेर प्याकेज बनाइएको हुन्छ । यदि आँट र गन्तव्यबारे जानकारी भएमा व्यक्तिगत रूपमा पनि तिलिचो जान सकिन्छ । काठमाडौंबाट तिलिचो पुगेर फर्किन बढीमा १० दिनसम्म समय लाग्न सक्छ । खाङ्सारसम्म गाडीमा गयो भने पाँच दिनमै पनि काठमाडौं फर्किन सकिन्छ । तर, पदयात्रा गर्न चाहेमा १० दिन लाग्छ । यो यात्रामा प्रतिव्यक्ति २० देखि २५ हजार रुपैयाँसम्म खर्च लाग्छ । तर, यो खर्च व्यक्तिको स्वभावअनुसार तलमाथि हुने व्यवसायी बताउँछन् । तिलिचो यात्रामा नजिकैका हिमाली सौन्दर्य, रमणीय खर्क, वनस्पति, वन्यजन्तुजस्ता विभिन्न दृश्यले मन आनन्दित पार्ने गर्दछ । विश्वकै सर्वोच्च उचाइमा आफ्नो परिचय साटेको तिलिचो ताल ३.८ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । पौराणिक किंवदन्तीअनुसार यस ताललाई काग भुसुण्डे तालका नामले पनि चिनिन्छ ।