मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ असोज ९ शुक्रबार ०६:०२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

यती समूहलाई दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ असोज ९ शुक्रबार ०६:०२:००

४ वटा जहाजमार्फत १० वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्समा यती समूहकै बहुमत सेयर छ

हिमालय एयरलाइन्समार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको यती समूहलाई सरकारले दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स दिएको छ । २०६४ सालमा यती समूहले फ्लाई यतीको नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स लिएको थियो । जुन लाइसेन्सबाटै तिब्बती एयरलाइन्सको सहकार्यमा २०७१ मा हिमालय एयरलाइन्स स्थापना गरिएको थियो । हाल हिमालयले ४ वटा जहाजमार्फत १० वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हिमालय एयरलाइन्समा बहुमत सेयर अहिले पनि यती समूहकै रहेको छ । सोही समूहको यती एयरलाइन्सलाई पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय चार्टर उडानको लाइसेन्स जारी गरेको छ । 

पर्यटन मन्त्रालयले गत १७ वैशाखमा अन्तर्राष्ट्रिय उडानको लाइसेन्सका लागि सार्वजनिक सूचना जारी गरेको थियो । यतीले २९ जेठमा आवेदन दिएको थियो । पर्यटन मन्त्रालयले बनाएको नयाँ कार्यविधिअनुसार पाँचवटा जहाजमार्फत पाँच वर्षसम्म नियमित उडान गर्ने कम्पनीले अन्तर्राष्ट्रिय उडानमा विस्तार गर्न पाउने प्रावधान छ । सोहीअनुसार माग गरिएको आवेदनमा यती समूहको मात्रै आवेदन परेको थियो । कार्यविधिमा एकै कम्पनीले लाइसेन्स लिएर अन्तर्राष्ट्रिय उडान गरिरहेको अवस्थामा अर्को लाइसेन्स दिन मिल्ने–नमिल्ने उल्लेख गरिएको छैन । 

यती एयरलाइन्सलाई सरकारले ‘ग’ वर्गको लाइसेन्स दिइएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । सोही समूहको हिमालयका विषयमा पनि अध्ययन गरेर नै नजुध्ने गरी ‘ग’ वर्गको चार्टर लाइसेन्स दिएको आचार्यले बताए । हिमालयलाई सरकारले ‘ख’ वर्गको लाइसेन्स दिएको छ । ‘क’ वर्गको लाइसेन्सका लागि भने वाइडबडी जहाजसमेत आवश्यक पर्ने भएकाले हिमालयले ‘ख’ वर्गको लाइसेन्स पाएको हो । लाइसेन्सको विषयमा अध्ययन गर्न पर्यटन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा मूल्यांकन कमिटी गठन गरेको थियो । मन्त्रालयले मूल्यांकन गरेर मात्रै लाइसेन्स दिएको संयोजकसमेत रहेका आचार्यले बताए । ‘हिमालय यती समूहकै लगानी र यता अर्को पनि चलाउन मिल्ने–नमिल्नेबारे अध्ययन गरेर समूह एकै नहुने गरी लाइसेन्स दिएका हौँ,’ आचार्यले भने । सरकारले तयार पारेको कार्यविधि प्रस्तावमा ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न १ अर्ब, ‘ख’ वर्गलाई ७५ करोड र ‘ग’ वर्गलाई ५० करोड चुक्ता पुँजीको व्यवस्था गरिएको छ । 

फरक–फरक नामबाट अनुमति
२०५५ सालमा यती एयरवेजका नाममा लाइसेन्स लिएर आन्तरिक उडान सुरु गरेको थियो । उडान सुरु भएको चार वर्षमै २०५९ मा यती एयरवेजको नाम परिवर्तन गरेर यती एयरलाइन्स बनाएको थियो । यती समूहले हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली २०६४ मा पर्यटनमन्त्री भएको समयमा फ्लाई यतीको नाममा अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिएको थियो । सोही वर्ष यती समूहले फ्लाई यती र एयर अरेबियासँगको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । तर, संयुक्त लगानी एक वर्ष पनि टिक्न सकेन । एयर अरेबिया यती समूहबाट बाहिरियो । सोही फ्लाई यती नामको लाइसेन्स २०७१ मा परिवर्तन गरेर हिमालय एयरलाइन्स बनाएको थियो । हिमालयको लाइसेन्सबाटै तिब्बत एयरलाइन्ससँगको सहकार्यमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । जुन अहिलेसम्म पनि जारी छ ।

यती समूहले २०६६ मा यती हंसको नाममा नयाँ लाइसेन्स लिएको थियो । जुन डोमेस्टिक उडानका लागि थियो । पछि पुनः नाम परिवर्तन गरेर यती एयरलाइन्स डोमेस्टिक बनाइयो । सोही वर्ष भगिनी संस्थाका रूपमा तारा एयर छुट्टै कम्पनी खडा गरेको थियो । अहिले पनि यती र तारा दुवै नामबाट आन्तरिक उडान गर्दै आएको छ । पछि २०६९ मा यती एयरलाइन्स डोमेस्टिकलाई परिवर्तन गरेर यती एयरलाइन्स मात्रै बनाइयो । यती समूहले अहिले सोही पुरानो यती एयरलाइन्स डोमेस्टिकबाट अन्तर्राष्ट्रिय लाइसेन्स लिन लागेको हो । 
 
