Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १२ बुधबार
  • Wednesday, 28 October, 2020
ad
२०७७ असोज ८ बिहीबार ००:१९:००
फ्रन्ट पेज प्रिन्ट संस्करण

सीमा अनुगमनमा गएको नेपाली टोलीले फेला पार्‍यो चीनसँगको ११ नम्बर सीमास्तम्भ

२०७७ असोज ८ बिहीबार ००:१९:००

चिनियाँ पक्षसँग प्रतिवाद गर्न नेपाली टोलीसँग न केही तथ्यगत आधार थिए, न त आफूले बोलेको आवाज सुनाउने माइक नै थियो । मौसम र भाषा दुवै कारणबाट नेपाली टोली आफू सीमामा आइपुग्नुको कारण चिनियाँ पक्षलाई बताउन असफल बन्यो ।

उत्तरी सिमाना अनुगमनमा गएको नेपाली टोलीले चीनसँगको ११ नम्बर सीमास्तम्भ फेला पारेको छ । उक्त सीमास्तम्भ ०१९ सालमा दुई देशको सीमामा गाडिएको थियो । ५८ वर्षपछि नेपाली टोलीले उक्त सीमास्तम्भ भेटेको हो ।

चीनले सीमा क्षेत्रमा भौतिक संरचना निर्माण गरेको भन्ने विवाद आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्‍जीवी गिरी नेतृत्वको टोली सिमानामा पुगेको थियो । चिनियाँ अधिकारीसँग वार्ता गर्ने प्रयास सफल नभएपछि नेपाली टोली सीमास्तम्भको खोजीमा जुटेको थियो । त्यसक्रममा हराएको भनिएको सीमास्तम्भ फेला परेको हो ।

हुम्लाको नाम्खा गाउँपालिका-६ टाकुलेमा सीमास्तम्भ भेटिएको अनुगमन टोलीका एक सदस्यले बताए । उनका अनुसार सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो । चीनसँगको सिमानामा १५ वटा सीमास्तम्भ छन् । तीमध्ये ११ नम्बर सीमास्तम्भ हराएको थियो ।

यो सीमास्तम्भ नभेटिँदा चीनले सीमा क्षेत्रमा बनाएका संरचनाबारे विवाद उत्पन्न भएको थियो । नाम्खा गाउँपालिका-६ लाप्चा उपत्यकाको लोलुङजोङमा चीनले ११ वटा भवन बनाएको छ । स्थानीय बासिन्दाले ती भवन नेपाली भूमिमा बनाएको बताउँदै आएका छन् । चीनले त्यसलाई आफ्नो जमिन दाबी गर्दै आएको छ । विवाद उत्पन्न भएपछि हुम्लाका प्रजिअ गिरीको नेतृत्वमा सुरक्षाकर्मीको टोली लोलुङजोङ पुगेको हो । त्यहाँ रहेका चिनियाँ अधिकारीले आफ्नो भूमि भन्दै उनीहरूलाई फिर्ता पठाएका थिए ।

स्थानीय बासिन्दा र जनप्रतिनिधि भने चीनले भौतिक संरचना बनाएको लोलुङजोङ क्षेत्र नेपालकै भएको बताउँछन् । अनुगमन टोलीमा रहेका नाम्खा गाउँपालिका अध्यक्ष विष्‍णुबहादुर तामाङले त्यो क्षेत्रमा यसअघि चौँरी चराउने गरिएको बताए ।

नेपाली टोली पुग्दा चिनियाँ सुरक्षाकर्मी नवनिर्मित भवनमै बसिरहेका थिए । त्यहाँ रहेका चिनियाँ अधिकारीले नेपाली टोली आएको भन्दै चिनियाँ सेनालाई बोलाएका थिए । चिनियाँ टोलीले भवन बनेको स्थानबाट थप साढे दुई किलोमिटर नेपालतर्फ आफ्नो भूमि दाबी गरेको अध्यक्ष तामाङले बताए ।

के भयो लोलुङजोङमा ?

लोलुङजोङमा यसअघि नै चिनियाँ पक्षले दुईवटा भवन निर्माण गरेको थियो । पछिल्लो समय उक्त क्षेत्रमा चीनले थप नौवटा भवन निर्माण गरेको खबर आएको थियो । विवादपछि प्रजिअ गिरी नेतृत्वको ३१ सदस्यीय टोली आइतबार लोलुङजोङ पुगेको थियो ।

चिनियाँ पक्षले दिएको पिपिई सेट लगाएर नेपाली टोली चिनियाँ अधिकारीसँग वार्ताका लागि तयार थियो । त्यसको डेढ घन्टापछि चिनियाँ अधिकारीको टोली तीनवटा गाडीमा आयो । र, माइकिङ गर्दै नेपाली टोलीलाई त्यहाँबाट पछाडि हट्न आग्रह गर्‍यो । त्यसपछि नेपाली टोली झन्डै एक किलोमिटर पछाडि हट्यो ।

