Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १७ बुधबार
  • Wednesday, 02 December, 2020
ad
२०७७ असोज ९ शुक्रबार १७:२२:००
मुख्य समाचार डिजिटल संस्करण

नाष्टले बनायो ‘युवा वैज्ञानिक फोरम’ : ६३७ स्थानीय तहमा खुले प्राविधिक शिक्षालय

२०७७ असोज ९ शुक्रबार १७:२२:००

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले ‘युवा वैज्ञानिक फोरम’ स्थापना गरेको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा युवाहरूलाई सहयोग, सहकार्य र प्रोत्साहन गर्नका लागि राष्ट्रियस्तरको साझा फोरम स्थापना गरिएको हो ।

नाष्टले सन् २०१८ मै फोरमको स्थापना गरेको थियो । दुई वर्षपछि शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमैत्री गिरिराजमणि पोखरेलले भर्चुअल कार्यक्रममार्फत राष्ट्रियस्तरको युवा वैज्ञानिक फोरम स्थापना भएको औपचारिक घोषणा गरे । 

अब फोरमले औपचारिक रूपमै आफ्ना गतिविधिलाई अगाडि बढाउन बाटो खुलेको छ । विज्ञान र प्रविधिको क्षेत्रमा फराकिलो फड्को मारेका विश्वका ४० भन्दा बढी देशमा युवा वैज्ञानिकहरूको आधिकारिक फोरम यसअघि नै सञ्चालित छन् ।

ग्लोबल युवा वैज्ञानिक एकेडेमीमा नेपाली युवा वैज्ञानिकको फोरम ४३औँ सदस्य राष्ट्र बनेको छ । दक्षिण एसियाबाट भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशले यसअघि नै युवा वैज्ञानिक फोरम निर्माण गरी सञ्चालन गरेका छन् । युवा वैज्ञानिक फोरम स्थापनाको अभ्यास सबैभन्दा पहिले सन् २००० मा जर्मनीमा भएको थियो । 

एकेडेमीमा तीनजना नेपाली युवा वैज्ञानिक सदस्य बनेका छन् । सन् २०१६ मा उत्तमबाबु श्रेष्ठ, ०१७ मा मेघनाथ धिमाल र ०१८ मा सुरजबाबु भट्टराई एकेडेमीको सदस्य नोमिनेट भएका थिए । नाष्टले बनाएको नेपाली युवा वैज्ञानिकहरूको फोरममा नाष्टका उपकुलपति डा. श्रेष्ठ संरक्षक छन् ।

सञ्जालको संयोजकमा डा. मेघनाथ धिमाल छन् । यस्तै, हाललाई फोरमको सदस्यहरूमा डा. अच्युत अधिकारी, डा. प्रमोद पौडेल, डा. प्रतिभा पाण्डे, डा. रामदेवी तचमो शाह, डा. सन्तोष नेपाल र डा. योगेन्द्र शाह मनोनीत भएका छन् । 

नाष्टका उपकुलपति डा. सुनिलाबाबु श्रेष्ठले फोरमले स्थानीय तहसम्मका वैज्ञानिकहरूको सहभागिता गराएर युवा प्रतिभा पहिचान र प्रोत्साहन गर्ने आशा गरिएको बताए ।

‘फोरमले अब औपचारिकता पाएको छ, म सबै युवा वैज्ञानिकलाई बधाई दिन चाहन्छु,’ उनले भने, ‘म आफैँ पनि युवा वैज्ञानिकको रूपमा पुरस्कृत व्यक्ति हुँ, नाष्टले बर्सेनि युवा वैज्ञानिकलाई पुरस्कृत गर्ने अभ्यास छ, तर त्यसबाहेक युवा वैज्ञानिकलाई जोड्ने कुनै फोरम थिएन, अब सबै युवा वैज्ञानिकले एउटै छातामुनि बसेर काम गर्न सकिने अवस्था सिर्जना भएको छ ।’

उनले फोरमले युवा वैज्ञानिकको बीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्र्रियस्तरमा सहयोग, सहकार्य र समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । ‘खोज, अनुसन्धान र विज्ञानको कुनै सीमा हुँदैन, त्यसैले अवसरको खोजीमा रहेको युवा जनशक्तिका लागि फोरम एउटा राम्रो प्ल्याटफर्म पनि हुन सक्छ,’ उनले भने । 

फोरमलाई कार्यविधि बनाएर सञ्चालन गरिएको फोरमका संयोजक डा. धिमालले बताए । ‘अहिलेलाई फोरमको स्थापना नै महत्वपूर्ण कुरा हो, अब हामीकहाँ युवा वैज्ञानिकको संख्या कति छ ? त्यो जनशक्ति के गरिरहेको छ ? कति बेरोजगार छ ? सबैभन्दा पहिले त्यसको तथ्यांक संकलन गर्नुपर्ने अवस्था छ,’ संयोजक धिमालले भने । 

