१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
सञ्जय शर्मा
२o८१ जेठ १ मंगलबार o९:३३:oo
Read Time : > 6 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मान्छेको गणितीकरण

अग्रलेख

Read Time : > 6 मिनेट
सञ्जय शर्मा
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:३३:oo

नीति, नेतृत्व र व्यवस्थापनको निकम्मापन देखेका हामीले आफ्नो ज्यान आफैँ बचाउनेबाहेक उपाय भेट्न छोडिसक्यौँ

एकछिन कल्पना गर्नुहोस् कि तपाईंलाई कसैले कुनै नामले बोलाउँदैनन् । तपाईंलाई एउटा अंक वा संख्या दिइएको छ र त्यो संख्या नै तपाईंको पहिचान हो । स्कुलमा रोल नम्बर १०१ भनेजस्तो ! दोस्रो विश्वयुद्धको सैनिक नम्बर ३८६७२३ भनेजस्तो ! कारागारमा कैदी नम्बर ४२० भनेजस्तो ! अस्पतालमा बिरामी नम्बर ५६ भनेजस्तो ! वा नेपालमा कोभिड–१९ बाट मृत्युवरण गर्ने ४४०औँ व्यक्ति भनेजस्तो ! संख्याले मानिसलाई गणना गर्न, उनीहरूलाई अनुशासित राख्न र उनीहरूमाथि हैकम चलाउन सजिलो हुन्छ । सीता वा सलमा नाम भएका हजारौँ मानिस होलान्, तर नागरिकता नम्बर १६२४ को सीतालाई खोज्न सजिलो हुन्छ । उसमाथि निगरानी राख्नुपरे वा उसको कुनै सरकारी कामकाज चलाउनुपरे पनि यही नम्बरले काम छरितो हुन्छ । संख्या शासकीयताको एउटा अभिन्न अंग हो । संख्याले मानिसलाई शासन गर्न सजिलो बनाउँछ । हाम्रा जीवनमा यस्ता धेरै संख्या हाम्रा पहिचान बनेर आउँछन् । कहिले हाम्रो व्यक्तित्व यही संख्याको पर्याय बनेर बस्छ त कहिले संख्याले हाम्रो व्यक्तित्वलाई गौण बनाइदिन्छ । हामी केवल संख्यामै सीमित रहन्छौँ ।

