नाष्टले मनायो विज्ञान सप्ताह : स्वास्थ्य संकट टार्न प्राविधिक सहयोग गर्न प्रतिबद्ध
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले आठौँ राष्ट्रिय विज्ञान सप्ताह विभिन्न भर्चुअल कार्यक्रम गरी मनाएको छ । सरकारले हरेक वर्ष १ असोजलाई विज्ञान दिवस र १ देखि ७ गतेसम्मलाई विज्ञान सप्ताहका रूपमा मनाउने गरेको छ । कोभिड–१९ का कारण यस वर्ष विज्ञान दिवसमा समेत उल्लेख्य कार्यक्रम भएनन् ।
नाष्टले विज्ञान सप्ताहअन्तर्गत ‘स्वास्थ्य र गुणस्तरीय जीवनको लागि विज्ञान’ भन्ने नारासहित सोमबार ‘कोभिड–१९ निराकरणका लागि हाम्रा वैज्ञानिकका प्रयासहरू’ विषयक भर्चुअल अन्तर्क्रिया, ‘मिट योर साइन्टिस्ट’ कार्यक्रम तथा पुस्तक विमोचन गरेको छ ।
कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले नेपालले यही वर्ष ग्लोबल इनोभेटिभ इन्डेक्स (जिआइआई)मा १४ स्थान माथि उक्लिएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘हाम्रो लामो प्रयासले सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लगानी गर्न सकारात्मक हुँदै आएको छ, यसमा नाष्टको भूमिका महत्वपूर्ण छ, यसलाई निरन्तरता दिऔँ ।’
उनले कोभिड– १९ को स्वास्थ्य संकटलाई टार्नसमेत नाष्ट र विज्ञान क्षेत्रको योगदान रहेको र अझै आवश्यकता देखिएको बताए । दुई साताअघि सार्वजनिक ग्लोबल इनोभेटिभ ऱ्याङिकङमा १०९औँ स्थानमा रहेको नेपालले १४ स्थान सुधार गर्दै ९५औँ स्थानमा उक्लिएको छ । नाष्टको सदभावना दूतसमेत रहेका पूर्वमन्त्री शाहले नाष्टले प्रकाशन गरेको लेखमाला विचोचन गरे । उनले विज्ञान प्रविधि र नवप्रवर्तनको विकासका लागि सरकारले विज्ञान कोषको स्थापना गर्नुपर्ने बताए ।
नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले कोभिड– १९ को स्वास्थ्य संकटमा पनि नाष्टले सरकार र सर्वसाधारणलाई सहज हुने गरी प्रविधिको विकास गरिरहेको बताए । ‘हामीले गर्ने काम र हामीले विकास गरेको प्रविधिले समाजलाई फाइदा पुग्नुपर्छ, तब मात्रै यो क्षेत्रको लगानी सार्थक हुन्छ,’ उनले भने, ‘त्यसैले कोभिडका वेलासमेत उपयोगी हुने विभिन्न प्रविधि विकासमा नाष्टले अग्रसरता लिएको छ ।’ उनले नाष्टले कोभिड– १९ लाई लक्षित गरेर मोबाइल स्वाब क्लेक्सन भेहिकल बनाएर हस्तान्तरण गरेको बताए ।
कार्यक्रममा नाष्टका वरिष्ठ प्राविधिक डा. शंकर ढकालले कोभिड– १९ रोकथाम तथा निराकरणमा नाष्टका कदमहरूबारे चर्चा गरे । नाष्टले ज्वरो परीक्षण गर्ने थर्मोग्राफिक क्यामेरा, न्यून लागतमै परीक्षण गर्न सकिने पिसिआर प्रविधि, खाद्य सुरक्षाका लागि सोलार प्रविधिमा आधारित ड्रायर सिस्टम, अस्पताल र क्वारेन्टिन डिसइन्फेक्सनका लागि माइक्रोबायोलोजिकल रोबोट र कोभिड– १९ पत्ता लगाउने एक्स–रे प्रविधिलगायत प्रवधि विकासका लागि समेत अनुसन्धान भइरहेको जनाएको छ ।
कार्यक्रममा ग्राण्डी इन्टरनेसनल अस्पतालका डा. विपिन नेपालले कोभिड– १९ निराकरणमा प्लाज्मा थेरापीको भूमिकाबारे चर्चा गरे । यस्तै, विज्ञान शिक्षक समाज नेपालका शिक्षक जयप्रकाश श्रीवास्तवले कोभिड– १९ का कारण शैक्षिक क्षेत्र र विज्ञानका विद्यार्थीको खोज अनुसन्धानमा परेको प्रभावका विषयमा चर्चा गरे ।
यस्तै, डा. समीरमणि दीक्षितले कोभिड– १९ अवधियता निजी क्षेत्रका तर्फबाट भएका प्रयासहरूका विषयमा चर्चा गरे । नाष्टकी वैज्ञानिक डा. कान्ति श्रेष्ठले मानव रोग प्रतिरक्षात्मक क्षमता प्रणाली र यसको वृद्धिका लागि प्राकृतिक पौष्टिक आहारको अवस्थाबारे जानकारी दिइन् ।