मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ असोज ७ बुधबार ०६:१०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोरोना जितेका डा. भोला रिजाल भन्छन्- स्वास्थ्य उपचारसँगै संक्रमितलाई हौसला आवश्यक छ 

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ असोज ७ बुधबार ०६:१०:००

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्नी सरला कोरोना संक्रमण निको भएपछि सोमबार डिस्चार्ज भएका छन् । डा. रिजाल दम्पतीमा कोरोना पुष्टि भएपछि १४ भदौमा ह्याम्स अस्पताल भर्ना भएका थिए । २२ दिनको अस्पताल बसाइपछि उनी घर फर्केका छन् । डा. रिजालले कोरोना संक्रमणलाई कसरी जित्ने भन्ने यसरी सुनाए अनुभव :

सुरुवाती केही दिनमा हामी दुवैजनामा केही स्वास्थ्य समस्या देखिएको थियो । मलाई केही दिन सामान्य ज्वरो आयो । सरला (डा. रिजालकी श्रीमती)लाई खान मन नलाग्ने, वाकवाकी लाग्ने समस्या देखिएको थियो । उनमा अक्सिजन स्याचुरेसन कम भएकाले लामो समयसम्म अस्पताल बस्नुपर्‍यो । अस्पताल र स्वास्थ्यकर्मीको सेवा र हौसलाले गर्दा आइसोलेसन बसाइ सहज भयो । अस्पतालमा स्वास्थ्य सेवासँगै बिरामीको मनोबल उच्च राख्ने खालका व्यवहार बिरामीका लागि एकदमै महत्वपूर्ण हुन्छन् । संक्रमणको समयमा बिरामीलाई हौसला दिन अत्यावश्यकजस्तै बनेको छ । स्वास्थ्यकर्मी, आफन्त र देश–विदेशबाट शुभेच्छुकले दिएको शुभकामना र शुभेच्छाले मनोबल उच्च राख्न निकै मद्दत गर्‍यो । 

संक्रमणबाट बच्न भीडभाडमा नजाने, मास्कको उचित प्रयोग गर्ने, हाछ्युँ आउँदा कुहिनाले छेक्ने, हात सफा राख्नेजस्ता क्रियाकलापमा सबैले ध्यान दिनुपर्छ । सरकार र चिकित्सकले दिएका मापदण्ड पालना गर्नुपर्छ । संक्रमणलाई बेवास्ता गर्नुहुँदैन । यदि संक्रमण भइहालेमा मनोबल उच्च राखेर उपचार गर्नुपर्छ । नुन, बेसार, ज्वानो वा गुर्जोलाई तातो पानीमा राखेर खानुपर्छ । तातो पानी एक वा दुई घन्टामा खानुपर्छ । योसँगै बाफ लिन सकिन्छ । आफैँले गर्न सकिने र पैसा पनि नपर्ने भएकाले यस्ता क्रियाकलाप गर्दा राम्रो हुन्छ ।

यस्तै, अक्सिजन स्याचुरेसन कम हुने व्यक्तिलाई भने अनिवार्य रूपमा अस्पतालको स्वास्थ्य सुविधा आवश्यक हुन्छ । कतिपय संक्रमितमा सामान्य अक्सिजन दिएर पनि निको पार्न सकिन्छ । तर, समयमा उचित स्वास्थ्य सेवा नपाउँदा स्वास्थ्य अवस्था बिग्रने र आइसियू, भेन्टिलेटरको आवश्यकता पर्ने गरेको छ । संक्रमितलाई छोटो समयमै निको पार्न उपचारसँगै हौसला पनि आवश्यक छ । उपचारमा खटिएका स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनमा खटिएर काम गरिरहेकाको पनि मनोबल उच्च राख्ने क्रियाकलाप गर्नुपर्छ ।