प्रधानमन्त्रीको आशीर्वादले सधैं फाइदा 
पहिलोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई लत्याउँदै उडान नै सुरु नगरेको हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर लगेका थिए । ६ चैत २०७३ मा चीन भ्रमणमा जाँदा प्रधानमन्त्री ओलीले उडान सुरु गराउन आफैँ चार्टर गरेका थिए । 

२०७१ बाट सुरु भएको हिमालय एयरलाइन्समा सुरुमा एचआइएफ एभिएसन इन्भेस्टमेन्ट, यती वल्र्ड इन्भेस्टमेन्ट र तिब्बत एयरलाइन्सको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो । कम्पनीमा एचआइएफ एभिएसन इन्भेस्टमेन्ट कम्पनी र यती वल्र्ड इन्भेस्टमेन्ट कम्पनीको मुख्य लगानी रहने सम्झौतासमेत भएको थियो । एचआइएफ एभिएसनका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, यती इन्भेस्टमेन्टका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पा र तिब्बत एयरलाइन्सका अध्यक्ष छेङ यिरु थिए । 

२ अर्ब रुपैयाँ लगानीमा स्थापना गरिएको हिमालय एयरलाइन्स कम्पनीमा चुक्ता पुँजीको ५१ प्रतिशत सेयर नेपाली कम्पनी यती वल्र्ड र एचआइएफसँग तथा ४९ प्रतिशत सेयर तिब्बत एयरलाइन्ससँग हुने सम्झौता थियो । ११ कात्तिक २०७१ बाट उडान सुरु हुने घोषणासमेत भएको थियो । तर, समयमा उडान सुरु पनि नभएको र यती समूहले तिब्बत एयरलाइन्ससँग मिलेर सेयर थोरै दिने योजना बनाएपछि पाण्डे समूह उडान सुरु नगर्दै बाहिरिएको थियो । 

हिमालयलाई ग्राउन्ड ह्यान्डलिङको सुविधा

सरकारले संकटको समयमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई असर पर्ने गरी पूर्वाधार नै खडा नगरिसकेको यती समूहको लगानी रहेको हिमालय एयरलाइन्सलाई आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्ने जिम्मा दिएको छ । 

४ असोजमा नागरिक उड्डयन प्राधिकरणले निर्णय गरी सेल्फ ग्राउन्ड ह्यान्डलिङ प्रमाणपत्र जारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ वटा एयरलाइन्सले उडान गर्छन् । त्यसमध्ये ४० वर्ष अगाडिदेखि नै थाई एयरवेज र एयर इन्डियाले आफैं ग्राउन्ड ह्यान्डलिङ गर्दै आएका छन् । त्यसयता दर्जनाैँ एयरलाइन्सले उडान गरे तापनि त्यसको व्यवस्थापन निगमले गर्दै आएको थियो । निगमको आयको मुख्य स्रोत नै खोस्ने गरी हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ जिम्मा दिइएको हो ।

तर, निर्देशिकाअनुसार नै यस्तो अनुमति दिइएकोे प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए । उनले भने, ‘दैनिक पाँच उडान गर्ने एयरलाइन्सलाई आफैँ ह्यान्डलिङ गर्न पाउने व्यवस्थाअनुसार दिइएको हो ।’ वायुयानहरूको भूमिस्थ प्रबन्ध तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार निर्णय गरिएको भन्दै अनुमति जारी गरिएको हो । ‘४० वर्षयता अन्य कुनैलाई दिनुनपर्ने, निगमले राम्रै सेवा दिइरहेको थियो, अहिले यो संकटमा जारी गर्नुले सरकार सार्वजनिक संस्थाप्रति अनुदार रहेको प्रस्ट देखिन्छ,’ प्राधिकरणकै एक उच्च अधिकारीले भने । निगमले वार्षिक ५ अर्ब रुपैयाँ ग्राउन्ड ह्यान्डलिङबाट आम्दानी गर्दै आएको छ । 

यती समूहको आँखा ग्राउन्ड ह्यान्डलिङमा विगतदेखि नै रहेकाले अहिले चोरबाटोबाट छिरेर पछि सबै लिने दाउ गरेको ती अधिकारीको बुझाइ छ । निगमले ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त हुने आम्दानीको १५ प्रतिशत प्राधिकरणलाई दिने गरेको छ । अब त्योसमेत खोसिनेछ । हिमालयलाई मात्रै दिँदा पनि प्राधिकरणको झन्डै १० करोड आम्दानी गुम्नेछ । कोभिड–१९ को बहानामा सुरु भएको चार्टर उडानमा निगमलाई भन्दा बढी अनुमति हिमालयलाई दिइएको थियो । गत भदौमा मात्रै ३ वटा जहाज भएको हिमालयलाई ३८ उडान अनुमति दिँदा ४ वटा जहाज भएको निगमले ३३ मात्रै पाएको थियो ।