नेपालमा कोभिड–१९ फैलिन थालेको सुरुवाती दिनमा दिनहुँजसो वल्र्डोमिटरको वेबसाइटमा दिनमै चार–पाँचपल्ट जाँदै म नेपाललाई अरू देशसँग दाँज्ने गर्थें । यसो गर्दा संसारभरिका मानिसलाई वल्र्डोमिटरको सहायताले संख्यामा सीमित गरेको दृष्टान्त देखिन्थ्यो । संसारमा कोभिड–१९ संक्रमितमध्ये त्यतिवेला मैले चिनेका सायदै कोही मानिस थिए । तर, ती मानिस हामीले चिनेजानेको अंकले परिभाषित थिए । यसरी उनीहरू मेरा लागि र हाम्रा लागि केवल संख्यामा सीमित भए । वल्र्डोमिटर हेर्न दिक्क लाग्न थालेपछि स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन पछ्याउन थालेँ । बिस्तारै विदेशका संख्यामा मेरो चासो खासै रहेन । म केवल नेपालका मानिसलाई संख्यामा रूपान्तरण गरेको नियमित अभ्यास हेर्न थालेँ । सरकारले ठोस केही गर्न सकिरहेको थिएन र छैन । मात्र मानिस एकाएक संख्यामा परिणत भइरहेका छन् । हामी मात्र मुकदर्शक भएर यो प्रक्रिया हेरिरहेका छौँ । कुनै दिन आउला, जब हामी पनि यसरी नै फगत एक संख्यामा परिणत होऔँला । मात्र समय आउनुपर्छ । सरकारले हामीलाई संख्यामा परिणत हुन नदिन केही गर्नेवाला छैन । हामी भगवान् भरोसामा बसेका छौँ । संख्यामा सीमित नहुन हामी आफैँले केही गरेका होऔँला वा केही गर्न नसके प्रार्थना गरेर बसेका होऔँला ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताको दैनिक कोभिड–१९ महात्म्य सुनेर पनि उदेक लाग्न थालेपछि दिउँसो साँढे तीन–चार बजेतिर खाजा खानेबित्तिकै अचेल म आफ्नो कोठामा छिरेर किताब पल्टाउन थालेको छु । मेरा बाले सो वर्णन नित्यकर्म जसरी सुन्नुहुन्छ । मलाई संख्यासँग वितृष्णा जति छ, त्यो संख्याको वर्णमाला सुनाउने सरकार र सरकारी मानिससँग पनि उत्तिकै वितृष्णा छ । वाक्क भएको छु, मानिसको यो गणितीकरणसँग । ढोका थुनेर बसेको छु, यो गणितसँग डराएर, रिसाएर । यसै क्रममा मेरो एउटा साथीले मध्य भदौदेखि लगातार स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनपछि देशभरिका संक्रमित, काठमाडौं उपत्यकाका संक्रमित, र संक्रमणमुक्त हुने मानिसको तथ्यांक ट्विटरमा राख्न थाल्यो । मन्त्रालयका प्रवक्ताको कठोर र टिठलाग्दो स्वर सुन्न नसकेको मैले मेरो साथीको मर्म नभएका ठिंग उभिएका अक्षर र भावशून्य अंकलाई दैनिक पछ्याउन थालेँ । यसमा अरू कुनै उपाय थिएन । मैले नचाहँदा–नचाहँदै उसको ट्विट चार–साँढे चार बजेतिर टाइमलाइनमा देखिन्थ्यो । हुन त यसरी तथ्यांक पढ्दा मजस्ता पाठकलाई सजिलो हुन्छ । अघिल्लो दिनभन्दा आज कम मानिस मरे भन्ने जनाउ दिन तथ्यांकलाई यसरी कोष्ठकमा ‘सजिलो’ सँग प्रस्तुत गरिएको थियो । तर, मलाई यो पढेपछि कता–कता अप्ठेरो लाग्न थाल्यो । यसै त मान्छेको गणितीकरणदेखि वाक्क भएको म, अझ धेरै विरक्तिएँ । 

पहिले एउटा कोभिड–१९ को केस भेटिँदै तर्सेको नेपाली समाज र विशेषतः काठमाडौं खाल्डो दिन–प्रतिदिन संक्रमितलाई मात्र होइन, कोभिड–१९ का कारण मृत्यु भएका मानिसलाई पनि अंकमा सीमित गर्न पुगेको छ । मानौँ, ती मर्ने कुनै मानिस होइनन् । उनीहरू केवल संख्या हुन् । हिजोभन्दा आज यति बढे ! अस्तिभन्दा हिजो यति घटेका थिए ! 
सरकार र नीति–निर्माताका शासकीय हिसाबमा ती फगत संख्या हुन सक्लान्, तर आमसमाजमा, संक्रमितका परिवारका लागि वा संक्रमित स्वयंका लागि ती केवल संख्या रहन्नन् । प्रत्येक संक्रमित वा प्रत्येक मृत्युवरण गरेको मानिस वा संक्रमणमुक्त भएर घर फिरेका मानिसका आफ्नै कथा–व्यथा हुन्छन्, जुन सामान्य संख्यामा वा परिणाममा गन्न, नाप्न, जोख्न सकिन्न । मानिसको मृत्युलाई घटेको जनाउ दिँदै हामीले अब मानिसलाई तथ्यांकमा मात्र सीमित गरिदियौँ । पहिलो दिनभन्दा चारजना कम मानिस मरेकोमा हामी उल्लास मनाउँदै थियौँ जस्तो भान भयो । ती दुईजना, जसको मृत्यु भयो, त्यो पनि नहुनुपर्ने थियो । ती दुईजना, जसको मृत्यु भयो, उनीहरूको परिवारमा कति दुःख–पीडा हुँदै होला ? पक्कै पनि ६ जना मर्नुभन्दा दुईजना मात्र मर्दा थोरै मानिस दुःखी होलान् । तर, मानिसलाई संख्या र तथ्यांकमा मात्र सीमित गरिदिँदा प्रत्येक मानिसको जीवन, अनुभव, सिकाइ, भोगाइ, उनीहरूभित्र रहेको खुसी, आक्रोश, पीडा, माया आदि सबैलाई हामी गौण बनाइदिन्छौँ । हामी आ–आफ्ना आस्था, विचार र भावना बोकेका नेपाली जनता सरकारको निकम्मापनले गर्दा केवल तथ्यांकमा सीमित हुन पुग्यौँ । हामीभित्र रहेका प्रत्येक डोल्मा, रामविलास र मनकुमारीहरू सरकारका लागि केवल नियन्त्रण गर्नुपर्ने, तर नियन्त्रणबाहिर गएर मृत्युवरण गरेका वस्तु र संख्या हुन पुग्यौँ । 