लगातार हावाहुरी चलिरहेकाले नेपाली टोलीले बोलेको चिनियाँ पक्षले सुन्न सक्ने अवस्था थिएन । नक्सा देखाउँदै माइकमार्फत चिनियाँ अधिकारीले नेपाली पक्षलाई पछाडि हट्न आग्रह गरिरहे ।

त्यसको प्रतिवाद गर्न नेपाली टोलीसँग न केही तथ्यगत आधार थिए, न त आफूले बोलेको आवाज सुनाउने माइक नै थियो । मौसम र भाषा दुवै कारणबाट नेपाली टोली आफू सीमामा आइपुग्नुको कारण चिनियाँ पक्षलाई बताउन असफल बन्यो । त्यसपछि केही मिनेटभित्रै आफूहरू फर्किएको नेपाली टोलीका एक सदस्यले बताए । 

चिनियाँ दूतावासले भन्यो- भवन बनेको जमिन चीनको हो

काठमाडौंस्थित चिनियाँ दूतावासले हुम्लामा आफ्नै भूमिमा भवन निर्माण गरिएको जिकिर गरेको छ । हुम्लामा नेपाली पक्षले दाबी गरेको जमिनमा घर निर्माण भएको विषयमा प्रतिक्रिया माग्दा दूतावासका प्रेस अधिकृत झाङ सीले नेपालसँग चीनको कुनै सीमा-विवाद नभएको र नेपालसँग कुनै प्रश्‍न भए निरुपण गर्न सकिने बताए ।

‘भवन निर्माण भएको ठाउँ चीनको हो । नेपाल र चीन असल छिमेकी र मित्र हुन् । हामी सधैँ नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको सम्मान गर्छौँ,’ नयाँ पत्रिकालाई पठाएको लिखित जवाफमा उनले भनेका छन्, ‘यदि नेपाली पक्षमा कुनै प्रश्‍न छ भने हामी सँगै चेक गर्न र निरुपण गर्न सक्छौँ । नेपाल र चीनबीच सीमा-विवाद छैन भन्नेमा हामी जोड दिन चाहन्छौँ । सीमासँग सम्बन्धित कुनै पनि विषय मैत्रीपूर्ण संवादबाट समाधान गर्न सकिन्छ भन्नेमा चीन प्रतिबद्ध छ ।’

परराष्‍ट्रले भन्यो- चीनले भवन बनाएको भूभाग नेपालको होइन

परराष्‍ट्र मन्त्रालयले पनि हुम्लास्थित नेपाल-चीन सिमानाबाट एक किलोमिटर टाढा चिनियाँ भूभागमा चीनले ११ वटा भवन निर्माण गरेको बताएको छ । पछिल्लो विवादबारे प्रतिक्रिया जनाउँदै परराष्‍ट्रले उक्त भूमि चीनकै रहेको स्पष्‍ट पारेको हो ।

परराष्‍ट्रले बुधबार विज्ञप्ति जारी गर्दै सीमास्तम्भ ११ र १२ को अध्ययन र जाँचपड्तालपछि चीनले उसकै भूभागमा भवन बनाएको बताएको हो । ‘नापी विभाग, नेपाल सरकारसँग सम्बन्धित आधिकारिक रेकर्ड, सीमा नक्साको संयुक्त स्थलगत अनुगमन प्रतिवेदनलगायत जाँच गर्दा सीमा क्षेत्रमा बनेका भवनहरू नेपाली भूभागभित्रका होइनन् भन्ने यकिन भयो,’ विज्ञप्तिमा उल्लेख छ ।

चार वर्षअघि पनि चीनले निर्माण गरेका भवनबारे सञ्‍चारमाध्यममा आएका समाचारबारे परराष्‍ट्रले स्मरण गराएको छ । त्यतिवेला मन्त्रालयको टोलीले स्थलगत अनुगमनपछि ती भवन नेपाल-चीन सीमाबाट एक किलोमिटर चीनतर्फको भूभागमा रहेको ठहर गरेको थियो । अहिलेको पनि अवस्था त्यही रहेको परराष्‍ट्रको निष्‍कर्ष छ । नेपाल र चीनबीच सीमा-सन्धि तथा दुई देशबीचका बाउन्ड्री प्रोटोकलहरूका आधारमा सीमांकन भएको पनि परराष्‍ट्रले जनाएको छ ।

नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले पिलर नम्बर १२ का आधारमा चीनले भवन निर्माण गरेको स्थान नेपालको रहेको बताएका थिए । तर, त्यो भूभागबारे यकिन गर्ने ११ नम्बर सीमास्तम्भ बुधबार भेटिएको छ ।

यसअघि चिनियाँ दूतावासका प्रवक्ता वाङ सियालोङले जारी गरेको प्रेसनोटमा पनि चीनले आफ्नै भूभागमा भवन निर्माण गरेको उल्लेख छ । बरु नेपाललाई सीमा जाँच गर्न उनले सुझाब दिएका थिए ।