सुरक्षा मापदण्ड अपनाएर कोभिडमा पूर्वाधार निर्माण

शनिबार, १७ असोज, २०७७
डिजिटल संस्करण

कोभिड–१९ को जोखिमका बीचमा पनि स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडुअर (एसओपी) लागू गरेर पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइएको एसियाली विकास बैंक (एडिबी) ले जनाएको छ । कोभिडका कारण पछिल्ला साढे ६ महिना कतिपय पूर्वाधार आयोजना निर्माणमा अवरोध भइरहे पनि एडिबीको सहयोगमा सञ्चालित आयोजना निर्माणले निरन्तरता पाएका छन् ।  

बैंकको शतप्रतिशत लगानी रहेका विकास आयोजनामा एसओपी लागू गरिएको छ । एसओपी अन्तर्राष्ट्रिय असल अभ्यास र स्वास्थ्य तथा विकाससँग सम्बन्धित संस्थाहरूले जारी गरेका निर्देशिकाहरूलाई पालन गरी तयार गरिएको हो । एडिबीले एसओपी तयार गरेदेखि आयोजनामा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई परिपत्र गरेको थियो । मार्चमा लकडाउन सुरु भएपछि कोभिडका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाएको बैंकको भनाइ छ । 

एडिबीले सबै आयोजनामा कार्यान्वयन निकायसँग द्रुत सर्वेक्षण गरेको थियो । त्यसपछि ती निकायले माग गरेअनुुसार २१ जुलाईदेखि २३ सम्म सबै आयोजना कार्यान्वयन निकाय, परामर्शदाता तथा निर्माण व्यवसायीलाई एसओपी कार्यान्वयनबारे अभिमुखीकरण गरिएको एडिबीका वरिष्ठ वातावरण अधिकृत दीपकबहादुर सिंहले जानकारी दिए । कोभिड संक्रमण रोकथामका लागि कर्मचारीले पालना गर्ने व्यक्तिगत अभ्यासहरू जस्तै, भौतिक दूरी, व्यतिmगत व्यवहार, बैठकमा भाग लिँदा गर्नुपर्ने नियम, निर्माण क्षेत्रमा जाँदा अपनाउनुपर्ने उपाय स्पष्ट रूपमा जानकारी गराइएको थियो । 

त्यसैगरी, निर्माण कार्य सुचारु गर्दा अपनाइने कार्यविधिहरूमा काम सुरु गर्नुअघि कामदारको व्यवस्थापन, प्रवेशद्वारमा सुरक्षा व्यवस्था, कामदारलाई निर्माण क्षेत्रबाट बाहिर जान निषेध, प्लान्ट र मेसिनरीको निर्मलीकरण, सामान लोड–अनलोड गर्ने तरिका, पिपिईको प्रयोग एवं कामदारहरूको बस्ने शिविर (क्याम्प) को उचित व्यवस्थापन गरिएको वरिष्ठ वातावरण अधिकृत सिंहले बताए । एसओपी आयोजनाको वातावरणीय व्यवस्थापन योजना तथा पेसागत स्वास्थ्य र सुरक्षा योजनाको पूरक योजना भएको एडिबीले जनाएको छ । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको वेबिनारमा एडिबीका क्षेत्रीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजना साइटहरूमा कामदारहरूको सुरक्षा सुनिश्चित गर्न एसओपीले महत्वपूर्ण भूमिका खेलेको बताए । यसले निर्माण क्षेत्रमा कोभिड–१९ को जोखिम कम गराउन र कर्मचारीहरूमा संक्रमण फैलिन नदिएको उनको भनाइ छ । ‘विकास परियोजनालाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले एडिबीले एसओपी बनाएर निर्माणलाई निरन्तरता दिएको हो,’ उनले भने । कार्यक्रममा एडिबीले बनाएको जस्तै एसओपी बनाएर अन्य विकास परियोजनालाई अगाडि बढाउन सकिने पूर्वअर्थसचिव सुमन शर्माले बताए । 

निर्माण क्षेत्रमा कम्तीमा ८५ प्रतिशत कामदार बेरोजगार
केन्द्रीय तथ्यांकअनुसार निर्माण क्षेत्रमा रहेका १७ लाख कामदारमध्ये ३ लाखले मासिक तलब लिन्छन् । मासिक तलबमा काम गर्नेमध्ये कोभिड संकटपछि ५० प्रतिशतले तलब पाएका छैनन् । ज्यालादारीमा काम गर्ने बाँकी १४ लाखमध्ये ९५ प्रतिशतले रोजगारी गुमाएका छन् । यो संख्या १३ लाख ३० हजार हो । महामारीले खानीजन्य, क्रसर तथा फलामजन्य उद्योग बन्द भएका छन् । यसले समग्र निर्माण कार्यलाई ठप्प बनाएको छ, निर्माण क्षेत्रमा मात्र विकास बजेटको ३५ प्रतिशत उपयोग गर्छ । औपचारिक र अनौपचारिक गरी करिब ३० लाख मानिसहरूले निर्माण आयोजनामा काम गर्छन् । तर, अहिलेको संकटले अधिकांश निर्माण आयोजनालाई कम्तीमा एक वर्षपछाडि धकेलेको छ । 

See More On

सुझावित समाचार