कोभिड–१९ नियन्त्रणका लागि ठोस कदम चाल्न नसकेकोमा हामीले सरकारलाई प्रश्न गर्न छोडिसक्यौँ । सरकारको अकर्मण्यतालाई प्रश्न सोध्नुको साटो आमनेपाली समाज र पढेलेखेका, जानेबुझेका र स्रोत–साधन र शक्तिसँग नजिक रहेका काठमाडौंवासी पनि भगवान् भरोसामा हाम्रै वरपरका आमनेपालीलाई संख्यामा तौलिन थालिसके । मानवता हराएको र कोभिड–१९ सँग नराम्ररी डराएको काठमाडौं खाल्डोले हाम्रा वरपरका मानिसलाई टेकुको चिसो छिँडीमा सुताउन अप्ठेरो मान्न छोडिसक्यो । सरकारलाई दैनिक पिसिआर टेस्ट बढाउन दबाब दिनुको सट्टा अब आफू बच्नलाई अरूलाई लञ्छना, भेदभाव, अलगीकरण र पराईकरण गर्न थालिसक्यो । संक्रमित हुन् वा संक्रमणको शंका गरिएका मानिस हुन् वा कुनै पनि ट्राभल हिस्ट्री भएका मानिस हुन्, उनीहरूको शरीरलाई कसरी नियन्त्रण र वर्गीकरण गर्ने भनेर हामीले राज्यसँग सिकिसक्यौँ । नीति, नेतृत्व र व्यवस्थापनको निकम्मापन देखेका हामीले आफ्नो ज्यान आफैँ बचाउनेबाहेक उपाय भेट्न छोडिसक्यौँ । बरु हामीले सरकारी निकम्मापनसँगै हाम्रो मानवता पनि बेचिदियौँ । कोभिड–१९ को डर सबैभन्दा ठूलो बनेको यो घडीमा अगाडि भनेझैँ पराई मानिस अब केवल संख्यात्मक वस्तु हुन पुगेका छन् । उनीहरूभित्रको व्यक्ति र व्यक्तित्व हाम्रा लागि गौण बनेको छ ।

हामी आ–आफ्ना आस्था, विचार र भावना बोकेका नेपाली जनता सरकारको निकम्मापनले गर्दा केवल तथ्यांकमा सीमित हुन पुग्यौँ । हामीभित्र रहेका प्रत्येक डोल्मा, रामविलास र मनकुमारीहरू सरकारका लागि केवल नियन्त्रण गर्नुपर्ने, तर नियन्त्रणबाहिर गएर मृत्युवरण गरेका वस्तु र संख्या हुन पुग्यौँ ।