उनका अनुसार फोरमलाई देश–विदेशमा तयार भएका युवा वैज्ञानिकलाई काम गर्ने ठाउँको रूपमा विकास गर्न सकिन्छ । युवा वैज्ञानिकको प्रतिभालाई उजागर गर्ने थलो बनाउन सकिन्छ ।

फोरममार्फत सरकारले खोज अनुसन्धानका लागि सहजीकरण र प्रोत्साहन गर्ने, देशी–विदेशी विज्ञानसँग सम्बन्धित संघसंस्थासँग समन्वय गरी अनुसन्धानवृत्ति र अनुसन्धाताका रूपमा कार्य गर्न अवसर प्रदान गर्नेलगायत काम गर्ने उद्देश्यहरू लिइएको उनी बताउँछन् । ‘सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न युवा वैज्ञानिकको क्षमता पहिचान, प्रोत्साहन र विकास भएको प्रविधिलाई समाजसँग जोड्ने काम फोरममार्फत गर्नुपर्ने देखिन्छ,’ उनले भने । 

कार्यक्रममा सहभागी युवा वैज्ञानिकहरूले सरकारले विज्ञान र प्रविधिको क्षेत्रलाई अवहेलना गरेको गुनासो गरे । ‘विज्ञान र प्रविधि क्षेत्रमा सरकारले बजेट नै थोरै दिने गरेको छ, त्यसबाहेक यो अत्यावश्यक क्षेत्रमा पनि पर्दैन, प्राथमिकताको क्षेत्रमा पनि पर्दैन,’ उनले भने, ‘त्यसैले अहिले आशातीय उपलब्धि हासिल हुन सकेको छैन ।’ 

उनले कोरोना महामारीकै उदाहरण दिएर विज्ञान र प्रविधिको क्षेत्रलाई सरकारले उपेक्षामा राखिएको पुष्टि गरे । भने, ‘सडकमा अस्पतालमा डाक्टर छु भनेपछि जुनसुकै वेला काम गर्न पाइने अवस्था छ, तर म त्यही स्वास्थ्य प्रविधि निर्माणको अनुसन्धानमा संलग्न वैज्ञानिक डाक्टर हुँ भन्दा घरबाहिर निस्किन दिइएन, यसबाट विज्ञान र नवप्रवर्तनको कुरा सरकारको प्राथमिकतामा नभएको पुष्टि हुन्छ,’ युवा वैज्ञानिक धिमालले भने । 

फोरमले विश्वविद्यालयको थेसिसका क्रममा हुने अनुसन्धानलाई समेत उपलब्धिमूलक र नवीन खोजमूलक बनाउने र प्राप्त तथ्यहरूलाई आदान–प्रदान गरेर समाजका लागि फाइदा पुऱ्याउन सक्ने वातावरण सिर्जना गर्ने उद्देश्य लिएको छ । ‘युवा वैज्ञानिकहरूलाई प्रोत्साहन गर्नुपर्छ, युवालाई ठाउँ दिनुपर्छ, ४० वर्षमुनिका विज्ञान र प्रविधिको क्षेत्रमा रुचि राख्ने, काम गर्ने र अध्ययन गरिरहेकाहरू नै युवा वैज्ञानिक जनशक्ति हुन्,’ फोरमकी सदस्य वैज्ञानिक डा. रामदेवी तचमो शाहले भनिन् । 

६३७ स्थानीय तहमा खुले प्राविधिक शिक्षालय

सरकारले ६ सय ३७ वटा स्थानीय तहमा प्राविधिक शिक्षालय खोलेको छ । ०७४ को निर्वाचनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पहिलो बैठकबाट सबै स्थानीय तहमा दुई वर्षभित्र प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेका थिए ।

प्राविधिक शिक्षालय स्थापना भएमा समृद्धिको लक्ष्यलाई प्रत्यक्ष सहयोग पुग्ने उद्देश्य सरकारले राखेको थियो । सरकार गठन भएको करिब तीन वर्ष बितेको छ । अहिलेसम्म ६ सय ३७ वटा स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भइसकेकाे शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

देशभर सात सय ५३ स्थानीय तह छन् । तीमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका, दुई सय ७६ नगरपालिका र चार सय ६० वटा गाउँपालिका रहेका छन् । अब एक सय १६ वटा स्थानीय तहमा प्राविधिक शिक्षालय खुल्न बाँकी छ । युवा वैज्ञानिक फोरमको घोषणा गर्दै मन्त्री पोखरेलले कोभिड– १९ को संकटपछि सरकारले प्रविधिमैत्री ढंगले कक्षा र परीक्षा सञ्चालन गर्नुपर्ने ठहर गरेको बताए  । 

छुटाउनुभयो की ?