आधुनिक समाज र नेसनस्टेटको विकाससँगै तथ्यांक संकलन र लेखाजोखाको अत्यधिक माग रहेको पाइन्छ । सामान्यतया तथ्यांकको आवश्यकता नीति–निर्माणदेखि अनुसन्धान र अध्ययनका विभिन्न पाटामा हुन्छन् । फ्रेन्च दार्शनिक मिसेल फुकोले र उनी अघि–पछिका उत्तरआधुनिक र उत्तरसंरचनावादीले तथ्यांक संकलनको र सरकारी शासकीयताको खरो विश्लेषण र आलोचना गर्ने गरेका छन् । तर, कोभिड–१९ को सुरुवाती दिनदेखि नै तथ्यांक संकलन मात्र नभएर संक्रमित, संक्रमणको शंका गरिएका जोसुकै, आप्रवासी र आन्तरिक बसाइँ–सराइ गरेकाको व्यवस्थापनको विषयमा सबैको एकैखाले स्वर विश्वभरि सुनिँदै आएको छ । यस्ता मानिसको व्यवस्थापन गर्न र उनीहरूको शरीर र स्वतन्त्रतामाथि शासन गर्न सरकारलाई चर्को दबाब नागरिक समाजबाटै पनि भएको सुनिन्छ । यहाँ सिमानाहरू एकदमै जटिल छन् । हामीले निरंकुशतर्फ अग्रसर रहेको कुनै अमुक देशको सरकारलाई कतिसम्म शासकीयतामा छुट दिने ? सरकारले कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरेका तर काम नलाग्ने योजनाहरू (जस्तै– लकडाउन) ले आममानिसको रोजीरोटी खोसिरहेको वेला पनि चुप लागिरहने वा मानिसको बाँच्न पाउने अधिकारको रक्षार्थ आवाज उठाउने ? सरकारी शासनलाई स्वतन्त्रतामाथि बन्देज गर्ने गरी शासन गर्न छुट दिँदै गर्दा थुप्रै ठाउँमा सरकार झन्–झन् निरंकुश पनि बनेका उदाहरण छन् । मोबाइल डेटामाथिको नियन्त्रण यस्तै एउटा उदाहरण हो । अर्कातिर भने व्यक्तिगत स्वतन्त्रताका नाममा मास्क नै नलगाउने जमात पनि अमेरिकालगायत पश्चिमा विश्वमा देख्न पाइन्छ, जसले आफ्नो स्वतन्त्रता उपभोग गर्ने नाउँमा अरूको स्वास्थ्यमाथि संकट ल्याइरहेका छन् । यहाँ पनि सिमाना विवादित छन् । के तपाईंलाई आफ्नो स्वतन्त्रताको नाममा अरूको ज्यान जोखिममा पार्ने छुट छ ?

मानिस आवतजावतको नक्सांकन, उनीहरूले प्रयोग गरिरहेको साधन वा उनीहरूको सामान्य गतिविधिमा सधैँ राज्यको वा बहुराष्ट्रिय कम्पनीको आँखा परिरहेको हुन्छ । पहिले–पहिले मानिसलाई भगवान्को डर थियो । यो डर बिस्तारै राज्यमा सरेको छ । राज्यका निकाय, जस्तै– सरकार, प्रहरी र गुप्तचर संस्थाले मानिसको चालचलन हेर्ने गरेको र शंकास्पद गतिविधिमा संलग्न मानिसलाई मुख्यतया कम्युनिस्ट मुलुकमा ‘तह लगाउने’ काम गरिन्थ्यो वा यस्तो अतिरञ्जना गरिन्थ्यो । कम्युनिस्टमाथिको डरलाई जर्ज अर्वेलले १९८४ नामक आफ्नो उपन्यासमार्फत भनेझैँ ‘द बिग ब्रदर इज वाचिङ यु’ । त्यस्तै मिसेल फुकोले प्यानोप्टिकनको अवधारणालाई अगाडि बढाउँदै एउटा गोल कैदीगृहको वर्णन गर्छन्, जसको सबै कोठा बीचको भागतर्फ फर्किएका छन् । गोलघरको बीचमा प्रहरीले प्रत्येक कैदीलाई प्रत्यक्ष निगरानी गर्ने कक्ष हुन्छ । कैदीहरू बस्ने कोठाबाट भने प्रहरीलाई देख्न सक्दैनन् किनभने त्यहाँबाट उनीहरूतर्फ फर्काएर चहकिलो बत्ती बालिएको हुन्छ । कैदीलाई आफूलाई प्रहरीले हेरिरहेको डर नितान्त भइरहन्छ, यसैकारण उनीहरू कुनै अवाञ्छित क्रियाकलापमा संलग्न हुँदैनन् । 

आधुनिक राज्य पनि यसैगरी चलेको छ । राज्यको प्रविधिसँगको पहुँचले हाम्रा जीवन २४ सै घन्टा निगरानीमा बितिरहेका छन् । स्मार्टफोनको प्रयोगले त यस्तो निगरानीलाई अझ सजिलो बनाइदिएको छ । जर्ज अर्वेलले कल्पना गरेजस्तो निगरानी गर्न अहिले जबर्जस्ती गरिरहनुपर्दैन । मानिस फेसबुक र गुगल प्रयोग गर्न आफैँ लालायित हुन्छ र आफ्नो गोपनीयतासँग सम्झौता गर्छ । मानिसले फेसबुकमा गरेको च्याटका आधारमा आर्टिफिसियल इन्टेलिजेन्सको एल्गोरिदमले सो मानिसको रहनसहन, लवाइखवाइ इत्यादिको लेखाजोखा गर्छ । त्यहीअनुसार बहुराष्ट्रिय कम्पनीले निश्चित विज्ञापन सो मानिसलाई लक्षित गरी उसको मोबाइलमा पठाउँछ । वा थुप्रै मानिसको डेटालाई अनुसन्धानका लागि प्रयोग गर्छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनका वेला फेसबुकमा लक्षित वर्गका मानिसलाई गलत विज्ञापन पठाएर चुनाव अगाडि अतिरञ्जना गरेको पुष्टि भइसक्यो ।
कोभिड–१९ का वेला थुप्रै देशले कन्ट्याक्ट ट्रेसिङका लागि मानिसको मोबाइल एपबाट उनीहरू पुगेका ठाउँ र उनीहरूले भेटेका मानिसका बारे पत्ता लगाई संक्रमित पत्ता लगाउन सजिलो हुने विधिको विकास गरे । तर, यीमध्ये केही देशले यो एपको प्रयोग संक्रमित पत्ता लगाउन मात्रै सीमित राखेनन्, आफ्ना जनताको डेटा चोरेर उनीहरूको निजी जीवनमा हस्तक्षेपकारी भूमिकाका लागि पनि प्रयोग गरे वा गर्न सक्छन् । यसरी कोभिड–१९ लाई एउटा अवसरका रूपमा लिएर नियमनकारी सरकारले आफ्नो शासकीयताका निम्ति पनि डेटाको दायरा फराकिलो बनाउँदै गयो । जनगणनाका माध्यमबाट सुरु भएको आधुनिक राज्यको शासकीयतालाई कोभिड–१९ ले अझ सघाउँदै गएको छ । संसारभरि राज्यको पकड बलियो हुँदै गएको छ र उसका लागि राज्यमा बसोवास गर्ने मानिस अधिकार प्राप्त नागरिक नभएर संख्यामा सीमित जीवहरू हुन पुगेका छन् ।

यसो भन्दा मैले तथ्यांकको महत्वमा प्रश्न पक्कै पनि उठाएको होइन । मैले केवल हामीभित्र रहेको मानवता मर्न नदिन हामी आफैँलाई झकझकाउने प्रयास मात्र गरौँ भन्न खोजेको हुँ । हाम्रो विचारशून्यता र भावनाको मृत्यु नहोस् भन्ने कामना मात्र गरेको हुँ । राज्यले चाहेकोजस्तो मानिसलाई फगत गणितमा सीमित नगरौँ । मानिसलाई वा मृत्युलाई संख्यामा लेखाजोखा गर्नुभन्दा पहिले प्रत्येक मानिस वा उसको भोगाइको विशेषताबारे पनि सोचौँ । मानिसको गणितीकरण गर्नुअघि आफूमा रहेको मानवतालाई मर्न नदिऊँ !


 

ad
ad